मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ११ बिहीबार ०९:११:००
Read Time : > 2 मिनेट
सम्पादकीय

फर्किंदै सहरतिर, व्यहोर्दै सास्ती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ११ बिहीबार ०९:११:००

चैत ११ बाट सुरु भएको लकडाउन खुकुलो मात्र भएको छ, सकिएको छैन । यसबीच निर्माण क्षेत्रमा काम गर्ने र सहरका औपचारिक–अनौपचारिक क्षेत्रमा काम गर्नेको एउटा ठूलो संख्या सहरबाट गाउँतिर गयो । जो लकडाउनअघि नै गाउँ फर्के, तिनले सहज यात्रा गरे । जो लकडाउनको दुई सातापछिदेखि सडकमा निस्केर लामो पैदल यात्रा गर्दै गाउँ फर्के, तिनका दुःखका कथाले हिँड्न नपर्नेलाई समेत घाँटीमा गाँठो पर्ने अवस्था ल्याएको थियो । इतिहासमा बिरलै हुने यस्तो कठिन यात्रा गरेर गाउँ फर्केकाको एउटा हिस्सा फेरि सहर फर्किन थालेको छ । असार १ अघि नै मानिसले काठमाडौंलगायत सहरमा सरकारको लकडाउनको आदेश उल्लंघन गर्न थालेका थिए । आफ्नो आयस्रोत बन्द गरेर ओठतालु सुकाउँदै अनिश्चित भविष्य पर्खन मानिस तयार हुँदैनन् । यता काठमाडौंमा अर्धखुला लकडाउनसँगै पसल, सरकारी, गैरसरकारी र निजी क्षेत्रका कार्यालय र सामान्य काम–कारबाही सुरु भए । 

कोरोना महामारीको सामना गर्न सरकारले चालेका कदम आममानिसलाई रोग लाग्नबाट बचाउन त हो, तर यो आममानिसका लागि भोकको सामना गर्न नसक्ने गरी हैरान पार्न होइन
 

मानिसको आवतजावत बाक्लिँदै जाँदा मात्र हुने व्यापार र पर्यटन तथा मनोरञ्जन क्षेत्रबाहेकका कारोबार सुरु हुन थालेसँगै मानिस बाहिरबाट आउने क्रम सुरु भएको छ । तर, काठमाडौंलाई जोगाउन सरकार र स्थानीय तहसमेत मिलेर एकप्रकारको कठिनाइ सिर्जना गरिएको छ । बाहिरबाट आउनेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्नेदेखि आउँदा गृह मन्त्रालयको पास र कोरोना परीक्षणको प्रमाणसमेत ल्याउन भनिएको छ । जीवन जिउन यता मुस्किल भएर घर फर्केकाहरूलाई अहिले जीविकाको आशाले फेरि सहरतिरै तान्न थालेको छ । अझ गाउँ र परिवारबाट थुतेर सहर पठाउन थालेको छ । सहरमा अनेकखाले अवसर छन् । नेपालको मात्र होइन, सबै देशका ठूला सहर शक्ति र सम्पत्तिको अत्यधिक केन्द्रीकरण गरेर निर्माण भएका हुन्छन् । 

काठमाडौं पनि जम्मा १० प्रतिशत जनसंख्या लिएर देशको आर्थिक गतिविधिका झन्डै आधा हिस्सा ओगटेर बस्छ । रोजगारीको अवसर झन्डै ३० प्रतिशत यतै छ । शिक्षा र स्वास्थ्योपचारको व्यवस्था यतै छ । विदेश जान यहीँ आइपुग्नुपर्छ । साना–साना कामको अवसर यतै हुन्छ । यहीँ अवसर खोज्दै मानिस सुदूर इलाकाबाट काठमाडौं प्रवेश गरिरहन्छन् । हाम्रा गाउँसँग विकल्प निकै थोरै छन् । विकास योजनाका अध्येता प्रा. पीताम्बर शर्माका भनाइमा हाम्रा गाउँले त्यस्ता कुनै अवसर सिर्जना गर्न सकेका छैनन्, जहाँ मानिस रोकिन र भविष्यप्रति आशावादी हुन सकून् । यता मानिस काठमाडौं फर्किनैपर्ने बाध्यताले आइरहेका छन्, उता सरकारले गाँैडागौँडामा छेकेर तिनको हुर्मत लिइरहेको छ । आरडिटी टेस्टको रिपोर्ट लिएर आउनेहरू पनि प्रवेश गर्न पाएका छैनन् । प्रवेश गर्नेको हैसियतले उनीहरूले प्रवेश पाउने–नपाउने निर्धारण गर्ने गरेको छ । 

यसैगरी सहरमा पुगेपछि घरबेटीहरू घर छिर्न नदिने, पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्ने दबाब दिने गर्छन् । पीडामा जहिले पनि सीमान्त वर्गकै मान्छे पर्ने हुन्, जसको माथिसम्म कुनै पहुँच हुँदैन । कोरोना महामारीको सामना गर्न सरकारले चालेका कदम आममानिसलाई रोग लाग्नबाट बचाउन त हो, तर यो आममानिसका लागि भोकको सामना गर्न नसक्ने गरी हैरान पार्न होइन । निश्चित मापदण्ड अपनाएर आउनेलाई आउन देऊ, अहिले त रोग प्रवेश गरेको भए सहरमा हुनेहरू नै जुन लापर्बाहीसँग आपसी हेलमेल, ठेलमठेल गरिरहेका छन्, त्यही नै महामारी फैलाउन काफी छ । प्रवेश नपाउनेलाई आरम्भ बिन्दुमै रोक, नागढुंगा या साँगामा आएपछि होइन । जो यता आउन नपाएकैले आर्थिक संकटमा परेका छन्, तिनलाई राहत देऊ । आदेशले पेट भरिन्न, ऋण तिरिन्न भन्ने त सरकार पनि जान्दो हो ।