मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्यामुयल एटिएन
२०७७ असार ११ बिहीबार ०८:३५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

बेलायतले जातिवाद रोप्यो अमेरिकाले उत्कर्षमा पुर्‍यायो

Read Time : > 2 मिनेट
स्यामुयल एटिएन
२०७७ असार ११ बिहीबार ०८:३५:००

ब्रिटेनमा नश्लवाद संरचनात्मक रूपमा अस्तित्वमा छ र यसले लाखौँ ब्रिटिस नागरिकको जीवन प्रभावित बनाइरहेको छ

बेलायतमा बसेर हामी आफू चोखो पल्टिँदै अमेरिकामा भएको प्रहरी ज्यादती र जातीय विभेदलाई हेर्छौं । तर, बेलायतमा पनि अश्वेतको जनसंख्या तीन प्रतिशत मात्र छ, जबकि प्रहरी हिरासतमा मारिनेमध्ये आठ प्रतिशत अश्वेत छन् । १९९० यता हिरासतभित्रको बन्दी मारिएको मामिलामा एक मात्र प्रहरी अधिकृत कारबाहीमा तानिए । यो अवधिमा इंग्ल्यान्ड र वेल्समा मात्र लगभग दुई हजारजना हिरासत अथवा प्रहरीको संम्पर्कमा आइसकेपछि मरेका छन् ।

जातीय विभेद बेलायती समाजमा व्याप्त छ, थोरै मात्र घटना कानुनी कारबाहीमा आउँछन् । अनुसन्धानहरूले देखाएका छन् कि ब्रेक्जिट बहससँगै जातीय विभेद र अल्पसंख्यकमाथिको आक्रमण बढ्दै गइरहेको छ । संरचनात्मक रूपमै यहाँ जातिवाद छ । निश्चित सम्प्रदायलाई अलग्याउने यहाँ भाषा र व्यवहार नै बेग्लै छ । कसरी ब्रेक्जिट बहसमा विन्ड्रुस काण्ड र आप्रवासीविरोधी नीति हाबी भयो भन्ने यसको उदाहरण हो । शिक्षा प्रणाली, रोजगार बजार र स्वास्थ्य प्रणाली सबैतिर यो छ्याप्छ्याप्ती देख्न पाइन्छ । इंग्ल्यान्डमा बिएएमई (ब्ल्याक, एसियन, माइनरिटी तथा इथ्निक)को अत्यधिक कोभिड–१९ मृत्युदर यसको उदाहरण हो । त्यसैले बेलायतले एटलान्टिक पारितिर हेरिरहनै पर्दैन, एउटा भनाइ नै छ, ‘बेलायतले जातीय विभेद रोप्यो, अमेरिकाले यसलाई फलायो–फुलायो ।’ 

ब्रिटेनमा अश्वेतहरूले दैनिक रूपमा भोग्नुपर्ने नश्लवादी अनुभवलाई त्यो समूहले अस्वीकार गरिरहेको छ, जसले नश्लवादकै कारण विशेष सुविधा पाइरहेको छ

२.५ प्रतिशत मात्र अश्वेत रहेको ब्रिटिस सेनामा एउटा अश्वेतको हिसाबमा सेवारत रहँदा मैले थुप्रै अश्वेत समुदाय लक्षित जातिवादी कथनहरूको सामना गर्नुपर्‍यो । सामान्यतया यस्तो कथनलाई हाँसो–ठट्टाका रूपमा प्रयोग गरिन्छ । उदाहरणका लागि ब्रिटिस सेनामाझ अत्यधिक प्रयोग हुने ‘लिरोई’ शब्दलाई हेरौँ । लिरोईसँगको मेरो पहिलो साक्षात्कार रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्टमा भएको थियो । अधिकांश श्वेत सहकर्मीले काल्पनिक रूपको एक अत्यधिक यौनक्षमता भएको अश्वेत पुरुष समेटेर जोक भन्थे । तिनलाई यो जोक सामान्य लाग्थ्यो । यो पात्र श्वेत समुदायका सैनिक जवानहरू सेवामा रहँदा तिनका श्रीमतीसँग सल्कन्छ भन्ने जोकमा कुरा आउँथ्यो । दोस्रो विश्वयुद्धपछि बेलायतमा आएका अफ्रो–क्यारिबियन अप्रवासीले यहीँका मानिससँग विवाह गर्न थालेका थिए । सायद यसलाई देखेर केही गोरा मानिसमा उत्पन्न घृणाले लिरोईको मिथक जन्मिएको हुनुपर्छ । अर्थात् लिरोई मिथकलाई अश्वेत र श्वेतबीचको विवाह मन नपराउने श्वेत राष्ट्रवादले जन्माएको थियो । यही डर राजकुमार ह्यारीले अश्वेत अमेरिकी महिलासँग विवाह गरेर बच्चा जन्माएपछि पुनः सतहमा देखियो । 

म सेवामै रहँदाको घटना हो, एक सैनिकलाई उनकी प्रेमिकाले छाडेर अर्कोसँग गएको खबर आयो । उनलाई सम्झाउने श्वेत सहकर्मीले ‘कम्तीमा त्यो केटी अश्वेतसँग गइन’ भनेर सम्झाइरहेका थिए । ब्रिटिस समाज र अझ विशेष ब्रिटिस सेनामा व्याप्त श्वेत सर्वोच्चतावादी मानसिकतामा अश्वेत मानिसलाई सामाजिक तहको सबैभन्दा तल राखिन्छ । त्यस्तोमा आफ्नी प्रेमिकाले आफूलाई छाडेर अश्वेत पुरुष रोज्नु तिनको सबैभन्दा अपमानजनक हुने नै भयो । 

कसैले यो कुरा उठायो भने यो त जोकको पात्र मात्र भनेर पन्छिए भइगयो । सेनाको पेसाले गर्दा त्यहाँभित्रको धेरै कुरा आममानिसको नजरमा आउँदैन । यो गोप्यतापूर्ण संस्कृतिले गर्दा आमसमाजमा अग्राह्य हुने धेरै कुरा त्यहाँभित्र चलिरहेको हुन्छ । जस्तो ब्रिटिस समाजमा ब्ल्याकफेस भनिने अनुहारमा कालो पोत्ने कार्य धेरै पहिले अस्वीकार्य भइसकेको छ । तर, सेनामा भने त्यो अझै अभ्यास भइरहेको छ । केही वर्षअघि मात्रै मेरो एक सहकर्मीले अनुहारमा कालो पोलिस र लिपस्टिक पोतेर एक कस्टुम पार्टीमा गएका थिए । समारोहमा सहभागी शीर्ष कमान्डरले त्यस कार्यलाई रमाइलो मानेर हेरिरहे । अन्य अवस्थामा नैतिक साहसको कुरा गर्ने ती कमान्डरले नश्लीय अपराधलाई मौन स्वीकृति दिँदै थिए । पछि त्यस पार्टीको फोटो सामाजिक सञ्जालमा आएपछि विरोध भयो र बल्ल ती सैनिक अधिकृतले आफूले गल्ती गरेको महसुस गरे । 

एक नयाँ अनुसन्धानले पत्ता लगाएअनुसार विगत पाँच वर्षभित्र ब्रिटिस सैन्य प्रहरीले अनुसन्धान गरेका नश्लीय अपराधका घटनामध्ये १७ प्रतिशतमा मात्र दोषीले सजाय पाए । विभेदको यो अवस्था हुँदाहुँदै बेलायतमा अश्वेतहरूमाथि कुनै विभेद नभएको जिकिर गरिन्छ । नश्लवादकै कारण सुविधा भोगिरहेका ब्रिटिस नागरिकले अश्वेतहरूले दैनिक रूपमा भोग्नुपर्ने अनुभवलाई अस्वीकार गर्न मिल्दैन । नश्लवादलाई उन्मूलन गर्नका लागि ब्रिटेनले पहिलो त यसको अस्तित्व स्वीकार गर्नुपर्छ । ब्रिटेनमा नश्लवाद संरचनात्मक रूपमा अस्तित्वमा छ र यसले दैनिक रूपमा लाखौँ ब्रिटिस नागरिकको जीवन प्रभावित बनाइरहेको छ । 
स्यामुयल एटिएन ब्रिटिस लेखक तथा पूर्वसैनिक अधिकारी हुन्  
अल–जजिराबाट