१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ असार ११ बिहीबार १०:३२:००
Read Time : > 2 मिनेट
अर्थ

निगमको उडान रद्द गर्दै उद्धारमा  यती समूहको हिमालय एयरलाइन्सलाई १९ करोडको बिजनेस

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ असार ११ बिहीबार १०:३२:००

सरकारी निकायकै मिलेमतोमा नेपाल वायुसेवा निगमका उडान रद्द गर्दै निजी कम्पनी हिमालय एयरलाइन्सलाई धमाधम बिजनेस दिइएको छ, १९ उडान गर्ने भनेको हिमालयको हालसम्म २३ उडान, २४ उडानको जिम्मा पाएको निगमको १३ मात्रै

सरकारी मिलोमतोमै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम छाडेर यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई धमाधम ‘बिजनेस’ दिइएको छ । पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयदेखि दूतावाससम्मको मिलोमतोमा अधिकांश उद्धार उडान हिमालय एयरलाइन्सलाई दिइएको हो । 

सर्वोच्च अदालतले भाडा तिर्न नसक्ने नेपालीको निःशुल्क उद्धार गर्न आदेश दिए पनि आदेशको कार्यान्वयन अलपत्र पार्दै सरकारी निकायकै कर्मचारी भने निजी वायुसेवा कम्पनीको प्रवद्र्धनमा लागेका छन् ।  तलब खुवाउनसमेत नसक्ने अवस्थामा पुगेको राष्ट्रिय ध्वजाबाहक निगमलाई छाडेर हिमालय रोज्नुले गम्भीर कमिसनको खेलको आशंका छ ।  

गत जेठ ३२ देखि सुरु गरिएको उद्धार उडानमार्फत ६ हजार ५ सयभन्दा बढी नेपालीलाई स्वदेश फिर्ता ल्याइएको छ । स्वदेशी र विदेशी एयरलाइन्सले हालसम्म झण्डै ५० उडान गरिसकेका छन् । यसमा निगमले १३ उडान गर्दा हिमालय एयरलाइन्सले २३ उडान गरिसकेको छ । क्षमताका हिसाबले निगमका दुई ठूला वाइडबडी जहाज र दुई न्यारोबडी जहाज छन् । तर, हिमालयसँग ३  न्यारोबडी जहाज मात्रै छन् । हिमालय एयरलाइन्सले हालसम्म १८ करोड ७७ लाखभन्दा बढीको बिजनेस गरिसकेको छ । तर, ठूला जहाजका हिसाबले निगमले दोब्बर बिजनेस गर्नुपर्नेमा निगमले हालसम्म १४ करोड ६५ लाख हाराहारी मात्रै बिजनेस गरेको छ । ठूला जहाज धेरै यात्रु बोक्ने र खर्चका हिसाबले पनि निगमले दोब्बर आम्दानी गर्नुपर्ने हो । 

तालिका बनाउँदा निगम नै प्राथमिकतामा व्यवहारमा हिमालय एयरलाइन्स
सरकारले पहिलो चरणको उद्धार उडानअनुसार निगमलाई २४ उडान र हिमालयलाई १९ उडान गर्न दिने गरी तालिका तयार पारेको थियो । तर, हिमालयले २० उडान गरिसक्दा निगमले १२ उडानको मात्रै अवसर पाएको हो । निगमको सोमबार तय भएको बैंकक उडान सूचना प्रकाशन गरेर स्थगित गरेको थियो । मंगलबारका लागि तय भएको आबुधाबीको उडान अनिश्चितकालका लागि दूतावासको आग्रहमा स्थगित गरेको निगमले जनाएको थियो । तर, आबुधाबीमै मंगलबार हिमालयले उडान गरेको छ । बुधबार हिमालयले कुबेत, आबुधाबी र दमाम तथा निगमले साउदी जेदाह उडान गरेको छ । ‘दूतावास र सरकारी निकाय निगमलाई भन्दा हिमालय र अन्य विदेशी एयरलाइन्सलाई बिजनेस दिन चाहन्छन्,’ मन्त्रालय स्रोतले भन्यो । 

गत जेठ ३२ देखि निगमले ३ गतेसम्म ढाका र बैंकक मात्रै चार्टर्ड उडान गरेको थियो । त्यसबीचमा निगममा ८ उडान रद्द भएका थिए । तर, हिमालयले निगमका रद्द भएका माले, मलेसिया, सिंगापुरमा उडान गरिसकेको थियो । गत ४ असारमा हिमालयले ३ उडान गर्दा निगमको एक मात्रै उडान भएको थियो । गत ५ गते हिमालयले २ उडान गर्दा निगमले एक उडान गरेको थियो । त्यस्तै, असार ६ गते दुवै एयरलाइन्सले दुई–दुई उडान गरेका थिए । गत ७ गते निगमले २ उडान गरेको थियो । हिमालयले पनि २ उडान गरेको थियो । तर, गत ८ असारमा निगमले एक उडान गर्दा हिमालयले ५ उडान गरेको थियो । मंगलबार भने हिमालय र निगमले ३–३ उडान गरेका छन् ।

हङकङको महावाणिज्य दूतावास नै हिमालयको प्रवर्द्धनमा
हङकङ आइडी र व्यवसाय गरेका नेपाली लकडाउनसँगै नेपालमा रोकिए । लामो समयको लकडाउनपछि चार्टर्ड उडानमार्फत फर्किने तयारी सुरु भयो । जसमा गैरआवासीय नेपाली संघ र विभिन्न ट्राभल एजेन्सीहरूले निगमको जहाज चार्टर्ड गरेर हङकङ जाने प्रक्रिया सुरु गरेका थिए । सोहीअनुसार ७ सयजनाको टिकट काटेर निगमले पहिलो चार्टर्ड मे २४ मा गर्ने सम्झौतासमेत भयो । सोहीअनुसार निगमले ३ वटा चार्टर्ड उडान गर्ने तयारसमेत भयो । तर, वाणिज्य दूतावासकै मिलोमतोमा कमिसनका लागि निगमको जहाज चार्टर्ड रोकेर २२ देखि २५ सम्म हिमालयका जहाज चार्टर्ड गर्ने तय गरियो । सोहीअनुसार हिमालयसँग अर्को सम्झौता गरियो र निगमसँगको प्रक्रिया रोकियो । तर, हङकङ नागरिक उड्डयनले हिमालयलाई अनुमति दिएन । ‘हिमालयलाई अनुमति दिलाउन दूतावासका कर्मचारी नै फाइल बोकेर हिँडेका थिए,’ निगम स्रोतले भन्यो ।

तर, पछि त्यहाँको प्राधिकरणले हिमालयलाई नदिएपछि पुनः निगमका जहाज चार्टर्ड गरिएको थियो । गत जुन १ मा निगमले एक वाइडबडी जहाज र दुई न्यारोबडी जहाजमार्फत यात्रु लिएर गएको थियो । वाणिज्य दूतावासको असहयोगका कारण बाँकी चार्टर्ड हुन सकेको छैन । अझै १ हजारभन्दा बढी जान तयारी अवस्थामा रहे पनि चार्टर्ड हुन सकेको छैन । ‘हिमालयमार्फत कमिसनको व्यवस्था गरिएको रहेछ, अनुमति नपाएपछि रोकियो,’ स्रोतले भन्यो ।