मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार २१:०७:००
Read Time : < 1 मिनेट
समाचार

नेपाली भूभाग मिचिएको भन्दै संसदमा संकल्प प्रस्ताव पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार २१:०७:००

चीनले नेपालको भूभाग अतिक्रमण गरेको भन्दै मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक वार्तामा जोड दिँदै संसदमा संकल्प प्रस्ताव पेस भएको छ । कांग्रेसका सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल, सञ्जयकुमार गौतमले संसद् सचिवालयमा बुधबार सो प्रस्ताव पेस गरेका हुन् ।

प्रस्तावमा चीनबाट अतिक्रमित भूभाग फिर्ता ल्याउनुपर्ने र सरकारले उक्त अतिक्रमित भूभाग र गाउँसमेतको अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘समग्रमा नेपालको भूभाग चीनको अतिक्रमणमा परेको हुनाले ती भूभागलाई कूटनीतिक माध्यमबाट वार्ता गरी फिर्ता ल्याउनका लागि र त्यहाँको स्थिति एवं वास्तविक अतिक्रमणमा परेका भूभागहरू र गाउँसमेतको अवस्थाको सम्बन्धमा सत्यतथ्य सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्न यो संकल्प प्रस्ताव पेस गरेका छौँ ।’

नेपालको भूमि चीनतिर रहेकाले उक्त प्रस्ताव पेस गरिएको सांसद सत्यनारायण शर्मा खनालको भनाइ छ । नयाँ पत्रिकासँग उनले भने, ‘अतिक्रमणपछि नेपाली भूमि चीनतिर परेको छ । त्यो भूमि फिर्ता ल्याउनुपर्छ । यसबारे सरकारले कदम चालोस् भनेर संकल्प प्रस्ताव राखेका हौँ ।’

केही सीमास्तम्भ हराएकोसमेत प्रस्तावमा उल्लेख छ । प्रस्तावमा भनिएको छ, ‘गोरखाको सिमानामा पर्ने ३५, ३७ र ३८ नम्बर सीमास्तम्भ र सोलुखुम्बुको नम्पा भन्ज्याङमा पर्ने ६२ नम्बर सीमास्तम्भ हराएको छ । गोरखाको ३५ नम्बरको सीमा स्तम्भलाई चीनले नेपालभित्र सारेकाले उत्तरी गोरखाको रुई गाउँ चीनको अतिक्रमणमा पर्दा ७२ घरधुरी चीन स्वशासित क्षेत्र तिब्बतमा पर्न गएको छ । यस्तै दार्चुलाको जिउजिउ भन्ने स्थानका १८ घरसमेत चिनियाँ अतिक्रमणमा परेका छन् ।’