सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
२०७७ असार १० बुधबार १८:२०:००
प्रदेश

हेटौँडा उपमहानगरको बजेट दुई अर्ब आठ करोड, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता

२०७७ असार १० बुधबार १८:२०:००

बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौँडाले आर्थिक वर्ष ०७७/७८ का लागि दुई अर्ब आठ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा एक अर्ब ८१ करोड १८ लाख विनियोजन गरेको हेटौँडाले आगामी आर्थिक वर्षका लागि २७ करोड ४८ लाख बढीको बजेट ल्याएको हो ।

उपमहानगरपालिका उपप्रमुख मीनाकुमारी लामाले बुधबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी छिन् । हेटौँडाले नीति तथा कार्यक्रम र बजेट दुवैमा कच्ची सडकमुक्त उपमहानगर बनाउने लक्ष्यसहित भौतिक पूर्वाधार निर्माणलाई  प्राथमिकता दिएको छ । ९७ करोड ९८ लाख ३९ हजार रुपैयाँ भौतिक पूर्वाधार र सडक निर्माणमा छुट्याइएको छ ।
उपमहानगरले सामाजिक विकासलाई पनि प्राथमिकतामा राखेको छ । सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपत् व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख छ । 

उपमेयर लामाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनबाट, राजस्व बाँडफाँडबाट ५५ करोड ३ लाख, प्रदेश सरकारबाट विभिन्न अनुदान आठ करोड ३५ लाख ९८ हजार, संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र राजस्व बचतबाट २६ करोड १३ लाख आम्दानी हुने लक्ष्य लिएको बताइन् ।

टर्मिनल भवनदेखि बृहत्तर चक्रपथको योजना
हेटौँडा उपमहानगरपालिकाले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन गरेको छ । बसपार्कलाई व्यवस्थित बनाइने योजनासहित उपमहानगरपालिकाले पुरानै योजनालाई निरन्तरता दिएको हो ।

यसैगरी बस्ती तथा वडास्तरीय आयोजनाका लागि ३२ करोड ७० लाख, बृहत्तर चक्रपथ निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको बजेटमा उल्लेख छ ।

उपमहानगरपालिकाले कृषि प्रवर्द्धनका लागि दुई करोड ९६ लाख, खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि दुई करोड ५० लाख, कभर्ड हल निर्माण सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उपमहानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि विपत् व्यवस्थापन कोषमा दुई करोड ५० लाख छुट्याएको छ । स्वास्थ्य क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले दक्ष जनशक्ति र उपकरणसहित सहरी स्वास्थ्य केन्द्र सञ्चालनका लागि एक करोड ८५ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ । 


 

छुटाउनुभयो की ?