१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ९ मंगलबार २०:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

पोखरा महानगरले पाँच अर्ब २८ करोडको बजेट ल्याउँदै

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार २०:२१:००

पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि बुधबार पाँच अर्ब २८ करोडको बजेट प्रस्तुत गर्दै छ । महानगरको छैटौँ नगरसभामा उपमेयर एवं राजस्व परामर्श समितिका संयोजक मञ्जुदेवी गुरुङले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । 

चालू आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट एक अर्ब ७२ करोडले कम हो । चालू आर्थिक वर्षका लागि पोखरा महानगरपालिकाले सात अर्ब ५४ लाखकोे बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षका लागि संघ सरकारबाट विशेष अनुदानतर्फ नौ करोड, ससर्त अनुदानतर्फ एक अर्ब ७९ करोड ८७ लाख, समपूरक अनुदानतर्फ ६ करोड र समानीकरण अनुदानतर्फ ५७ करोड ७३ लाख गरेर दुई अर्ब ५२ करोड, ६० लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी प्रदेश सरकारबाट ससर्त अनुदानतर्फ दुई करोड ५० लाख, समपूरक अनुदानतर्फ ६ करोड र समानीकरण अनुदानतर्फबाट दुई करोड नौ लाख ६६ हजार रुपैयाँ प्राप्त गर्नेछ । 

आन्तरिक राजस्व दुई अर्ब १८ करोडको हाराहारीमा उठ्ने अनुमान गरेको पोखरा महानगरपालिका राजस्व महाशाखा प्रमुख गणेश पाण्डेले नयाँ पत्रिकालाई जानकारी दिए । कोराेना भाइरस (कोभिड– १९) को प्रभावका कारण चालू आर्थिक वर्षको पछिल्लो चार महिना राजस्व उठाउन नसकिएका कारण आम्दानी घट्दा र कतिपय योजना कार्यान्वयन गर्न नपाउँदा बजेटको आकार घटेको उनले बताए ।  

बजेटको प्राथमिकता :  लिफ्टसहितको आकासे पुल, बैंक र पब्लिक कम्पनी स्थापना
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षमा लिफ्टसहितको आकासे पुल निर्माणदेखि आफ्नै बैंक स्थापना र एक वडा एक पब्लिक कम्पनी स्थापना गर्नेसम्मका योजना ल्याउने भएको छ । महेन्द्रपुलमा लिफ्टसहितको आकासे पुल निर्माण गर्ने, महानगरका सात ठाउँमा ट्राफिक लाइट जडान गर्ने, महानगरको आफ्नै बैंक स्थापना गर्नेलगायतका योजना बजेटमा समेटिएको सहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए ।