१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ९ मंगलबार १८:०८:००
Read Time : > 1 मिनेट
खेलकुद

क्रिस गेललाई टेस्ट नै रमाइलो

Read Time : > 1 मिनेट
२०७७ असार ९ मंगलबार १८:०८:००

क्रिकेटको छोटो फर्म्याट (टी–२०) मा क्रिस गेल जुनसुकै रंगशालामा सहजै चौका र छक्काको वर्षात् गर्छन् । टी–२० मा गेलको नाममा रहेका रेकर्ड अद्वितीय नै छ । टी–२० फर्म्याटमा रमाउने यी ब्याट्सम्यान गेलको भनाइ मान्ने हो भने टेस्ट नै सबैभन्दा उत्तम खेल हो । टेस्टमा जस्तो मजा टी–२० र एकदिवसीय खेलमा नआउने उनी बताउँछन् । 

करिअरमा एक सय तीन टेस्ट खेलका गेलले हालै स्थानीय एजेन्सीहरूलाई दिएको अन्तर्वार्तामा आफू टेस्टमा रमाएको बताएका छन् । उनी भन्छन्, ‘पाँच दिनसम्म चल्ने खेलको मजा नै वेग्लै छ, ब्याट्सम्यान, बलर र फिल्डरले पूरै चार इनिङमा आफ्नो प्रतिभा देखाउन मौका पाउँछन् ।’ वेस्ट इन्डिज अलराउन्डर गेल टेस्टलाई चुनौतीले भरिएको खेलका रूपमा लिन्छन् । 

टेस्टमा सहभागी खेलाडीको बाहिरी जीवनसमेत सुधार र अनुशासित हुने उनको भनाइ छ । गेलले भने, ‘टेस्टमा धेरै चुनौतीका सामना गर्नुपर्छ, यसका खेलाडीले बाहिरी जीवनसमेत राम्रो बनाउन सक्छन्, अनुशासित जीवनको मजा नै टेस्ट खेलमा छ ।’ जीवनमा पर्न सक्ने मुस्किल अवस्थामा पनि यो खेलले सहयोग गर्ने उनले बताए । 

‘यस खेलले जीवन कसरी चलायनमान बनाउन सकिन्छ भन्ने ज्ञान दिन्छ,’ उनले भने, ‘लगातार पाँच दिनसम्म २२ खेलाडी विभिन्न पक्षसँग लडिरहेका हुन्छन्, जुन एक पाठ पनि हो ।’ टेस्टको राम्रो पक्षका रूपमा गेलले अनुशासन र धैर्य मानेका छन् । धैर्यता नभएका खेलाडीले टेस्ट करिअर लामो समयसम्म टिकाउन नसक्ने उनले बताए ।

गेल भन्छन्, ‘यस फर्म्याटमा आवश्यकता पर्ने नै धैर्यता हो, खेलाडीमा धैर्यता भएन भने लामो करिअर हुन सक्दैन ।’ टेस्ट रोमाञ्चकताले भरिएको बताउने गेल स्वयं सन् २०१४ देखि यस खेलबाट टाढिए । गेलले १०३ खेलमा १५ शतक तथा ३७ अर्धशतकको सहयोगमा सात हजार दुई सय १४ रन बनाएका छन् । यसैगरी बलिङको क्रममा उनले एक सय चार इनिङमा ७३ विकेट लिन सफल भए । उनले दुईपटक चार ब्याट्सम्यानलाई आउट पारेका छन् । करिअरमा उनले दुईपटक पाँचभन्दा बढी विकेट लिएका छन् । 

४० वर्षीय गेलले युवा खेलाडीहरूलाई एकदिवसीय र टी–२० फर्म्याटमा भन्दा टेस्ट खेलमै केन्द्रित रहन सल्लाह दिएका छन् । ‘५० र २० ओभरामकेन्द्रित रहेका खेलाडीको करिअर लामो छैन, यदि क्रिकेटमा करिअर बनाउनु छ भने टेस्ट नै पहिलो रोजाइ हुनुपर्छ,’ गेलले भने, ‘पाँच दिनसम्म टिक्न सक्ने खेलाडीले सहजै अन्य फम्यार्टमा आफूलाई स्थापित गर्न सक्छन् ।’ 

यसै खेलमा खेलाडीको फिटनेस र मानसिक परीक्षण हुने उनले बताए । गेल थप्छन्, ‘टेस्ट क्रिकेटमा आफ्नो क्षमता, फिटनेस र मानसिक परीक्षण हुन्छ ।’ अन्तर्वार्ताको क्रममा गेलले सन् २०१३ मा सचिन तेन्दुलकरले सन्न्यास घोषणा गर्दा रोएको बताएका छन् । उनले भने, ‘सचिनले सन्न्यास घोषणा गर्दा म रोएको थिएँ ।’