मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
साेनिया राेधा
२०७७ असार ९ मंगलबार ०९:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

महामारीले लैंगिक विभेद देखाइदिएको छ

Read Time : > 2 मिनेट
साेनिया राेधा
२०७७ असार ९ मंगलबार ०९:२८:००

महामारीले संरचनात्मक लैंगिक र जातीय विभेदलाई बाहिर ल्याइदिएको छ, यसबारे सोच्ने र लड्ने अवसर मिलेको छ 

यो महामारीले कस्तो किसिमको लैंगिक असर पार्दै छ ? एकातिर कोरोना–भाइरसले अफ्रिकी र एसियन मुलुकलाई बढी प्रभावित पारिरहेको छ । अर्कोतिर ठीक यतिवेला महिलाभन्दा पुरुष बढी महामारीको सिकार भइरहेकोबारे बहस चलिरहेको छ । यो बहस कहाँबाट आइरहेको छ ? निश्चय नै संरचनात्मक जातिवाद र लिंगवाद नबुझेका र पितृसत्तात्मक सामाजिक संरचनालाई नजरअन्दाज गर्ने मूलधारका श्वेत पुरुषहरू नै अत्यधिक मात्रामा पुरुष मारिइरहेको बहस चलाइरहेका छन् । यी हाम्रै पिता र पार्टनर हुन्, भाइ र छोरा हुन् ।

यो अस्वाभाविक पुरुष–मृत्युले एकातिर जीवाणु जगत्ले पुरुष भनेर छुट दिँदैन भन्ने बुझिन्छ भने अर्कोतिर यसैका कारण पनि महामारीले आर्थिक र घरायसी जिम्मेवारीको बोझ महिलामाथि झन् लादेको छ भनेर पनि लिन सकिन्छ । यो संकटले निम्तिने आर्थिक मन्दीको बोझ पुरुषलाई ज्यादा पर्छ भन्ने मान्यता छ । उत्पादनमूलक क्षेत्रमा पुरुषको उपस्थिति दह्रो हुनुले यस्तो सोचिएको हो । तर, महामारीले सबैभन्दा धेरै प्रभावित क्षेत्र भनेको सेवाग्राही र किराना पनि हुन्, जहाँ महिला कामदारको संख्या अत्यधिक छ ।

महामारीले महिला र पुरुषबीचमा ठूलो असमानता सिर्जिंदै छ । महिला–पुरुषले काम सुरु गर्दै दुवैको कार्यबोझमा फरक पर्छ, जब उनीहरू अभिभावक बन्छन्, यो बोझको दायरा अझ फराकिलो बन्दै जान्छ । परिवारको आर्थिक बोझ उठाउन घरायसीसँगसँगै तिनले अतिरिक्त काम पनि गर्नुपर्छ । लकडाउनको अवस्थामा त महिलाले न्यून ज्यालाका अतिरिक्त कामसँगै विनापैसाको घरायसी कामकाज पनि सम्हाल्नुपरेको छ । पुरुषको तुलनामा महिलाले ४७ प्रतिशत ज्यादा रोजगार गुमाउने पनि सम्भावना छ । लकडाउन हुनुअघि महिलाले २७ देखि ४५ प्रतिशतसम्म बालबच्चा स्याहारको काम गर्नुपर्थ्यो, जुन अहिले बढेर ९० देखि १०० प्रतिशतसम्म पुगेको छ । १० मध्ये सात आमाले बालबच्चाको पठन–पाठनदेखि घरका सम्पूर्ण काम एक्लै स्यहार्नुपर्ने बताएका छन् । यसका अलावा कतिले घरबाटै अफिसको कामसमेत भ्याउनुपरेको छ ।

यो संकटले निम्तिने आर्थिक मन्दीको बोझ पुरुषलाई ज्यादा पर्छ भन्ने मान्यता छ, तर महामारीले सबैभन्दा धेरै प्रभावित क्षेत्र भनेको सेवाग्राही र किराना हुन्, जहाँ महिला कामदारको संख्या अत्यधिक छ 

त्यसमाथि अझ लकडाउनका कारण घरेलु हिंसा पनि बढेका छन् । अहिले घरका सबैजना तनावमा छन्, ती सबको भावना बुझेर सबलाई सान्त्वना दिनु पनि महिला कै जिम्मेवारीमा पर्छ । यद्यपि लकडाउनका केही सकारात्मक पक्ष पनि छन् । बाहिर डुलिहिँड्ने पुरुषहरू बालबच्चासँग समय बिताउने भएका छन्, भलै तिनले कम स्याहार–सुसार गर्छन् । यसले पारिवारिक वातावरण सुदृढ बनाउन सघाएको छ ।

महामारीले संरचनात्मक लैंगिक र जातीय विभेदलाई बाहिर ल्याइदिएको छ । हामी लामो समयदेखि दमित थियौँ र उचित कदम चाल्न नपाएकाले झन् पीडित भइरहेका थियौँ । तर, यो महामारीले हाम्रो भोगाइबारे सोच्ने र यसविरुद्ध लड्ने अवसर दिएको छ । सरकारले त्यत्तिकै यसबारेमा सोच्दैन, न त यो महामारीको प्रभावबारे सोच्ने सबैको त्यसतर्फ ध्यान नै जान्छ । घडीको सुई हेरेर काम गर्ने पुरुष कथंकदाचित् कोभिड–१९बाट संक्रमित भएमा एउटी नारीले स्याहार–सुसारमा कति दुःख पाउँछिन् भनेर स्वयं त्यो बिरामी पुरुषले महसुस गर्दैन । पहिलो कुरो त सर्वव्यापी निःशुल्क शिशु स्याहार केन्द्र हुनुप¥यो । दोस्रो, लैंगिक विभेदकारी काम र ज्यालादरको पर्याप्त रिपोर्टिङ हुनुपर्‍यो । अझ महत्वपूर्ण कुरा असल पुरुष पार्टनरले साथ दिनुप¥यो ।

बच्चा जन्मिसकेपछि पुरुषलाई तलब बढाइदिने चलन पनि छ, ताकी उसले कम्पनीमा दिने समयमा कमी नआओस् । यस्तो वेला सुत्केरी बिदा लिने तथा आमा र बच्चाको स्याहारका लागि लचिलो समय माग्ने पुरुषहरू अझै सहकर्मीबाट गिज्याइँदै छन् । सर्वप्रथम त हामीले बच्चा जन्मेपछि आमा–बुबा दुवैलाई तलब नकटाई तीन महिना बिदा दिने प्रचलन बसाउनु आवश्यक छ । यसले एकातिर बच्चालाई पर्याप्त स्याहारले दीर्घकालीन फाइदा दिन्छ भने अर्कोतिर महिला–पुरुषबीचको घरायसी काम र जिम्मेवारीको असमानतालाई केही हदसम्म सम्बोधन गर्छ । त्यसैगरी, महिलाहरू प्रायः न्यून ज्यालामा लामो समयसम्म काम गर्ने गर्छन् । तिनको औषत कार्यघन्टा हप्ताको ३२ घन्टा छ । यसमा पनि सुधार ल्याउनुपर्नेछ ।

लैंगिक समानताको बहसलाई विशेषतः महिलाको सार्वजनिक कार्यक्षेत्रको अधिकारको विषयसँग मात्र जोड्ने गरिएको छ । तर, जबसम्म बालबच्चा स्याहार–सुसार पुरुषको पनि उत्तिकै अधिकार र जिम्मेवारीको क्षेत्र हो भन्ने बहस सुरु हुँदैन, तबसम्म घर र अफिसमा लैंगिक समानता असम्भव छ । 

(सोधा अब्जर्भरकी स्तम्भकार हुन्)
द गार्जियनबाट