१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ असार ९ मंगलबार ०५:३१:००
Read Time : < 1 मिनेट
समाचार

मन्दिरको जमिन अतिक्रमण गर्न खोजेपछि स्थानीयले गरे विरोध

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असार ९ मंगलबार ०५:३१:००

जनकपुरधाम उपमहानगरपालिका– २३ स्थित बेलाकुटीको नामले चिनिने रामजानकी दुल्हा–दुल्हिन मन्दिरको जमिन अतिक्रमण गरी एक निजी प्रतिष्ठानले बनाइरहेको पर्खाल स्थानीयको विरोधपछि रोकिएको छ । सोमबार सयौँका संख्यामा स्थानीयवासीले गुठी संस्थान कार्यालय जनकपुर घेराउ गरेपछि संस्थानले पर्खाल निर्माणमा रोक लगाएको हो ।

प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा मन्दिरको जमिनमा नयाँ भवनका लागि पर्खाल निर्माण भइरहेको थियो । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले क्यान्सर अस्पताल तथा रगतजन्य रोगको उपचार र रिसर्च सेन्टर निर्माणका लागि गुठी संस्थानसँग पाँच बिघा १० कट्ठा जमिन क्यान्सर अस्पताल बनाउन लिजमा लिएको दाबी गर्दै आएको छ । तर, स्थानीयवासीले सरकारी जग्गा कसैले कब्जा गर्न नसक्ने भन्दै विरोध गरेपछि गुठी संस्थान आफ्नो निर्णयबाट पछि हटेको छ ।

रामजानकी मन्दिरको १६ बिघामध्ये सात बिघाभन्दा बढी जग्गा पहिले नै अतिक्रमण भइसकेको छ । चार बिघा जनकपुर बसपार्कले लिजमा लिएको छ । बाँकी जमिन विश्व भारती फाउन्डेसनसहित केही व्यक्तिले अतिक्रमण गरेका छन् । 

स्थानीय बैजनाथ चौधरीले आफूहरू वर्षौंदेखि मन्दिरको जमिनको संरक्षण गर्दै आए पनि वेलावेलामा नेतादेखि भूमाफियाहरूले अतिक्रमणको प्रयास गर्दै आएको बताए । ‘मन्दिरको जमिन बचाउनु सबैको दायित्व हो, सुरुमा विश्व भारती फाउन्डेसनले कब्जा गर्न खोज्दा हामीले विरोध गर्‍यौँ,’ उनले भने, ‘अहिले गजेन्द्रनारायण सिंह प्रतिष्ठानको नाममा भूमाफियाहरूले कब्जा गर्न खोजेपछि विरोध गरेका हौँ ।’ प्रहरीले भूमाफियासँगको मिलेमतोमा आफूहरूलाई मोस्ट वान्टेडको सूचीमा राखेको उनले बताए ।

स्थानीयले अस्पतालको भवनको नक्सा पास नगरेको, वडा कार्यालयलाई जानकारी नदिएको भन्दै जग्गा अतिक्रमणकै उद्देश्यले पर्खाल लगाउने काम भइरहेको आरोप लगाएका छन् । उनीहरूले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी भवन बनाउन खोज्दा पनि स्थानीय प्रशासनले त्यसलाई रोक्न चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रहरीले ठेकेदारलाई नै सहयोग गरेको स्थानीयको आरोप छ ।