मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ८ सोमबार २२:००:००
Read Time : > 4 मिनेट
ब्लग

के चीन भारतविरुद्ध घेराबन्दी गर्दै छ ?

Read Time : > 4 मिनेट
२०७७ असार ८ सोमबार २२:००:००


भारतीय रणनीतिक समुदायको बुझाइ छ– चीन भारत घेर्ने बृहत् रणनीतिबाट निर्देशित छ, त्यसकै एउटा कडी गलवान भ्यालीको झडप हो । 

पूर्वी लद्दाखस्थित भारत र चीनबीचको सीमा (एलएसी) गलवान भ्यालीमा असार १ गते मध्यराति झडपमा २० जना भारतीय सैनिकको मृत्यु भयो । भारतीय सैनिकको मृत्युपछि भारत, चीन मात्र नभएर विश्व नै तरंगित भयो । घटनाबारे भारतीय सञ्चारमाध्यम आक्रामक रूपमा प्रस्तुत भए । तर, भारत त्योस्तरमा आक्रामक रूपमा प्रस्तुत भएन । त्यस्तो घटना हुँदा पनि भारत सरकार किन प्रतिरक्षात्मक छ भन्ने प्रश्न भारतीय रणनीतिक समुदायमा उठिरहेको छ । वास्तवमा २४ वैशाखमै त्यहाँ झडपको स्थिति थियो । झडपमा चार दर्जनजति भारतीय सैनिक घाइते भएका थिए । तर, दुई पक्षबीच चरणबद्ध सैन्य र कूटनीतिक वार्ताबाट क्रमशः दुवैै पक्षले आफ्ना सैनिक फिर्ता गर्दै जाने सहमति थियो । त्यहीबीच झडप भयो र भारतीय सेनाका कर्णेलसहित २० जनाको निधन भयो । 

भारतीय र चिनियाँ सेनाका लेफ्टिनेन्ट जनरलस्तरको २४ जेठमा भएको वार्तामा क्रमशः सैनिक हटाउँदै लैजाने सहमतिका आधारमा अघि बढ्ने सहमति थियो । तिब्बततर्फ भएको प्रत्यक्ष वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए । उनीहरूले तनाब बढ्न नदिने र चरणबद्ध रूपमा दुवै पक्षले झडपस्थलबाट सेना क्रमशः पछाडि लैजाने सहमति गरेका थिए । सहमति कार्यान्वयनका लागि १ असार साँझ ब्रिगेड कमान्डरस्तरीय बैठकसमेत हार्दिक रूपमा सम्पन्न भएको थियो । अफसोच, त्यही राति दुई देशका सैनिकबीच झडप भयो । 

उपल्लो सैन्य नेतृत्व तहबीच भएको सहमतिअनुसार चीन पक्ष पछि हट्न नमानेको र भारतीय सैनिकलाई फिर्ता हुन दबाब दिएपछि घटना भएको भारतीय पक्षको बुझाइ छ । वास्तवमा त्यो अनपेक्षित घटनाप्रति भारतीय रणनीतिक समुदाय र सरकार आश्चर्यमा छ । भारत सरकारले समग्रतामा पछिको भविष्यलाई हेरेर कम प्रतिक्रिया जनाएको हो भन्ने एकथरीको विश्लेषण छ । यो विश्लेषणअनुसार लद्दाखमा भएको स्थानीय झडप भारत र चीनबीच विद्यमान विषयहरूको एउटा सानो अंश मात्रै हो । 

अहिलेसम्म घटनाका विषयमा भारतीय सेना तथा राजनीतिक दलहरूले वीरतापूर्वक ज्यानको बलिदान गरेको भन्दै सैनिकहरूप्रति सम्मान गर्दै वक्तव्य निकालेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले १९ जुनमा बोलाएको सर्वदलीय बैठकमा पनि विगतमा झैँ भारतीय सैनिकको वीरताको चर्चा भयो । यद्यपि, भारत सरकारले परिस्थिति हेरेर लद्दाख सम्बन्धमा निर्णय गर्न सैनिक नेतृत्वलाई जिम्मा दिएको छ । यद्यपि घटना भएको ठाउँमा दुवै सेनाका मेजर जनरल तहमा वार्ता भएको छ भने सोमबार पुनः लेफ्टिनेन्ट जनरलको तहमा संवाद भएको छ । 

हिमालयन फ्रन्टियरमा भारतको चिन्ता

भारतीय रणनीतिक मामिला जानकारहरूको बुझाइ र विश्लेषणअनुसार चीनले भारत घेर्ने बृहत् रणनीतिअनुसार सीमा क्षेत्रमा यो घटना भएको हो । दुई सनोबीच आसाममा १९७५ मा भएको एम्बुस प्रकरणयता साढे चार दशकपछि भएको पहिलो हिंसात्मक घटना हो । गलवान घटनालाई भारतविरुद्ध चीनले रणनीतिक र सैन्य रूपमा घेराबन्दी गरिरहेको अर्थमा रणनीतिक समुदायको चर्चा छ । भारतीय रणनीतिक समुदायले निरन्तर यो दृष्टिकोण राख्दै आएको छ । गलवान घटनालाई हिमालय क्षेत्रदेखि हिन्द महासागरसम्म भारतविरुद्ध केही वर्षयता हुँदै आएको चिनियाँ र चिनियाँप्रेरित अभ्यासहरूको शृंखलाबद्ध कडीका रूपमा विश्लेषकहरूले अर्थ लगाएका छन् । यतिवेला संसार कोभिड– १९ को महामारीमा केन्द्रित भएका वेला र चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतीय नेतृत्वसँग मित्रताको चर्चा गरिरहहेका वेला हिमालयमा भएको यो घटनालाई भारतीयहरूले यो घटनामा मात्रै सीमित राखेका छैनन् । भारतीय सञ्चारमाध्यममा छापिएका एक दर्जनजति विश्लेषणहरूका आधारमा भन्दा भारतीय रणनीतिक समुदायको बुझाइ छ, ‘राष्ट्रपति सीले पछिल्लो परिस्थितिमा प्रभावित भएको चिनियाँ अर्थतन्त्र तथा सरकारको राजनीतिक पहुँच पनि कमजोर हुँदै गएको विश्लेषण भएका वेला देशको विस्तारवादी चिनियाँ सपनाका नाममा हतारमा सैन्य योजना कार्यान्वयन गरिरहेका छन् । यसकै कडी गलवान उपत्यकाको झडप हो ।’ 

पछिल्लोपटक चीनले आफ्नो युरोप र अफ्रिकासम्म आफ्नो प्रभाव विस्तार गरिरहेको छ । यसमा भारतलाई घेराबन्दी गर्ने विषय पनि छ भन्ने भारतीयहरूको बुझाइ छ । अहिलेको संकटपूर्ण समयमा पनि चीन यो रणनीति सक्रियतापूर्वक कार्यान्वयन गरिरहेकोमा भारतीय पक्ष सशंकित छ । चीनको सडकरुट हिमालयबाट भारतीय सीमानजिकका क्षेत्रमा किन गइरहेको छ ? यस्ता प्रश्नहरू भारतीय कूटनीतिक र रणनीतिक समुदायमा उब्जिएको छ । 

भारत र चीनबीच हिमालयका धेरै सिमाना या त विवादित छन् या त त्यसको सीमांकन वा मापन भएको छैन । यही परिस्थितिको फाइदा ठूलो शक्तिका रूपमा चीनले उठाइरहेको भारतीय विश्लेषकहरूको धारणा छ । उदाहरणका लागि, हिमालयदेखि पश्चिमतिर पाकिस्तानको ग्वादर पोर्टसम्म चीनले बाटो पु¥याएको छ । ग्वादर पोर्ट अफगानिस्तान र इरानका लागि गेटवेका रूपमा अवस्थित छ । चीनको लगानीमा निर्मित चीन पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक) ले पाकिस्तानको ग्वादरदेखि चीनको मुस्लिम बाहुल्य सिन्जियाङ प्रान्तको कासगर हिमाल हुँदै सडकमार्गको आधुनिकीकरणलाई समावेश गरेको छ । यो सडकमार्ग गिलगिट बालटिस्टान तथा पाकिस्तान नियन्त्रित कस्मिर भएर जाने भएकाले भारतका लागि संवेदनशील छ । सिन्जियाङ क्षेत्र तिब्बतको ल्हासासँग सडकमार्गमा जोडिएको छ । नेपालको सीमा क्षेत्रदेखि तिब्बतको ल्हासासम्म अर्थात् चीनतर्फ बाटो बनिसकेको छ । भारतीय विश्लेषकहरूको बुझाइमा पश्चिम ग्वादरदेखि पूर्व तिब्बतसम्म चीन र पाकिस्तानको सहयोगी सैन्य कम्प्लेक्स (परिसर) बनिरहेको छ । यो सडकमार्ग आधुनिक तथा वाणिज्य, औद्योगिक तथा सैन्य रूपमा चीनका लागि अनुकूल छ । युद्धको समयमा सैनिकहरूको दु्रत परिचालनका लागि पनि यो सडक सञ्जाल उपयोगी हुने देखिन्छ । चिनियाँ नियन्त्रणमा रहेको अक्साई चीन र पाकिस्तानले चीनलाई बुझाएको सक्स्गम भ्यालीबीच, काराकोरम पासनजिकैको रणनीतिक क्षेत्र गलवान उपत्यकाको रणनीतिक महत्व यही सन्दर्भमा देखिन्छ । गलवान नदी मिसिने श्योक नदी र गलवान उपत्यकाबीचको अंश अति नै संवेदनशील छ । यो भूभागको पश्चिमतर्फ भारत नियन्त्रित सियाचेन ग्लेसियर छ । गलवान उपत्यकाको दुवैतर्फको माथिल्लो भाग भारत र चीन दुवैका लागि रणनीतिक रूपमा महत्वपूर्ण छ ।

चीन र पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)का लागि यो क्षेत्र अति नै महत्वपूर्ण छ । अक्साई चीन र सक्स्गम उपत्यकाबीचको जमिनले चीन र पाकिस्तान दुवैलाई जोड्छ । त्यहाँ कथंकदाचित उनीहरूको संयुक्त सैन्य अभ्यास भएमा भारतका लागि अत्यन्त ठूलो टाउकोदुखाइ बन्नेछ । तर, त्यो उपत्यका अहिले पूर्ण रूपमा चीनको हातमा छैन । कथंकदाचित त्यो क्षेत्र चीनको हातमा प¥यो भने त्यसले सजिलै सिन्जियाङ र तिब्बतलाई जोड्नेछ । सिन्जियाङ र ग्वादर पहिले नै जोडिएका छन् । त्यसकारण चीनले पाकिस्तानी जमिन प्रयोग गरेर सिपेकलाई भारतविरुद्धको प्रतिरक्षा मोर्चा बलियो बनाउने चिन्ता भारतमा छ । भारतीयहरूको यो पनि चिन्ता छ कि यदि चीन र पाकिस्तानले हिमालयन फ्रन्टियरमा नेपालसँग सहकार्य गर्ने अवस्था भयो भने हिमालयका सबै सीमा क्षेत्रबाट भारतलाई अवरोध हुनेछ । 

भारतीयको बुझाइमा चिनियाँ पक्ष सीमाबाट सजिलै पछि हट्ने सम्भावना छैन । उनीहरू सेप्टेम्बरसम्म रहने सम्भावना छ, त्यसपछि चिसो मौसमका कारण बस्न अप्ठ्यारो हुन सक्छ । सेप्टेम्बरसम्म भारतले कसरी त्यो ठाउँ खाली गर्छ, हेर्नुपर्ने हुन्छ । 

हिन्द महासागरमा भारतीय चिन्ता

भारतीय रणनीतिक समुदायको बुझाइमा चीनबाट भारत घेराउ गर्ने गलवान भ्याली एउटा सामान्य पाटो मात्रै हो । हिन्द महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावमा भारतको चिन्ता जोडिएको छ । चीनले भारीय उपमहाद्वीपको दक्षिणतर्फ हिन्द महासागरीय क्षेत्र (आइओआर)मा पनि प्रभाव विस्तार गरिरहेको छ । चीनले यसलाई स्ट्रिङ अफ पल्र्स अर्थात् मोतीको तार भन्ने गरेको छ । 

चीनले विभिन्न देशका सामुद्रिक परियोजनामा लगानी गरेको छ । अफ्रिकाको मुटु जिबुटी बन्दरगाहमा चीनको सैन्यबेस छ । त्यहाँबाट इथियोपिया जोड्ने रेललाइन चीनले बनाउँदै छ । चीनले म्यानमारको क्याउकफियुमा बन्दरगाह बनाउँदै छ । पाकिस्तानको ग्वादर बन्दरगाह र श्रीलंकाको हाम्बनटोटा बन्दरगाह त छँदै छ । केन्याको नैरोबीदेखि मोमबसा बन्दरगाहसम्म रेल लिंक छँदै छ । इन्डोनेसियामा पनि चीनको लगानी ठूलो छ । वेस्टर्न इन्डियन ओसिएन क्षेत्रका सोमालिया, केन्या, तान्जानिया, मोजाम्बिक, दक्षिण अफ्रिका, कोमोरोस, माडागास्कर, सेसेल्स, मोरिसस तथा रियुनियनमा पनि चीनको प्रभाव विस्तार भइरहेको छ । त्यहाँ चिनियाँ लगानीको सम्भावना छ । 

हिन्द महासागरीय क्षेत्रमा चीनको रुचिबारे भारत जानकार नभएको होइन । भारतले पनि अफ्रिकाबीच व्यापार, लगानी तथा सामुद्रिक सम्पर्क, सम्बन्ध प्रवद्र्धन गर्न एक परियोजनामा हस्ताक्षर गरेको छ । भारतले चिनियाँ पक्षको प्रभावलाई प्रतिसन्तुलन गर्न समुद्री नौसैनिक रक्षा नीति पनि अद्यावधिक गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनले सिल्क रोड पहलकदमीमार्फत उत्तर र म्यारिटाइम सिल्क रुटमार्फत दक्षिण क्षेत्रमा प्रभाव विस्तार गरिरहेको छ । भारतीय रणनीतिक समुदायको बुझाइमा जसरी अमेरिकाले चीनविरुद्ध घेराबन्दी गरिरहेको छ, चीनले भारतविरुद्ध पनि यसैगरी गरिरहेको छ । गलवान उपत्यकाको झडप यही रणनीतिक उद्देश्यबाट निर्देशित रहेको भारतको बुझाइ देखिन्छ । यद्यपि भारत र चीनबीच गलवान उपत्यकाको झडप मत्थर पार्ने प्रयास जारी छ ।