मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ८ सोमबार २१:२१:००
Read Time : > 1 मिनेट
अर्थ

सेती नदी जलविद्युत् आयोजनाको निर्माण व्यवस्थापन हाइड्रो कन्सल्टले गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ८ सोमबार २१:२१:००

सेती नदी जलविद्युत् आयोजनाको परामर्श सेवा तथा निर्माण व्यवस्थापन र सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङले गर्ने भएको छ । भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडले कास्कीमा निर्माण सुरु गरेको २५ मेगावाट क्षमताको आयोजनाको निर्माणलाई थप प्रभावकारी बनाउन र गुणस्तरमा ध्यान दिन हाइड्रो कन्सल्टको सहभागिता महत्वपूर्ण हुने प्रवर्द्धक कम्पनीले विश्वास लिएको छ ।     

द्विपक्षीय सम्झौतामा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल, हाइड्रो कन्सल्टका प्रमुख कार्यकारी अधिकृत मनोहर श्रेष्ठले हस्ताक्षर गरेका छन् । परामर्श तथा निर्माण व्यवस्थापनका लागि भिजन लुम्बिनीले हाइड्रो कन्सल्टलाई रु. पाँच करोड ५५ लाख ४१ हजार पाँच सयबराबरको रकम उपलब्ध गराउनेछ । निर्माण कार्यमा कुनै सम्झौता नगर्ने, आयोजनाको सबै काम प्रभावकारी रूपमा गर्ने तथा अन्य व्यवस्थापकीय कामका लागि सो रकम खर्च हुनेछ ।     

आयोजनालाई हरेक कोणबाट सबल, गुणस्तरीय बनाउने ध्येयका साथ आफूहरूले हाइड्रो कन्सल्टसँग सम्झौता गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । कास्कीको माछापुर्च्छे गाउँपालिका–२ सार्दिखोलाको भराभरीमा निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण कार्य गत वैशाख २२ गतेदेखि सुरु भएको हो । कुल रु. पाँच अर्ब लगानीमा निर्माण गरिने आयोजनाको सुरवातमा सिभिल निर्माणतर्फको सेटलिङ बेसिन (पानी थिग्र्याउने पोखरी) खन्ने काम भइरहेको छ ।     

आगामी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार कोरोना सङ्क्रमणको त्रासका बीचमा समेत आवश्यक सुरक्षाका उपाय अवलम्बन गरेर काम सुरु गरिएको छ ।     

भराभरीमा आयोजनाको बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइप बिछ्याएर पोखरा महानगरपालिका–१९ सँग सीमा जोडिएको चिन्ते बगरमा निर्माण गरिने विद्युत् गृहमा १८७ मिटर उचाइबाट पानी खसालिनेछ । आयोजनाबाट उत्पादित विद्युत् चार किलाेमिटर दूरीमा रहेको गाउँपालिकाको वडा नं. ४ लाहाचोकमा निर्माणाधीन सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाको सिभिल वर्कको जिम्मा रसुवा लुना जेभीले पाएको थियो । रु. एक अर्ब २० करोड लागतमा २७ महिनाभित्रमा सम्पन्न गर्ने गरी गत माघमा भौतिक निर्माणको जिम्मा रसुवाले पाएको हो ।     

सिभिल वर्कको कामसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रसारण लाइन) को काम अघि बढाउन निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ । आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको छ ।   

आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रबाट जुटाइनेछ भने बाँकी रकम स्वपुँजीका रूपमा लगानी हुनेछ । आयोजनामा स्थानीयवासीको समेत सेयर लगानी रहेको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलाप गर्दै आइरहेको भिजन लुम्बिनीमातहतमा आयोजनाको कार्य भइरहेको हो । 

प्रवर्द्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरूले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रूपमा सहभागी गराएको जानकारी दिए ।