१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ८ सोमबार २०:४८:००
Read Time : > 1 मिनेट
समाचार

फेवाताल जोगाउने सिल्ट पोखरी र ड्याम तयार

Read Time : > 1 मिनेट
२०७७ असार ८ सोमबार २०:४८:००

फेवातालमा स्थानीय खोलाहरूबाट आउने माटो, ढुंगा रोक्ने गरी चार स्थानमा सिल्टेसन ड्याम र पोखरी निर्माण भएको छ । तालको सिरानमा रहेका हर्पन खोला, अँधेरी खोला, लौरुक खोला र बेतयनी खोलाबाट आउने माटो र ढुंगा रोक्न ड्याम र सिल्टपोखरी तयार भएका हुन् ।

सिल्ड ड्याम र पोखरी निर्माण भएसँगै खोलाबाट आउने माटो, ढुंगासहितको गेगर सीधै तालमा मिसिन पाउँदैनन् । जसले फेवाताल पुरिनबाट जोगिने पोखरा महानगरपालिकाका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताए । उनले भने, ‘अब तालमा सीधै माटोढुंगा मिसिन पाउँदैन । यस्ता माटो, ढुंगा र गेगर अब ड्याम र पोखरीमा जम्मा हुन्छन् ।’ 

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको साझेदारीमा चेक ड्याम र सिल्ट पोखरी निर्माण भएको होे । चेक ड्याम र सिल्ड पोखरी निर्माणका लागि बेतयनी खोला पोखरा महानगर–२४ मा गीता–जय नेपाल ईश्वर जेभीले, पोखरा–२४ कै लौरुक खोला, पोखरा २३ र २४ वडामा पर्ने अँधेरी खोला र पोखरा–२३ मा रहेको हर्पन खोलामा बनेको ड्याम र पोखरी निर्माण खड्का कृष्ण–पिके जेभी दाङले गरेका हुन् । 

ड्याम र पोखरी निर्माण गर्न २९ भदौमा सम्झौता भएका हुन् । सम्झौताअनुसार १५ महिनामा निर्माण सम्पन्न गर्नुपर्थ्याे । तर, ताललाई बचाउनेजस्तो महत्वपूर्ण काम भएकाले लकडाउनमा पनि निरन्तर काम भएको निर्माण कम्पनी गीता–जय नेपाल ईश्वर जेभी स्याङ्जाका प्रतिनिधि खिमप्रसाद मल्लले बताए । उनका अनुसार चेकड्यामको भित्री भागमा केही सफाइ गरेर महानगरलाई ड्याम र पोखरी हस्तान्तरण गर्ने चरणमा छ । चेकड्याम र पोखरीमा सिल्ट जम्मा हुने काम सुरु भइसकेको छ ।

प्रदेश र केन्द्र सरकारको आधाआधा लगानी
चारवटै ड्यामका लागि ३४ करोड ४९ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा २८ करोड ९६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका सबइन्जिनियर खेमराज तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको आधाआधा लगानीमा संरचाना निर्माण भएको हो । अब रेखदेख र संरक्षणको काम पोखरा महानगरले गर्नेछ । 

पोखरा–२४ स्थित बेतयनी खोलाको ड्यामको लम्बाइ ५० मिटर, चौडाइ ५० मिटर र उचाइ चार मिटरको हुने सम्झौता भए पनि ठाउँको अवस्था हेरेर ६० मिटर लम्बाइ र ४० मिटर चौडाइको निर्माण गरिएको निर्माण कम्पनीले बताएको छ । 

पोखरा–२४ स्थित लौरुक खोलाको ड्याम र पोखरीको लम्बाई ५० मिटर, चौडाइ ५० मिटर र उचाइ ४ मिटरको छ । त्यहाँ केही काम सक्न बाँकी छ । यस्तै, पोखरा २३ र २४ को अँधेरी खोलामा ड्याम एक सय मिटर लम्बाइ, एक सय मिटर चौडाइ र चार मिटर उचाइको छ । यहाँ सिल्ट जम्मा हुने थालिसकेको छ । पोखरा–२३ स्थित हर्पन खोला घाँटी छिनाको ड्याम एक सय मिटर लम्बाइ र त्यति नै चौडाइ अनि चार मिटर उचाइको छ । 

पहिलो वर्ष नै महानगरलाई तीन करोड आम्दानी हुने
फेवा सिरानमा बनेका सिल्ट पोखरी र ड्याममा जम्मा हुने सिल्टलाई निकालेर आम्दानी गर्ने पोखरा महानगरले तयारी गरेको छ । पोखरीमा जम्मा हुने ढुंगा, बालुवा र गिटी समय समयमा निकाल्नुपर्ने महानगरका योजना महाशाखा प्रमुख इन्जिनियर काफ्लेले बताए । पहिलो वर्ष यस्तो ठेक्काबाट महानगरलाई तीन करोड रुपैयाँ आम्दानी हुने उनको अनुमान छ  । तीन करोडमा ठेक्का प्रक्रिया अगाडि बढाउने तयारी भएको उनले बताए । ‘पहिलो वर्ष भएकाले यसपालि हामीले तीन करोडमा ठेक्का लगाउने तयारी गरेका छौँ । छिट्टै टेन्डर निकाल्छौँ,’ उनले भने ।