Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ८ सोमबार १९:४४:००
Read Time : > 1 मिनेट
समाचार

संकटमा शुल्क नउठाउन निजी विद्यालयलाई अनेरास्ववियुको चेतावनी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ८ सोमबार १९:४४:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले कोरोना महामारीसँगै लकडाउनले निम्त्याएको संकटका वेला विद्यार्थीसँग शुल्क नउठाउन निजी विद्यालय सञ्चालकहरूलाई चेतावनी दिएको छ । निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले  संकटका वेला सरकारी निर्णयविपरीत शुल्क उठाउन गरेको आह्वानको विरोध गर्दै अनेरास्ववियुले तत्काल फिर्ता लिन चेतावनी दिएको हो । 

‘कोरोना कहरका कारण  लकडाउनले गर्दा आमविद्यार्थी र अभिभावक चौतर्फी रूपमा आक्रान्त भएका वेला हठात् शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरूको आह्वानको हामी घोर निन्दा र भर्त्सना गर्दछौँ,’ अनेरास्ववियु संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यतिवेला लकडाउनका कारण मुलुकमा झन्डै ९० लाख विद्यार्थी शिक्षालय जानबाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला बालबालिकाहरू पढ्ने भएकाले  कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ । लकडाउन केही खुकुलो हुँदै गए पनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सबैभन्दा ढिलो खुल्नुपर्ने परिस्थिति विद्यमान छ । यस्तो विषम परिस्थितिमा  सरकारले लिएको नीति र विद्यार्थी तथा अभिभावकहरूले व्यहोरिरहेको  संकटलाई पूर्ण रूपमा बेवास्ता गरी एकतर्फी रूपमा शुल्क उठाउने आह्वान आपत्तिजनक छ ।’

प्याब्सन र एन प्याब्सनले ‘विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न,  २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्न, ०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न’ अपिल  गरेका छन् । 

अनेरास्ववियुले विद्यालय बन्द रहेका वेला सञ्चालकहरूले जारी गरेको अपिललाई अवज्ञा गर्न अभिभावक र विद्यार्थीलाई आह्वान पनि गरेको छ । ‘कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीहरूको तनावपूर्ण मनोविज्ञानलाई पूर्ण रूपमा उपेक्षा गरी विद्यालय बन्द रहेको वेला जारी गरिएको यो अपिललाई अवज्ञा  गर्न अनेरास्ववियु आमअभिभावक र विद्यार्थीलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको असान्दर्भिक र अव्यावहारिक निर्णय  तत्काल फिर्ता लिन र लकडाउन अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्नसमेत चेतावनी दिन चाहन्छ ।’