Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असार ८ सोमबार ०९:२६:००
Read Time : > 3 मिनेट
सप्तरंग

अफ दी पोलिटिक्स : गीतकार नेताहरू

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असार ८ सोमबार ०९:२६:००

१५ जेठ, गणतन्त्र दिवस । प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ गीत सार्वजनिक भयो, ‘बन्छ नमुना नेपाल’ । अशोक लोहोरुङको संगीतमा दुर्गा परियार, श्रेयाशी चेम्जोङ र सञ्जय तुम्रोकले स्वर दिए । १ मे, मजदुर दिवस । प्रधानमन्त्री ओलीको गीत ‘अब आँसु खसाउनु पर्दैन’लाई सामाजिक सञ्जालमार्फत सांसद तथा गीतकार भगवती न्यौपानेले सार्वजनिक गरिन् । यस गीतलाई गायक-संगीतकार शिशिर योगीले संगीतमा ढालिसकेका छन् । योगीका अनुसार यो गीत छिटै सार्वजनिक हुँदै छ । ०७० सालमा ओलीको ‘मनमा प-यो पीर’ बोलको गीत सार्वजनिक भएको थियो ।

‘गीत-संगीत चाँडो आफ्नो कुरा सम्प्रेषण गर्न सकिने प्रभावकारी माध्यम हुन्,’ कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्, ‘राजनीतिबाट फुर्सद मिल्थ्यो भने साहित्यमार्फत समाजलाई बढी योगदान दिन सकिन्थ्यो होला ।’

समकालीन नेपाली राजनीतिमा थुप्रै नेता छन्, जसको कवि–गीतकार परिचय यसअघि नै बनेको हो । त्यसो त प्रधानमन्त्रीले पनि राजनीतिमा लाग्दैदेखि कविको परिचय बनाइसकेका थिए । गीतकार भने नयाँ थपिएको परिचय हो ।
...

पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसअघि नै गीतकारका रूपमा स्थापित छन् । ‘परिवर्तनका स्वरहरू’ शीर्षकमा भाग १ र २ गरी दुईवटा गीति एल्बम आइसकेका छन्, उनका । यस्तै, ‘जागृतिका गीतहरू’ शीर्षकमा गीतिसंग्रह पनि प्रकाशित गरेका छन् । ‘साहित्य अनुरागी भएकाले कहिलेकाहीँ लेख्ने जमर्को गर्छु,’ खनाल भन्छन्, ‘राजनीतिमा सक्रिय भएकाले जमेर कला, साहित्यमा लाग्न पाइनँ । कहिलेकाहीँ लेख्ने गर्छु । कहिले गीत बन्छ त कहिले कविता ।’

गीत र कवितामार्फत थोरै हरफमा धेरै अभिव्यक्त गर्न सकिने भएकाले दुवै विधासँग प्रेम बसेको छ, उनमा । खनाल ५२ वर्षदेखि राजनीतिको अविश्रान्त यात्रामा छन् । पार्टी अध्यक्ष, महासचिव, स्थायी समिति सदस्य, पटक–पटक मन्त्री र एकपटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहे । तिनै जिम्मेवारीमा बेफुर्सदिलो बन्दा साहित्यमा धेरै समय दिन नसकेको उनी बताउँछन् । भन्छन्, ‘मसँग समय हुन्थ्यो त उपन्यास लेख्थेँ । त्यसमा धेरै समय, साधना र अनुसन्धान चाहिन्छ, जसका लागि मसँग समय हुँदैन ।’

गीत–संगीतलाई उनी मानव जातिको अनुपम सिर्जना भन्छन् । ‘जसले कविता लेख्न जान्दैन, संस्कृति र गीत–संगीत बुझ्दैन, ऊ कुशल राजनीतिज्ञ हुन्छ भन्ने मलाई लाग्दैन,’ खनाल भन्छन्, ‘गीत–संगीतलाई टाढा राखेर हिँड्न खोजियो भने राजनीति सही दिशामा बढ्दैन ।’
...

नेताहरूद्वारा लिखित गीतमा धेरै स्वर दिनेमध्येमा पर्छन्, गायक–संगीतकार शिशिर योगी । उनले सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गौतमका मात्र चारवटा गीतमा स्वर दिएका छन् । ‘किसान एकता जिन्दावाद’, ‘हामी जुटे नेपाल जुट्छ’, ‘खाद्य सम्प्रभुता’ र ‘मजदुर’ बोलका गीतमा योगीकै स्वर छ । गौतमका सबैजसो गीतमा शक्तिबल्लभ श्रेष्ठको संगीत छ । ३० जेठमा गौतमको गीत ‘हामी जुटे नेपाल जुट्छ’ युट्युबमार्फत सार्वजनिक भयो । यसमा शक्तिबल्लभको संगीत तथा योगी र जगदीश समालको स्वर छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल गीत-संगीतलाई मानव जातिको अनुपम सिर्जना मान्छन् । भन्छन्, ‘जसले कविता लेख्न जान्दैन, संस्कृति र गीत-संगीत बुझ्दैन, ऊ कुशल राजनीतिज्ञ हुन्छ भन्ने मलाई लाग्दैन ।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ‘शीतबिन्दु’ साहित्यिक नाममा कविता, गीत, उपन्यास, निबन्ध लेख्छन् । उनका आधा दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका गीत ‘सहरसँग एउटा प्रश्न सोधिरहेछ गाउँ’मा बिबी अनुरागीको संगीत र गायक योगीको स्वर, ‘आस्था ओ मेरी प्रिया’मा भानुभक्त ढकालले स्वर र ‘हिमालको पाखाभरि’मा मोहन राईको स्वर छ।
...

धेरै गीत लेख्ने नेतामध्येमा पर्छन्, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा । अधिकांश गीतमा उनको आफ्नै कम्पोज छ । कोरोना संकट सुरु भएपछि शर्माले आफ्नै शब्द र संगीतमा गीत तयार पारे– ‘आऊ माया गरौँ, मान्छेले मान्छेलाई’ । उनले यो गीत अंग्रेजीमा तयार पार्ने सोचेका थिए, तर नेपालीमै लेखे र रेकर्ड गराए । प्रमोद खरेल र शीतल मोक्तानको स्वर छ, यस गीतमा । उनका दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । तिनैमध्येको हो, ‘भूकम्पमा गुमेका आफन्तको कसम, हामी उठ्छाैँ, फेरि जुट्छौँ, हिरोसिमापछिको जापान भएर’ । १२ वैशाख ०७२ को भूकम्पलगत्तै सिन्धुपाल्चोक पुगेका उनलाई फुरेको थियो, यो गीत ।

कांग्रेस नेता गुरुराज घिमिरेको गीति अवतार पार्टीभित्रै पनि कमैलाई जानकारीमा छ । उनले करिब ३० वटा गीत तयार पारेका छन्, तर दुईवटा मात्र रेकर्ड भएका छन् । घिमिरेलाई राजनीतिको प्लेटफर्म अलि भद्दा लाग्छ । किनकि, राजनीतिक कुरा मानिसलाई सहजै बुझाउन सकिँदैन ।

‘तर, गीत–संगीत चाँडो आफ्नो कुरा सम्प्रेषण गर्न सकिने प्रभावकारी माध्यम हुन्,’ उनी भन्छन्, ‘राजनीतिबाट फुर्सद मिल्थ्यो भने साहित्यमार्फत समाजलाई बढी योगदान दिन सकिन्थ्यो होला । राजनीतिका कारण सिर्जनात्मक मूल्य चुकाउनुपरेको छ ।’ उनी असारभित्रमा उपन्यास र कवितासंग्रह सार्वजनिक गर्ने योजनामा थिए । तर, अब दसैँपछि मात्र ल्याउने तयारीमा छन् । कवितासंग्रहको नाम ‘मृत्युसँग साक्षात्कार’ जुराएका छन् । उपन्यासलाई नाम दिएका छन्, ‘डाक्टरको पुनर्जन्म’ ।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी सानैदेखि कविता लेख्थिन्, गीत सुन्थिन् । कतिपय गीत आफ्नै जीवनसँग मेल खाएजस्तो लाग्थ्यो, उनलाई । राजनीतिमा लाग्दै गर्दा सांसद भगवती न्यौपानेसँग उनको भेट भयो । न्यौपानेका गीत बजारमा आइसकेका थिए । उनको साथ पाएपछि चौधरीले पनि आफ्ना गीत बजारमा ल्याइन्– अञ्जु पन्तको स्वरमा ‘कोही भन्छन्’ र ‘निर्दयी रैछौ’ । ‘म पनि अरूबाट सिकेर आएकी हुँ । आफूबाट पनि अरूले केही सिक्न सक्छन् भन्ने लागेर सिर्जनात्मक काम गर्छु,’ उनी भन्छिन् ।