१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ८ सोमबार ०८:०९:००
Read Time : > 1 मिनेट
नयाँCity

कोभिड-१९ प्रभाव : बदलिँदै फौजी तालिम

Read Time : > 1 मिनेट
२०७७ असार ८ सोमबार ०८:०९:००

भद्रकालीस्थित जंगी अड्डामा गत सातादेखि सहसेनानीहरूको तालिम जारी छ । सेनानीमा बढुवा हुनुअघि पूरा गरिसक्नुपर्ने तालिम हो, यो । तालिममा आपसमा परिचित २६ सहकर्मी छन् । तर, उनीहरू हात मिलाउने त टाढाको कुरा, नजिकसमेत पर्दैनन् । किनकि, ती गतिविधिमा प्रतिबन्ध लगाइएको छ । मास्क र पन्जा अनिवार्य गरिएको छ । प्रशिक्षण कक्षमा प्रवेशअघि गेटमै आफ्नो स्वास्थ्य अवस्थाबारे लिखित जानकारी दिनुपर्छ ।

साबुनपानीले हात धोएर ह्यान्ड स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्छ । डेस्कमा बस्दा पनि भौतिक दूरी कायम गर्नैपर्छ । आगामी ६ महिना उनीहरूले यही दैनिकी पछ्याउनुपर्नेछ । प्रशिक्षण कक्षमा दैनिक एउटै ठाउँमा बस्नुपर्नेछ । अस्वाभाविक लाग्ने यो परिवर्तन कोभिड–१९ सिर्जित बाध्यता हो । र, सैनिक अधिकृतहरूको नियमित तालिममा व्यावहारिक परिवर्तन आएको छ ।

कोभिड–१९ महामारीले विश्वभर मानवीय संकट पैदा गरेको छ । संकटबाट बच्ने प्रयासस्वरूप दैनिक जीवनमा धेरै व्यावहारिक परिवर्तन देखिएका छन् । त्यसको प्रभाव सुरक्षा निकायमा पनि देखिन थालेको छ । नेपाली सेनामा मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नियमित प्रशिक्षण-तालिममा व्यावहारिक परिवर्तन देखिएको छ । दुवै सुरक्षा निकायले ब्यारेकबाहिरको परेड रोकेका छन् । बिदामा ब्यारेकबाहिर गएकाहरूलाई प्रवेश दिइएको छैन भने भित्रै रहेकालाई बाहिर जान दिइएको छैन ।

नेपाली सेनामा मात्र होइन, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नियमित प्रशिक्षण-तालिममा व्यावहारिक परिवर्तन देखिएको छ । दुवै सुरक्षा निकायले ब्यारेकबाहिरको परेड रोकेका छन् ।

नेपाल प्रहरीले नयाँ तालिम सुरु गरेको छैन । ‘हामीले मिल्नेसम्मका तालिमलाई चाँडै सम्पन्न ग-यौँ । त्यसरी समापन गर्न नमिल्ने केही तालिम मात्र बाँकी छन्,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी नीरज शाही भन्छन्, ‘हाल सञ्चालनमा रहेका तालिममा पनि सुरक्षाका सबै उपाय अपनाइएको छ ।’

त्यसका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र सरकारले जारी गरेका निर्देशिका पालना गरिएको उनी बताउँछन् । ‘तालिममा रहेकालाई बाहिर र बाहिर रहेकालाई भित्र सम्पर्क हुन दिएका छैनौँ,’ उनी भन्छन्, ‘सम्भव भएसम्म दूरी कायम गर्नेदेखि उनीहरूका सामान डिसइन्फेक्ट गर्ने गरिएको छ ।’ आफूवरिपरि सरसफाइ, नियमित हात धुने, स्यानिटाइजर प्रयोग, हाछ्युँ गर्दा रुमालले मुख ढाक्नेलगायत व्यवहार अनिवार्य गरिएको उनी बताउँछन् ।

तीन साताअघि सशस्त्र प्रहरीका नयाँ निरीक्षक (इन्स्पेक्टर)हरूको दीक्षान्त समारोह थियो । त्यसक्रममा विगतजस्तो भीडभाड हुन दिइएन । धेरै अतिथि बोलाइएन, इन्स्पेक्टरहरूका परिवारलाई पनि भेला हुन दिइएन । ‘धेरैजना जमघट हुँदा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले यस्ता गतिविधिमा कडाइ गरेका छौँ,’ सशस्त्र प्रहरी प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठ भन्छन् ।

तालिम, कार्यालय सञ्चालनलगायत सबै प्रकारका गतिविधिमा डब्लुएचओ र सरकारको निर्देशिका पालना गरिएको उनी बताउँछन् । ‘नयाँ तालिम सुरु गरेका छैनौँ । यसअघि सुरु भएका तालिम जारी छन्,’ उनी भन्छन्, ‘बिदामा बाहिर गएकालाई भित्र सम्पर्कमा आउन दिएका छैनौँ ।’ नियमित भेटघाटमा पनि भौतिक दूरीका साथ थोरै व्यक्तिलाई मात्र अनुमति दिइने गरेको उनी बताउँछन् ।