मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ७ आइतबार २१:०१:००
Read Time : > 1 मिनेट
समाचार

प्रधानसेनापतिको दार्चुला भ्रमणपछि पृतनापतिसँग बैठक : राष्ट्रिय सुरक्षा अवस्थाबारे समीक्षा

Read Time : > 1 मिनेट
२०७७ असार ७ आइतबार २१:०१:००

प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको भ्रमणबाट फर्केपछि शुक्रबार र आइतबार जंगी अड्डामा पृतनापतिहरूसँग समन्वय बैठक गरेका छन् । आठै पृतनापति तथा जंगी अड्डामातहत कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूले आ–आफ्ना क्षेत्र र विषयगत सुरक्षा तथा आफ्ना गतिविधिबारे बैठकमा प्रस्तुतीकरण गरेका थिए । प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न सेना प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए । 

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार पृतना बैठकमा कोभिड– १९ महामारी, रोकथाम, प्रतिकार्य र नियन्त्रणलगायतका विषय, आर्थिक वर्ष सम्पन्न हुन लाग्दा पृतनापतिहरूबाट कमाण्ड प्रतिबद्धता, राष्ट्रिय सुरक्षा वातावरणबारे समीक्षा भएको छ । प्रवक्ता पाण्डेले भने, ‘बैठकमा राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौतीलगायत परिस्थितिजन्य विषयका सम्बन्धमा प्रस्तुतीकरण र छलफल भएको थियो ।’

प्रधानसेनापति पूर्णचन्द्र थापा र संशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ३ असारमा दार्चुला सदरमुकाम हुँदै सशस्त्रको हालै स्थापित बोर्डर आउटपोस्ट छाङरू भ्रमणमा गएका थिए । सुदूरपश्चिम पृतनापति तथा सुरक्षा प्रमुखसहितको भ्रमणका वेला प्रधानसेनापति थापाले कालापानी क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे ब्रिफिङ लिएका थिए । तर, प्रधानसेनापतिको भ्रमणपछि आयोजित पृतना बैठक संयोग मात्रै रहेको जंगी अड्डाको भनाइ छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘पृतना समन्वय बैठक कुनै घटनाक्रमसँग सम्बन्धित छैन । यो जंगी अडडामा हुँदै आएको नियमति बैठकको निरन्तरता हो । 

शुबार सुरु भएको बैठकमा पूर्वी पृतनापति अनन्त कार्की, उपत्यका पृतनापति आनन्द अधिकारी, मध्यपृतनापति ताराध्वज पाण्डे, मध्यपूर्वी पृतनापति सुरेशकुमार कार्की, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति सरोजप्रताप राणा र सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले आफ्ना क्षेत्रको सुरक्षा वातावरणबारे प्रस्तुतीकरण गरेका थिए । स्रोतका अनुसार बैठकमा भारत–चीन सीमा तनावबाट उत्पन्न परिस्थितिलाई नेपालले चनाखोपूर्वक हेर्नुपर्ने समीक्षा भएको थियो । तराईसहित मध्यपूर्वी पहाडको सुरक्षा परिवेश र विप्लब नेतृत्वको समूहबाट हुन सक्ने सुरक्षा चुनौतीका विषयमा पनि समीक्षा भएको थियो । सुदूरपश्चिमका अन्य विषयसँगै कालापानी क्षेत्रको सुरक्षा अवस्थाबारे सुदूरपश्चिम पृतनापति थापाले प्रस्तुतीकरण गरेका थिए । बैठकमा केही उपरथीहरूले सेनाले साधनस्रोतको सीमितताबीच राज्यले दिएको काम निर्वाह गरेको, तर आमरूपमा सेनामाथि आक्षेप लगाइएको बताएका थिए । 

बैठक समापनको अवसरमा आइबार प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सेना सदाझैँ प्रतिबद्ध रहेको बताए । उनले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्न निर्देशन दिए । जंगी अड्डाका अनुसार थापाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक हित, कल्याण र राष्ट्रिय स्वार्थमा अविचलित काम गर्न पनि निर्देशन दिएका थिए । प्रधानसेनापति थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभाव र असरहरूको सूक्ष्म अध्ययन विश्लेषण गर्न र नियमित रूपमा ब्रिफिङ गर्न आग्रह गरे । उनले विकसित परिस्थितिका सम्बन्धमा स्पष्ट अवधारणाका आधारमा रणनीति र कार्य योजना बनाउन पनि निर्देशन दिएका थिए । आर्थिक वर्ष सुरु हुनुभन्दा अघि आयोजित पृतना बैठकमा प्राप्त सुझाबबाट सेनाले आगामी कार्यदिशा तय गर्ने र नीति तथा योजना निर्माणमा सुझाबलाई समेट्ने जनाएको छ ।