मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
देवराज अधिकारी
२०७७ असार ६ शनिबार १३:१६:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

सिंगै महाकाली हाम्रो हो

Read Time : > 5 मिनेट
देवराज अधिकारी
२०७७ असार ६ शनिबार १३:१६:००

नेपालले सदैव छिमेकीसँगको सम्बन्ध पञ्चशीलको सिद्धान्तका आधारमा कायम राखिरहेको छ र सदैव यसमा प्रतिबद्ध छ । आजसम्म चीनसँगको सम्बन्ध पनि पञ्चशीलकै आधारमा कायम छ । र, उसले पनि यो सम्बन्धलाई कमजोर हुन दिने अभिप्राय देखाएको पाइँदैन । ०१३ आश्विन ६ मा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन सरकारको निमन्त्रणामा जाँदा तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङले भनेका थिए, ‘प्रधानमन्त्रीज्यू, हामी आफैँ विशाल भूभागलाई कसरी विकास गर्ने, हराभरा बनाउने र देशवासीलाई शान्ति सुरक्षा दिने कार्यमै व्यस्त छौँ । तपाईँको सानो मुलुक नेपालप्रति कति पनि लोभ छैन, लाभ लिन चाहँदैनौँ पनि । ध्यान दिनुहोस्, तपाईँको सुन्दर मुलुकको स्थिति जहिले पनि असुरक्षित छ । तपाईँहरू सदैव होसियार र चनाखो रहनुहोला ।’ (पूर्वप्र.म. आचार्यसँगको उनको निवास, बानेश्वर हाइटमा भएको कुराकानी) 

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीलाई चिनियाँ कम्युनिस्ट पार्टीले चीन भ्रमणको निमन्त्रणा पठायो । तत्कालीन नेकपाका कार्यवाहक महासचिव डा. केशरजंग रायमाझीको नेतृत्वमा ०१६ मा पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, कमर शाह र पिबी मल्लसमेत पाँच सदस्यीय भ्रमण टोली चीन प्रस्थान गर्‍यो । पार्टी महासचिव डा. रायमाझी र चिनियाँ कम्युनिस्ट पार्टी अध्यक्ष माओबीच विशेष भेट तथा कुरा भयो । भेटमा डा. रायमाझीलाई माओले सोध्नुभयो ‘डा. तपाईंहरूको पार्टीले नेपालको राजाको बारेमा कस्तो निर्णय लियो ?’ ‘संवैधानिक राजतन्त्र’ डा. रायमाझीको जवाफ थियो । ‘तपाईंहरूले ठीक निर्णय लिनुभयो । नेपालजस्तो देशमा राजा चाहिन्छ । राजा नहुँदा तपाईंको देशको नेतृत्व कमजोर भइरहन्छ ।’ (डा. रायमाझीसँग उनको निवास, लैनचौरमा भएको कुराकानी )  

यी दुई दृष्टान्तबाट थाहा हुन्छ, चीन पहिल्यैदेखि नेपाललाई दक्षिणतिरबाट हुन सक्ने हस्तक्षेपको विषयमा सजग थियो । ‘यो मुलुक दुई ढुंगाबीचको तरुल हो’ भन्ने आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशबाट समेत यो मुलुकको सार्वभौमसत्तामाथिको चुनौती प्रस्ट हुन्छ । इतिहासमा नेपालमा सबैभन्दा ठूलो धक्का सुगौली सन्धिमा व्यहोर्नुपरेको थियो । नेपाली जनता र बहादुर गोर्खाली सेना सुगौली सन्धिको पक्षमा थिए–थिएनन् । त्यस बखत नेपालीले त्यो सन्धि गरेका हुन् कि वास्तवमा त्यो हामीमाथि लादिएको थियो भन्ने बहस अझ पनि जिउँदोजाग्दो अवस्थामै छ । 

सुगौली सन्धिले कालीनदी दुई देशबीचको सीमा नदी नभएको स्पष्ट पार्छ, त्यसैले, सिंगै कालीनदी नेपालको हो । सुगौली सन्धिले प्रस्टसँग भन्छ कालीनदीभन्दा पश्चिमको भाग मात्र नेपालले त्याग्न बाध्य हुनुपरेको हो । कालीको शिर लिम्पियाधुरा हो, लिपुलेक हुँदै होइन ।

सन् १८१४ देखि १८१६ सम्म नेपाल–अंग्रेज युद्धको समाप्ति सुगौली सन्धिले ग¥यो । धेरैपटक भएका युद्धहरू एकै मोर्चा हुने गथ्र्यो, तर अंग्रेजले अन्त्यमा ६ वटा मोर्चाबाट आक्रमण ग¥यो । एकै मोर्चामा लड्दा नेपाली सेनाले शत्रुसेनालाई सदैव हराएर भगाउने गरेका थिए । तर, अन्तिम लडाइँमा ६ मोर्चाबाट लड्नुपर्छ भन्ने तयारी नभएको आफ्नै मौलिक हातहतियारले सानो स्रोत र शक्तिका साथ विशाल अंग्रेज साम्राज्यवादको विरुद्धमा लड्नुपर्दा हम्मेहम्मे भएको थियो । वीर बहादुर सेनानायकहरू, त्यसवेलाका सरकारका पदासिनहरू र राजा गिर्वाणयुद्ध विक्रम शाहसमेत असहमत भएको अवस्थामा सन् १८१५ डिसेम्बर २ का दिन सन्धिको प्रस्ताव अंग्रेज कम्पनी सरकारले नेपाल पठायो । त्यो प्रस्ताव ससर्त थियो । त्यसमा १५ दिनभित्रमा नेपाल सरकारका तर्फबाट मञ्जुरी सनाखत गरी पठाइसक्नुपर्ने भनी तोकिएको थियो । सन्धिका सर्तहरूमा असहमत हुँदै नेपालले मञ्जुरी गर्न चाहेन । उता कम्पनी सरकारको विभिन्न जालझेल षड्यन्त्रका कारण नेपाल सन्धिमा हस्ताक्षर गर्न बाध्य हुने परिस्थिति निर्माण भयोे । बाध्य भई ९३ दिनपछि मात्र भारतको सुगौली भन्ने स्थानमा सन् १८१६ मार्च ४ का दिन नेपालका तर्फबाट पं. गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले हस्ताक्षर गरे जसलाई सुगौली सन्धि भनिन्छ । 

सुगौली सन्धिको दफा ५ मा भनिएको छ ‘नेपालका राजा स्वयम् आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरूका तर्फबाट कालीनदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र त्यो इलाका तथा त्यस इलाकाका निवासीहरूसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।’ सन्धिअनुसार, नेपालले कालीनदी पश्चिमको भूभाग मात्र त्याग्नुपर्ने हो, र सन्धिले कालीनदी दुई देशबीचको सीमा नदी नभएको स्पष्ट पार्छ । त्यसैले, सिंगै कालीनदी नेपालको हो । सुगौली सन्धिले प्रस्टसँग भन्छ कालीनदीभन्दा पश्चिमको भाग मात्र नेपालले त्याग्न बाध्य हुनुपरेको हो । कालीको शिर लिम्पियाधुरा हो, लिपुलेक हुँदै होइन । लिम्पियाधुराबाट दक्षिणतर्फ हाम्फाल्दै ओर्लने नदीको नाम कालीनदी जसलाई स्थानीय भाषामा कुटी याङ्ग्दी भनिन्छ, कुटी याङ्ग्दी नै काली हो ।

यो इतिहासका कसैलाई जस–अपजस दिने समय होइन । सत्य त आज पनि कालापानीबाट भारतीय फौज हटेको छैन । त्यहाँ मानसरोवर जाने सडक भारतले निर्माण गरिसकेको छ र आफ्नो मानचित्रमा समेटेको छ । अतः राजनीतिक लाभ–हानिका निमित्त यो विषयलाई प्रयोग गर्नेभन्दा त्यहाँबाट भारतीय फौज हटाएर सिंगै महाकाली नदीसहित अतिक्रमित नेपाली भूमिमा नेपालको अधिकार स्थापित गराउनतर्फ लाग्नु आवश्यक छ ।

नेपालमा प्रजातन्त्र स्थापनासँगै काली र कालापानी एउटा सीमा विवाद बनेर आयो, जब भारतले आफ्नो सुरक्षा फौज कालापानीमा एकट्ठा गर्‍यो । राणाशासनको अन्तिम समय सन् १९५० मा भारत र नेपाल सरकारका बीचमा भएको शान्ति तथा मैत्री सन्धिलाई आधार बनाउँदै मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समय २००८ फागुन १५ का दिन भारतीय फौज नेपाल पस्यो । उसले हाम्रो उत्तरी सिमानामा पूर्व ताप्लेजुङको ओलाङचुङगोलादेखि पश्चिम दार्चुला जिल्लाको टिंकर भन्ने स्थानसम्म क्रमशः १७ वटा सैनिक चेकपोस्ट स्थापना ग¥यो । यो कार्य भारतले त्यसवेला गर्‍यो, जतिवेला लामो समय एकतन्त्रीय जहानियाँ निरंकुश शासन गरिआएका राणाहरू अपदस्थ भएका कारण घायल भएका थिए भने राजा भर्खरै मात्र अगाडि देखापरेका थिए । अर्कोतिर, राजनीतिक दलहरू उदाउँदै थिए । अस्तित्वमा रहेका राजनीतिक दलहरूबीच अन्तरविरोध बढ्दो थियो । त्यसवेलाको ठूलो राजनीतिक दल नेपाली कांग्रेसभित्र पनि नेतृत्वका लागि खिचातानी बढिरहेको थियो । नेपालको यस्तो धमिलो राजनीतिक अवस्थामा छिमेकी राष्ट्र भारत भने माछा मार्ने मौका खोजेर बसिरहेको थियो । यही मौका छोपेर नेपालमा सैनिक चेकपोस्ट स्थापना गरेको थियो । 

०१५ मा नेपालका प्रथम जननिर्वाचित तथा संसद्मा दुईतिहाइ बहुमतप्राप्त सरकारका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सशक्त हुँदाहुँदै पनि राष्ट्रिय परिस्थितिका कारण राष्ट्रियताको भावना निर्माण गर्न नसक्दा ती चेकपोस्ट हटाउनेतर्फ उनको ध्यान पुग्न सकेन । ०१७ पुस १ मा राजा महेन्द्रले शाही घोषणा गरे । उक्त शाही घोषणाबाट मौजुदा व्यवस्था र संविधान विस्थापित भयो । भएको मौजुदा व्यवस्था र संविधान विस्थापित त गरे, तर उनले नयाँ संविधान र अर्को राजनीतिक व्यवस्था तयार गरिसकेकै थिएनन् । त्यसबखत राजाको एक मात्र नायकत्वमा शासन चलिरहेको थियो । राजाले एकलौटी शासन आफ्नो जिम्मामा लिएको अवस्थामा नेपालको आर्थिक, यातायात, नागरिक शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविकाजस्ता हरेक क्षेत्र समस्याग्रस्त थिए ।

यस्तो अवस्थाका बाबजुद नेपालमा रहेका चेतना भएका पढेलेखेका जानकार र होनाहार युवाभने भने दक्षिणतर्फको मित्रराष्ट्र भारतमा गई त्यहाँको गणतन्त्रात्मक सरकारका विभिन्न तह र निकायसँग सम्बन्ध स्थापना गरी नेपाल राष्ट्र र राष्ट्रियताका विरुद्धमा उस्काउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी मुलुकको सार्वभौम सत्तामा नै आघात पार्ने खेलमा लागेका थिए । त्यति मात्र होइन, सशस्त्र संघर्षको नाममा नेपालका विभिन्न स्थान र नागरिकमाथि आक्रमण गरी जनजीवनलाई नै त्रसित पार्दै अशान्ति सिर्जना गर्ने कार्यमा विनाहिच्किचाहट लागेका थिए । राष्ट्र, राष्ट्रियता र नेपाली जनताभन्दा उनीहरू प्रजातन्त्रको नाममा सत्ताप्राप्तिका लागि जे गर्न पनि तयार भइरहेका थिए । राजा एक्लै थिए । देशवासीबाट सहयोगको सट्टा उल्टै आक्रमणको सिकार भएका राजा भारतीय विस्तारवादतर्फबाट स्थापना गरिएका चेकपोस्टहरूका विरुद्धमा बोल्न सक्ने अवस्थामा थिएनन् । तर, उनी देशको सार्वभौमसत्ता सुदृढ राख्ने कुरामा भने दृढताका साथ अगाडि बढिरहेका थिए । बिग्रिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई सुधार्न लागेका राजाले केही वर्षपछि उत्तरतर्फका चेकपोस्ट हटाउने दह्रो निर्णय लिए । परिणामतः २०२६ श्रावण १० मा तत्कालीन राष्ट्रिय पञ्चायतले नेपालमा रहेका भारतीय सेना फिर्ता पठाउने निर्णय गर्‍यो । १६ वटा चेकपोस्ट फिर्ता गर्न सफल पनि भयो ।

राजा महेन्द्र एक्लै थिए । देशवासीबाट सहयोगको सट्टा उल्टै आक्रमणको सिकार भएका राजा भारतीय विस्तारवादतर्फबाट स्थापना गरिएका चेकपोस्टहरूका विरुद्धमा बोल्न सक्ने अवस्थामा थिएनन् । तर, उनी देशको सार्वभौम सत्ता सुदृढ राख्ने कुरामा भने दृढताका साथ अगाडि बढिरहेका थिए । राजाले केही वर्षपछि उत्तरतर्फका चेकपोस्ट हटाउने दह्रो निर्णय लिए, परिणामतः ०२६ श्रावण १० तत्कालीन राष्ट्रिय पञ्चायतले नेपालमा रहेका भारतीय सेना फिर्ता पठाउने निर्णय ग¥यो र १६ वटा चेकपोस्ट फिर्ता गर्न सफल पनि भयो ।

नामै कालापानी, नेपालको दार्चुला जिल्लामा पर्ने स्थानको नाम हो टिंकर, कालापानी । महर्षी व्यासले तपस्या गरेको स्थान हो कालापानी । नेपालको भूगोलबाटै विकट अवस्थामा रहेको स्थान हो यो, बस्ती नभएको चारैतर्फ चट्टानेडाँडा र पहाडहरूले घेरिएको खोँच परेको एकान्त निर्जन गहिरो खाल्डोजस्तो, तर समथर स्थान । चिसो र विरक्तलाग्दो, घंगरुका बोट र झ्याङहरूले ढाकिएको तथा सुरक्षाको दृष्टिकोणले बलियो । त्यसैले त्यस स्थानमा सबै चेकपोस्टबाट उठेर आएका भारतीय फौजहरू बसे । शत्रुको कतैबाट पनि आक्रमण हुन नसक्ने, डर र भयरहित भएर बस्न सकिने, गोलाबारुद र ठूला तोपका गोलाले छेड्न नसक्ने अतिविकट र सामरिक दृष्टिले महत्वपूर्ण भएका कारण भारतीय फौज त्यहीँ थुप्रिए । 

ती भारतीय फौजहरू त्यतिवेलाको नेपाल सरकारको कुनै निकाय वा तहसँग अनुमति नलिई यस स्थानको सामरिक महत्व बुझेर त्यहाँ बसेका थिए । यी कुरालाई राजा महेन्द्रले नबुझेको वा देख्दै नदेखेको भन्न मिल्दैन । उनले जानकारी पाएकै हुन् । योगी नरहरिनाथले पनि त्यसवेला कालापानीको अध्ययन तथा भ्रमण गरेका थिए । भ्रमणपश्चात् उनले राजा महेन्द्रलाई ‘महाराज छाता ओढ्नेले डन्डी बलियोसँग समाउन सक्नुपर्छ, डन्डी बलियोसँग समाउन नसक्नेलाई छाता ओढ्ने अधिकार छैन’ भन्दै त्यहाँको स्थितिका बारेमा जानकारी गराएका थिए । मुलुकको अशान्त आन्तरिक अवस्था, विदेशी चलखेल, यातायात र सञ्चारका समस्याजस्ता कैयौँ प्रतिकूलताका कारणले गर्दा चाहँदाचाहँदै पनि राजा महेन्द्रले त्यहाँबाट भारतीय फौज हटाउन कठोर कदम चाल्न सक्ने स्थिति बनेन । तर, यसो भनिरहँदा, कालापानीमा भारतीय फौज राख्ने कुरामा राजा महेन्द्र सहमत भएको र स्वीकृति दिएको भन्ने अर्थ लाग्दैन, न त त्यसलाई पुष्टि गर्ने प्रमाण नै आजसम्म भेटिएको छ । 

यो इतिहासका कसैलाई जस–अपजस दिने समय होइन । सत्य त आज पनि कालापानीबाट भारतीय फौज हटेको छैन । त्यहाँ मानसरोवर जाने सडक भारतले निर्माण गरिसकेको छ र आफ्नो मानचित्रमा समेटेको छ । अतः राजनीतिक लाभ–हानिका निमित्त यो विषयलाई प्रयोग गर्नेभन्दा त्यहाँबाट भारतीय फौज हटाएर सिंगै महाकाली नदीसहित अतिक्रमित नेपाली भूमिमा नेपालको अधिकार स्थापित गराउनतर्फ लाग्नु आवश्यक छ ।