Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ६ शनिबार ११:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागरिकता विधेयकबारे नेकपाको निर्णय : नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि नागरिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ६ शनिबार ११:४७:००

नेकपा सचिवालयकाे शनिबार बसेकाे बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि नागरिकता दिन उपयुक्त हुने निष्कर्ष  निकालेको छ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताबारे छलफल गरेर निष्कर्ष निकालिएको छ। जसअनुसार त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि, आफ्नो देशमा नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक नागरिकता पाउनु उपयुक्त हुन्छ।’

नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासीय परिचयपत्र विवाह भएको दिनबाट नै दिइने उनले  बताए । नेपाली महिला विवाह गर्ने ज्वाइँको हकमा के गर्ने भन्ने विषयमा छलफलको क्रममा प्रसंग उठे पनि कुरा नमिलेपछि विधेयकमा त्यससम्बन्धी प्रावधान नै नराख्ने निर्णय भएको छ ।

नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधीन छ । पटकपटक यसका प्रावधानहरूमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस र मधेसवादी दलहरूले अहिलेकै प्रावधानअनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् । अहिले पनि सोही प्रावधान छ । विधेयक अहिले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकाे क्रममा छ । समितिमा अहिले अंगीकृत नागरिकताको विषयमा नै छलफल भइरहेको छ । समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका थिए ।