मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ६ शनिबार १०:१३:००
Read Time : > 2 मिनेट
खेलकुद

अभ्यासमा फर्किए क्रिकेटर

Read Time : > 2 मिनेट
२०७७ असार ६ शनिबार १०:१३:००

‘इन स्विङ, आउट स्विङ र ऐज लाग्ने बल आइरहेको छ,’ कीर्तिपुरस्थित भित्रुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको इन्डोर प्राक्टिस हलमा शुक्रबार बिहान ८ बजेतिर पुग्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल आफ्ना सहकर्मीहरूसँग यस्तै वार्ता गरिरहेको अवस्थामा भेटिए । र, कप्तान ज्ञानेन्द्रलाई साथ दिइरहेका थिए, पूर्वकप्तान पारस खड्का । 

नेपाली क्रिकेटका यी दुवै लिजेन्डर आफ्नो अनुभव सेयर गरिरहँदा सँगैको नेटमा शरद भेषवाकर भने ब्याटिङ प्राक्टिसमा मस्त थिए । यी सिनियर खेलाडीलाई बलिङ र ब्याटिङ प्राक्टिसमा प्रदीप र अभिनाशले खुलेर साथ दिइरहेका थिए । अरू समयमा भए यसै इन्डोर हलमा टोलीका मुख्य प्रशिक्षकको नेतृत्वमै बलिङ मेसिनसामु खेलाडी आफूलाई निखारिरहन्थे । उनीहरू प्रशिक्षकका टिप्स अनुसरण गर्दै ब्याटिङ र बलिङमा केन्द्रित हुन्थे ।

गत २२–२९ माघमा नेपाल, अमेरिका र ओमानको सहभागितामा आइसिसी विश्वकप लिग–२ अन्तर्गतको शृंखला आयोजना भएपछि खेलाडी राष्ट्रिय क्याम्पमा छैनन् । यसबीच, विश्वभरि नै कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि सरकारले रोकथामका लागि ०७६ चैत ११ देखि ०७७ जेठ ३२ सम्म लकडाउन जारी राख्यो । यो समयमा अधिकांश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी घरभित्रै निसास्सिएर बस्न बाध्य भए । यद्यपि, सरकारले अहिले लकडाउन जारी नराखे पनि खेलकुद क्षेत्र सुचारु नहुने बताएको छ ।

क्रिकेटको सम्बन्धित निकाय नेपाल क्रिकेट संघ (क्यान)ले अहिलेसम्म कुनै गाइडलाइन्स नबनाएको अवस्थामा खेलाडी पनि अन्योलमा छन् । तर, चार–पाँच दिनयता ज्ञानेन्द्र, पारस र शरदलगायतले नेपाली राष्ट्रिय टोलीमा बिताएको लामो समयको अनुभव खर्चिंदै व्यक्तिगत अभ्यास गर्दै आइरहेका छन् । सरकारले आमनागरिकलाई हिँडडुल गर्न सहज बनाएको अवस्थाको सदुपयोग गर्दै क्रिकेटर बिहान र दिउँसो सेल्फ अभ्यासमा टियू पुग्ने गरेका हुन् । 

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा एक दशकभन्दा लामो समय बिताएका ज्ञानेन्द्र मल्ल, पारस खड्का र शरद भेषवाकरलगायत खेलाडी टियू इन्डोर हलमा दिन बिराएर व्यक्तिगत अभ्यास गर्दै

अहिले उनीहरू आफैँ प्रशिक्षक र खेलाडी बनी व्यक्तिगत अभ्यासमा पसिना बगाइरहेका छन् । टियू मैदानमा उनीहरू दिन बिराएर अभ्यास गरिरहेका छन् । ‘म यहाँ दिन बिराएर आउने गरेको छु,’ एक चरण ब्याटिङ अभ्यास गरेपछि कप्तान मल्लले भने, ‘सवारीे नम्बरअनुसार मात्र अभ्यास गर्न आउने गरेको छु ।’

कप्तान ज्ञानेन्द्र जोर र बिजोर नम्बरअनुसार टियू आउने गरेको बताइरहँदा मध्यक्रमका ब्याट्सम्यान शरद भने अभ्यास सकेर घर फर्कने तयारीमा देखिन्थे । लगभग डेढ घन्टा ब्याटिङ र बलिङ अभ्यास गरेका शरद इन्डोर हलबाट बाहिरिँदै भन्दै थिए, ‘ल, म निस्किएँ है,’ शरदको इसारा कप्तान ज्ञानेन्द्रमाथि थियो । 

खेलाडीले व्यक्तिगत अभ्यास गर्नुको उद्देश्य आफूलाई ‘मेन्टेन’ गर्नु नै हो । एकैपटक सक्रिय खेलमा फर्कंदा गाह्रो हुन्छ । भविष्यमा त्यस्तो अवस्था सामना गर्न नपरोस् र फिट अवस्थामै क्रिकेटमा फर्कनका लागि क्रिकेटर आफूअनुकूल सेल्फ अभ्यास गरिरहेका हुन् । कोरोना भाइरसबाट सुरक्षित रहन हुलमुल गर्न नहुने खेलाडीलाई राम्रैसँग थाहा छ । यसै अवधारणा अपनाएको ज्ञानेन्द्रले बताए । 

कप्तान ज्ञानेन्द्र भन्छन्, ‘यद्यपि, लकडाउनको समयमा पनि घरमा अभ्यास नगरेको होइन, त्यो काफी थिएन, टियूमा रहेको बलिङ मेसिनबाट ब्याटिङ गर्दा हामीलाई फाइदा नै पुर्‍याउँछ ।’ खेलाडीको स्तर एकैनास बनाउन अभ्यास आवश्यक भएको उनी बताउँछन् । ‘खेलाडीको स्ट्यान्डर्ड मेन्टेन गरिराख्न अभ्यास जरुरी छ,’ अविनाशलाई बल दिँदै उनले भने, ‘यस किसिमको अभ्यासमा पनि गल्ती सच्याउने मौका मिल्छ ।’ 

आइसिसीले कुनै नयाँ नियम लिएर क्रिकेटलाई सुचारु गर्नेप्रति उनी विश्वस्त छन् । ज्ञानेन्द्र भन्छन्, ‘पक्कै पनि खेलकुद यतिकै सकिँदैन होला ? आइसिसीले केही नयाँ उपाय निकाल्छ, त्यसवेलासम्म हामी तयार भएर बस्नुपर्छ ।’ एकदिवसीय राष्ट्रको मान्यता दिलाएका र सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा नेपाललाई पु¥याएका पूर्वकप्तान पारसले आफू अभ्यासमा फर्किएको सामाजिक सञ्जालबाट जानकारी दिएका थिए । उनले त्यसवेला सानो भिडियो क्लिप पनि सेयर गरेका थिए । 

टेबलमा आराम गर्दै पारस साथीहरूले नेटमा अभ्यास गरेको भिडियो बनाउँदै थिए । ब्याट र बलबीचको कनेक्सन राम्रो बनाउन सेल्फ प्राक्टिस जारी रहेको उनले बताए । पारस भन्छन्, ‘यो समयमा ब्याट र बलबीचको कनेक्सन हुनु आवश्यक छ, यो निरन्तर भइराख्दा आगामी दिनमा सजिलो हुनेछ ।’ यद्यपि, धेरै संख्यामा उपस्थित भएर अभ्यास गर्नु जोखिम भएको उनी मान्छन् । 

उनी भन्छन्, ‘यहाँ हुल बनाएर अभ्यास गर्नु जोखिम छ, पछि केही भइदिए त्यसको जिम्मेवारी कसले लिने ?’ कोभिड–१९ बाट सुरक्षित रहनकै लागि आफू पनि समय मिलाएर अभ्यास गरिरहेको पारस बताउँछन्, ‘अहिलेको अवस्थामा धेरै खेलाडीबीच अभ्यास गर्नु राम्रो होइन, यसकारण हामी मिलाएर अभ्यास गरिरहेका छौँ ।’ 

अब खेल कसरी अगाडि बढ्ने भन्ने उनलाई चिन्ता छ । सम्बन्धित निकायले यसबारे सोच्नुपर्ने उनको भनाइ छ । पारस भन्छन्, ‘क्यानले क्रिकेट कसरी अगाडि बढाउने भन्ने सोच्नुपर्छ, तर म देख्छु, त्यति सजिलो छैन ।’