मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ६ शनिबार ०३:५९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सहकार्य, प्रचण्डले भने– सैन्य अभिप्रायको सहयोग अस्वीकार्य

७ असोजमा ६बुँदे समझदारी, १७ वैशाखमा विदेश विभागस्तरीय छलफल, शुक्रबार ‘भर्चुअल’ संवाद

Read Time : > 3 मिनेट
२०७७ असार ६ शनिबार ०३:५९:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच एक वर्षयता आपसी सहकार्य र अन्तरक्रिया बाक्लिँदै गएको छ । दुई पार्टीबीच भिडियो कन्फ्रेन्समार्फत शुक्रबार उच्चस्तरीय संवाद भएको छ । गत चैतदेखि जारी लकडाउनको बीचमा भएको यो दोस्रो ‘भर्चुअल’ अन्तरक्रिया हो ।

यसबीचमा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षीलाई टेलिफोन गरेका छन्, चिनियाँ विदेशमन्त्री वांग यीले नेपाली समकक्षी प्रदीप ज्ञवालीलाई दुईपटक टेलिफोन गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पनि दुवै पार्टीको विवाद साम्य बनाउने भूमिकाका लागि समेत बढेको चर्चा हुन थालेको छ । 

शुक्रबार आयोजित भिडियो अन्तरक्रियामा नेताहरूले दुई पार्टीबीच वैचारिक राजनीतिक सहकार्य थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९ वर्षको अवसरमा नेकपाको स्कुल विभागसित शुक्रबार संयुक्त अन्तरक्रिया भएको हो । गत ७ असोजमा ६बुँदे सहमतिमा हस्ताक्षर भएयता दुई कम्युनिस्ट पार्टीबीच विभिन्न तहमा सघन छलफल र भ्रमण हुँदै आएका छन् । दुवै पार्टी आपसी सम्बन्धलाई नयाँस्तरमा विकास गर्ने र एक–अर्काका अनुभव साटासाट गरेर अगाडि बढ्न सहमत भएका छन् । 

शुक्रबार बेइजिङबाट चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्पर्क विभाग प्रमुख सोंग ताओ र नेकपाबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक–अर्काे पार्टी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ‘भर्चुअल’ अन्तरक्रियामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, स्कुल विभाग प्रमुख पोखरेल र उपप्रमुख बेदुराम भुसालले सम्बोधन गरेका थिए । अन्तरक्रियामा प्रचण्डले दुई पार्टीबीचको परस्पर भ्रमण आदान–प्रदान र अन्तरक्रियालाई निरन्तरता दिइने, दुईपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दामा संयुक्त तालिम र सहकार्य गर्ने बताएका थिए । नेताहरूले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९ वर्षको शुभकामना दिएका थिए ।

स्वशासित क्षेत्र तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टी स्कुल कमिटीका उपाध्यक्ष प्रोफेसर सु वेनहुईले कम्युनिस्ट पार्टीको नेतृत्वमा तिब्बतमा भएको विकासक्रमबारे प्रस्तुतीकरण गरेका थिए । 

बैठकमा सहभागी नेकपाका नेता एवं सांसद रामनारायण बिडारीका अनुसार चिनियाँ नेता सोंगले दुई पार्टी र देशबीच सम्बन्ध थप उचाइमा लैजाने र आपसी सहकार्य थप सुदृढ हुने धारणा राखेका थिए । चिनियाँ नेता सोंगले कोभिड– १९ महामारीबारे पश्चिमा मुलुकले गरेको राजनीतीकरणको विरोध गर्दै यसविरुद्ध चीनले विश्वसँग सहकार्य गर्दै आएको बताएका थिए । 

उनले नेपालसँग सरकार र पार्टीस्तरमा सघन सम्बन्ध रहेको भन्दै दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा सहकार्य अझ बढ्ने वचन दिएको नेकपाका अर्का नेता कमल चौलागाईंले जानकारी दिए । चिनियाँ नेताले कोभिड– १९ विरुद्ध नेपालको प्रयासलाई चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले सकेको मद्दत गर्ने वचन दिएको चौलागाईंले जानकारी दिए । 

तिब्बतस्थित पार्टी स्कुल कमिटीका उपाध्यक्ष प्रोफेसर सुले नेपाल र चीनका ११ जोडी सहरबीच भगिनी सम्बन्ध रहेको, दुई देशबीच सातामा ६० वटा उडान सञ्चालनमा रहेको, व्यापार सहयोग सम्झौतामा दुई देशले हस्ताक्षर गरेको सन्दर्भ उल्लेख गर्दै सहकार्य बढ्दै गएको बताएका थिए । दुई देशबीच रणनीतिक साझेदारीमा आधारित सम्बन्ध थप सुदृढ हुने पनि उनको भनाइ थियो । 

तिब्बतमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा विकासको क्रान्ति भएको र त्यहाँका धेरै समस्या विकासबाट समाधान भएको पनि उनको भनाइ थियो । विशेषगरी परम्परागत गरिब तिब्बत र आधुनिक तिब्बतको तुलना गर्दै उनले तिब्बतको विकासमा राष्ट्रपति सी जिनपिङले निरन्तर चासो दिँदै आएको पनि बताए । 

नेकपा नेता चौलागाईंका अनुसार करिब तीन घन्टा चलेको भिडियो अन्तरक्रियामा नेकपाका एक सयजना सहभागी थिए । नेकपा अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक देव गुरुङ तथा चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र पाण्डेले दिएको शुभकामना पनि प्रस्तुत भएको चौलागाईंले बताए । 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिनिधिमण्डलबीच १७ वैशाखमा तीन घन्टा लामो छलफल भएको थियो । यसपटकको कार्यक्रमबारे विदेश विभागलाई जानकारी नभएको विभागका उपप्रमुख विष्णु रिजालले नयाँ पत्रिकालाई बताए । 

परराष्ट्रमन्त्री ज्ञवालीले बिहीबार पनि बिआरआईसम्बन्धी उच्चस्तरीय भिडियो सम्मेलनलाई सम्बोधन गरेका थिए जसको अध्यक्षता स्टेट काउन्सिलर वांग यीले गरेका थिए । गत वर्ष दुई कम्युनिस्ट पार्टीबीच ६बुँदे सम्झौता भएको १८ दिनपछि चीनका राष्ट्रपति सी जिनपिङले २५ र २६ असोजमा नेपालको राजकीय भ्रमण गरेका थिए । 

गत वर्ष ७ असोजमा नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी–पार्टी अनुभवमा आधारित सहयोग आदानप्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदानप्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी ६बुँदे समझदारी भएको थियो । त्यसवेला सी विचारधाराबारे अन्तरक्रियासमेत भएको थियो । नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई लिएर विपक्षीले वेलावेला प्रश्न उठाउँदै आएको छ । 

प्रचण्डले भने– सैन्य अभिप्रायको सहयोग अस्वीकार्य

नेपाली र चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता स्वीकार नगर्ने जनाउ दिए । उनले अमेरिकाको नाम नलिई सैन्य गठबन्धनमा जोडिने अभिप्रायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने बताए । ‘संविधानसँग बाझिनेगरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ प्रचण्डले भने, नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौँ ।’ एमसिसीलाई लिएर नेकपाभित्रै विवाद छ । 

प्रचण्डले भारतको पनि नाम लिएनन्, तर नेपालको विदेश नीति असंलग्नतामा आधारित रहेको दोहो¥याए । प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको बताए । प्रचण्डले थपे, ‘हामी कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ । तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ ।’ 

प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा चीनसित ताइवानको शान्तिपूर्ण एकीकरणमा पनि नेपालको समर्थन रहेको बताए । उनले भने, ‘हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपाल चीनलाई समर्थन गर्दछ ।’ ताइवानलाई नेपालले चीनको अभिन्न अंग मान्दै आएको छ । हङकङका सम्बन्धमा चीनको नेसनल पिपुल्स कंग्रेसले पछिल्लो समय पारित गरेको सुरक्षासम्बन्धी कानुनलाई नेपालले समर्थन गरेको थियो । 

नेपाल कम्युनिस्ट पार्टीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग साझा विकास तथा समृद्धि एवं शान्ति र हार्दिकताका सन्दर्भमा सहकार्य गर्न चाहेको पनि प्रचण्डले बताए । प्रचण्डले नेपाल ‘बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई)’को पक्ष भएकाले हिमालय सीमापार बृहत् सम्पर्क सञ्जालका कारण साझा विकास र समृद्धिको अवसर प्राप्त हुने बताए ।

भूकम्प तथा कोभिड– १९ को महामारीमा चीनले नेपाललाई निरन्तर सहयोग गरिरहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘सामान्य वा असामान्य अवस्थामा चीनको सहयोग नेपालका लागि अमूल्य छ । नेपाल र चीन सुख र दुःखका मित्र हुन् ।’ 

अर्को प्रसंगमा प्रचण्डले कोभिड– १९को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताए । उनले गत डिसेम्बरमा तय भएको आफ्नो भ्रमण प्रधानमन्त्री ओलीको स्वास्थ्य बिग्रेका कारण सम्भव नभएको, तर अब हुने पनि उल्लेख गरे । 

कार्यक्रममा नेकपा स्कुल विभाग प्रमुख एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड– १९ अघि र पछि नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले दुई पार्टीबीच सम्बन्ध थप सुदृढ हुने र कोभिड– १९ सकिएलगत्तै पूर्वनिर्धारित कार्यक्रम सुचारु हुने बताए । पोखरेलले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिनेसमेत वचन दिएका छन् ।