मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडौं
केदार दाहाल काठमाडौं
२०७७ असार ६ शनिबार ०४:००:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

निगमको भन्दा २० हजार बढी भाडा उठाउने गरी विदेशी एयरलाइन्सलाई उडान अनुमति

विदेशबाट ल्याइए श्रमिकका २४ शव

Read Time : > 3 मिनेट
मुना कुँवर, काठमाडौं
केदार दाहाल, काठमाडौं
२०७७ असार ६ शनिबार ०४:००:००

सर्वोच्च अदालतले विदेशमा अप्ठ्यारोमा परेका मजदुरलाई निःशुल्क उद्धार गर्न आदेश दिएको छ । तर, विदेशस्थित नेपाली दूतावासहरू भने उद्धारका नाममा श्रमिकसँग अस्वाभाविक भाडा उठाउने धन्दामा सक्रिय हुन थालेका छन् । युएईस्थित नेपाली दूतावासले अत्यधिक महँगो भाडामा नेपाली श्रमिकलाई पठाउने गरी विदेशी एयरलाइन्सलाई उडान अनुमति दिलाएको छ । 

नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सरकारले तोकिदिएको भाडा दोब्बरभन्दा बढी भएको भन्दै विरोध भएको थियो । तर, दूतावासले त्यसभन्दा पनि करिब १८ हजार रुपैयाँसम्म महँगो भाडा पर्ने गरी एयर अरेबिया र फ्लाई दुबईलाई अनुमति दिलाएको हो । यसमा परराष्ट्र मन्त्रालयको पनि भूमिका रहेको स्रोतले जनाएको छ । 

फ्लाई दुबईले एकजनाबाट ६३ हजार दुई सय १३ रुपैयाँ (एक हजार नौ सय दिराम) र एयर अरेबियाले ५७ हजार पाँच सय ५७ रुपैयाँ (एक हजार सात सय ३० दिराम) भाडा उठाइरहेको छ । जब कि नेपाल वायुसेवा निगमले प्रतियात्रु ४१ हजार तीन सय ८२ रुपैयाँ (तीन सय ७२ डलर) भाडा तोकेको छ । एयर अरेबियाले ४० र फ्लाई दुबईले २० भन्दा बढी उडान गर्ने तयारी गरेको छ । एयर अरेबियालाई आगामी सोमबार (२२ जुन)को उडान अनुमति दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाली एयरलाइन्सलाई तोकेकै भाडामा विदेशी एयरलाइन्सले पनि कामदार ल्याउनुपर्ने बताउँदै आएका छन् । तर, दूतावास र परराष्ट्र मन्त्रालयको दबाबमा नागरिक उड्डयन प्राधिकरणले महँगो भाडादरमै धमाधम विदेशी एयरलाइन्सलाई नेपाल उडानको अनुमति दिएको स्रोतले जनाएको छ । बुधबार र बिहीबार मात्रै हजारभन्दा बढी नेपालीलाई विभिन्न देशबाट उद्धार गरिएको छ । 

गत २३ जेठको उडानमा पनि दूतावास र एयरलाइन्सको मिलेमतोमा निःशुल्क भन्दै भाडा असुल गरिएको थियो । सुरुमा निःशुल्क उद्धार गरिने भन्दै सूची तयार गरेको दूतावासले उडान भर्ने समयमा रोजगारदाता कम्पनीलाई भाडा व्यहोर्न लगाएर एक सय ६८ जनालाई नेपाल पठाइएको थियो । जसले गर्दा काठमाडौंमा उद्धारको एउटा सूची लिएर बसेको सेना र विमानस्थल व्यवस्थापनमै समस्या भएको थियो । 

दूतवासले युएईबाट नेपाल उडान गर्ने चारवटै एयरलाइन्सको उडानतालिका र श्रमिकको नामावलीको सूची जारी गरेपछि एयर अरेबिया र फ्लाई दुबईले श्रमिकलाई फोन गर्न थालेका छन् । दूतावासले पनि श्रमिकहरूलाई एयर अरेबिया र फ्लाई दुबईको टिकट काट्न दबाब दिन थालेको गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष प्रकाश कोइरालाले बताए । दूतावासले भनेका एयरलाइन्सबाट यात्रा नगरे सूचीबाट नाम नै काटिने धम्की दूतावासका कर्मचारीले दिने गरेको उनले बताए । तर, युएईस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले उडानको विषयमा आपूmलाई केही जानकारी नभएको बताए । 

दुबई विमानस्थलबाट नेपाल फर्कने श्रमिकको आरडिटी परीक्षण निःशुुल्क छ । सारजहाँबाट फर्कने श्रमिकले भने आरडिटी परीक्षण गरेबापत पाँच सय दिराम थप भुक्तानी गर्नुपर्नेछ ।

दूतावासको दबाबमा आधा–आधा उडान 

सरकारले नेपाली एयलाइन्सलाई मात्रै उडान अनुमति दिने भन्दै भाडादर र उडानतालिका सार्वजनिक गरेको थियो । तर, दूतावासहरूले सुरुमा भाडा महँगो भन्दै सस्तोमा विदेशी एयरलाइन्सले उडान गर्ने भन्दै प्रचार गरे । जब नेपाली एयरलाइन्सको भाडा पाँच सय डलरबाट घटाएर तीन सय ७२ डलरमा झारिएपछि दूतावासहरूले नेपाली र विदेशी एयरलाइन्सलाई आधा–आधा उडान गर्न दिन माग गरेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।

आफ्ना एयरलाइन्सलाई अनुमति नदिए युएई सरकारले नेपाल एयरलाइन्सलाई पनि अनुमति नदिने खबर परराष्ट्र मन्त्रालयमार्फत पर्यटन मन्त्रालयमा पु¥याइएको थियो । त्यसपछि नेपाली र विदेशी एयरलाइन्सलाई आधा–आधा उडानको अनुमति दिइएको हो । तर, सरकारले तोकेभन्दा महँगो भाडादरमा उडान अनुमति दिइएको छ ।

अमेरिकाको चार्टर उडानमा पनि एजेन्टमार्फत कमिसन

अमेरिकाबाट हुने चार्टरमा टर्किस एयरलाइन्स र कतार एयरवेजले सीधै टिकेटिङ गर्न लाग्दा नेपाली दूतावासको दबाबमा सि–लिंक्स ट्राभल्स एन्ड टुर प्रालिलाई जिम्मा दिइएको छ । दुई एयरलाइन्सले दूतावासमार्फत एक यात्रुलाई एक हजार दुई सय डलरसम्ममा उडान भरेर सीधा चार्टर गर्ने प्रस्ताव गरेका थिए । तर, दूतावास र परराष्ट्र मन्त्रालयको मिलेमतोमा सि–लिंक्स ट्राभल्सलाई नियुक्त गरिएको छ । 

९ असारम न्युयोर्कबाट टर्किस एयरलाइन्स र वासिङटन डिसीबाट कतार एयरवेजले उडान भर्ने तयारी छ । जसमा टर्किस एयरलाइन्सको १५ सय ३७ डलर र कतार एयरवेजको १६ सय डलरमा टिकट काट्न सुरु गरिएको छ । स्रोतका अनुसार टर्किसले ११ सय र कतारले १२ सय डलरका टिकटमा सीधा उडानको प्रस्ताव गरेको थियो । तर, दूतावासकै मिलेमतोमा एजेन्ट राखेर टर्किसमा चार सय ३७ डलर र कतारमा चार सय डलर प्रतिटिकटमा बढाइएको हो । १३ असारमा सिकागोबाट टर्किस एयरलाइन्स र ड्यालसबाट कतार एयरवेजले उडान भर्दै छन् ।

विदेशबाट ल्याइए श्रमिकका २४ शव

वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकका २४ वटा शव नेपाल ल्याइएको छ । लकडाउनका कारण मध्यपूर्वका विभिन्न मुलुकमा रोकिएका शव शुक्रबार ल्याइएको हो । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार शुक्रबार ल्याइएका शवमा कतारबाट २० वटा, कुवेतबाट दुई, साउदी र युएईबाट एक–एक रहेका छन् । यसअघि युएई, ओमान र कुवेतबाट एक–एक शव नेपाल ल्याइएको बोर्डले जनाएको छ । 

बोर्डका अनुसार कपिलवस्तुको दोहनीका महमुद अलमान मुसलमान, सिराहाका रूपेशकुमार मण्डल, सर्लाहीको हरिवनका मुस्तक सैस, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा, मोरङका युवराज अधिकारीको शव ल्याइएको हो । 

त्यस्तै, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, भोजपुरका मीनबहादुर थापा र मंगलबहादुर तामाङ, सुर्खेतका नीरबहादुर कामी, बर्दियाका सुकराम थारू, सर्लाहीका अरुणकुमार पंजियार, महोत्तरीका शिवशंकर राउत, रूपन्देहीका यामबहादुर थापा, सर्लाहीका कसिन्द्र यादव, धनुषाका छुत्रवा मण्डल, सर्लाहीका मनोज पासवान, मकवानपुरका जितेन्द्र थापा मगर, सिराहाका कासिदेव यादव र महोत्तरीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले ल्याइदिएको हो । बोर्डका अनुसार २० शवमध्ये सातवटा शव विमानस्थलबाट परिवारले बुझ्ने र बाँकी १३ वटा बोर्डले घरसम्म पुराइदिनेछ । 

विभिन्न कारणले मृत्यु भएका नेपाली श्रमिकका दुई सय ३८ वटा शव लकडाउनले गर्दा विदेशमै रोकिएका थिए । जसमा महिलाका १२ र पुरुषका दुई सय २६ वटा शव छन् । त्यसमध्ये ८५ वटा शव सम्बन्धित मुलुकमा नै अन्त्येष्टिका लागि अनुमति दिइएको थियो भने एक सय ५३ वटा शव बाँकी रहेको बोर्डले जनाएको छ । 

यो अवधिमा साउदीमा सबैभन्दा बढी ५८ वटा शव रोकिएका थिए । त्यस्तै, युएईमा ५५, मलेसियामा ५२, कतारमा ३७, कुवेतमा ११, बहराइनमा सात, ओमान एक, दक्षिण कोरिया पाँच र अन्य मुलुकमा १२ वटा शव रहेका छन् । यसमध्ये २३ जनाको कोरोना भाइरसले मृत्यु भएको बोर्डले जनाएको छ ।