१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार ५ शुक्रबार १७:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त कार्यशालामा प्रचण्डले भने– सैन्य गठबन्धनमा जोडिने विदेशी सहयोग अस्वीकार्य

Read Time : > 1 मिनेट
२०७७ असार ५ शुक्रबार १७:३४:००

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सैन्य गठबन्धनमा जोडिने अप्रियायको कुनै पनि विदेशी सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता स्वीकार गर्ने कि नगर्ने भन्नेमा राजनीतिक वृत्त ध्रुवीकृत भएका वेला प्रचण्डले यस्तो संकेत दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शुक्रबार भएको संयुक्त कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो सहयोग स्वीकार्य नहुने बताए पनि अमेरिकाको नाम भने लिएनन् । ‘संविधानसँग बाझिने गरी तथा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा संलग्न हुने अर्थ दिने सहयोग नेपाललाई कुनै पनि हालतमा स्वीकार्य छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘नेपाल असंलग्न विदेश नीतिमा प्रतिबद्ध छ । नेपालको सार्वभौम स्वतन्त्रता, असंलग्न नीतिलाई समर्थन गर्ने मित्रराष्ट्रहरूको सहयोगको मात्रै हामी स्वागत गर्छौँ ।’

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूलाई भिडियो कन्फ्रेसमा सम्बोधन गर्दै प्रचण्डले सरकार र नेकपाको विदेश नीति संविधानले निर्देश गरेअनुसार असंलग्नतामा आधारित रहेको बताए । प्रचण्डले भारतसँगको सीमा विवादबारे संकेत गर्दै द्विपक्षीय विषयहरू संवादबाट समाधान गर्न नेपालले चाहेको स्पष्ट पारेका छन् । प्रचण्डको भनाइ छ, ‘हामी कुनै पनि मित्रराष्ट्रहरूसँगका द्विपक्षीय विषय वार्ता र संवादबाट समाधान गर्न चाहन्छौँ । तर, सार्वभौम समानता, आपसी सम्मान र समझदारीको जगमा टेकेर मात्रै वार्ता र संवाद हुन्छ ।’

अध्यक्ष प्रचण्डले भौगोलिक आकार, जनसंख्या र विकासको चरणका सन्दर्भमा एकरूपता नभए पनि नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको चर्चा गरेका छन् । उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको तथा चीनसित ताइवानको शान्तिपूर्ण एकीकरणमा नेपालको समर्थन रहेको पनि बताए । प्रचण्डले भने, ‘हङकङ, तिब्बत, सिन्जियाङ मामिलामा नेपाल चीनलाई समर्थन गर्दछ ।’

नेपाल कम्युनिस्ट पार्टीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीसँग साझा विकास तथा समृद्धि एवं शान्ति र हार्दिकताका सन्दर्भमा सहकार्य गर्न चाहेको पनि प्रचण्डले बताए । उनले बिआरआई नेपालजस्ता विकासशील मुलुकहरूको विकासका लागि अवसर भएको पनि उल्लेख गरे ।

भूकम्प तथा कोभिड– १९ को महामारीमा चीनले नेपाललाई निरन्तर सहयोग गरिरहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘सामान्य वा असामान्य अवस्थामा चीनको सहयोग नेपालका लागि अमूल्य छ । नेपाल र चीन सुख र दुःखका मित्र हुन् ।’ 

कोरोना भाइरसबारे अमेरिकासहित पश्चिमा जगतले चीनको आलोचना गरिरहेका वेला प्रचण्डले यसलाई राजनीतीकरण गर्नु नहुने बताए । भाइरसको राजनीतीकरणका पक्षमा नेपाल नरहेको स्पष्ट पारेका छन् । प्रचण्डले भने, ‘भाइरसको राष्ट्रियता, जात, सीमा, राजनीतिक प्रणाली केही हुँदैन । केही देश र मिडियाले भाइरसको राजनीतीकरण गरिरहेका छन् । तर, विश्वले एकीकृत आवाज र पहलकदमी चाहेको छ ।’ 

अर्को प्रसंगमा प्रचण्डले कोभिड– १९ को महामारी सकिएलगत्तै आफू चीन भ्रमणमा जाने पनि बताए । उनले गत डिसेम्बरमा तय भएको आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रेका कारण सम्भव नभएको, तर अब हुने पनि उल्लेख गरे । 

कार्यक्रममा नेकपा स्कुल विभाग प्रमुख एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड– १९ अघि र पछि नेपाललाई चीन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे । उनले दुई पार्टीबीच सम्बन्ध थप सुदृढ हुने र कोभिड– १९ सकिएलगत्तै पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुने बताए । पोखरेलले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिनेसमेत वचन दिएका छन् ।