मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ५ शुक्रबार १२:५४:००
Read Time : > 1 मिनेट
समाचार

चिनियाँ कम्युनिस्ट पार्टीसँगको अन्तर्क्रियामा नेकपाको विदेश विभाग ‘बाइपास’, स्कुल विभागको नेतृत्व

Read Time : > 1 मिनेट
२०७७ असार ५ शुक्रबार १२:५४:००

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)सँगको आज शुक्रबार हुने भर्चुअल अन्तर्क्रियामा नेकपाको विदेश विभाग बाइपासमा परेको छ । 

अन्तर्क्रियामा विदेश विभागलाई बाइपास  गरिएको भन्दै विभाग सम्बद्ध नेकपाका नेताहरू असन्तुष्ट बनेका छन् ।

पार्टी विधानअनुसार अन्तर्राष्ट्रिय समन्वयहरू विदेश विभागले गर्नुपर्नेमा संस्थागत विधि र प्रक्रिया मिचेर स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँग भर्चुअल अन्तर्क्रिया गर्न लागेको भन्दै विभागसम्बद्ध नेताहरू असन्तुष्ट बनेका हुन् । 

नेकपाको विदेश विभाग प्रमुख वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुन् । 

तर, आज दिउँसो हुने चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागसँगको भर्चुअल अन्तर्क्रियाको नेतृत्व भने स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले गर्दै छन् । 

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९औँ वर्ष पूरा भएको अवसरमा शुभकामना आदान–प्रदान र भर्चुअल अन्तर्क्रिया हुँदै छ । 

विदेश विभागका उपप्रमुख राम कार्कीले पार्टीमा विधि र प्रक्रियाबाट भन्दा पनि व्यक्ति र निकटता हेरेर कार्यक्रमको संयोजन गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए । 

‘आजको कार्यक्रमबारे विदेश विभागलाई औपचारिक जानकारी छैन, हाफाजार्ड अवस्था छ । को कताबाट नजिक हुन्छ, त्यसको आधारमा गरिन्छ,’ कार्कीले नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने, ‘पहिले पनि अन्तर्राष्ट्रिय विभागमार्फत नगराएर स्कुलिङ विभागमार्फत अन्तर्राष्ट्रिय गोष्ठी गराइयो ।’ 

यस्तो कामले अनिश्चयको स्थिति देखापर्ने उनले बताए ।

विभागका अर्का उपप्रमुख विष्णु रिजालले पार्टी विधानअनुसार अन्तर्राष्ट्रिय समन्वय र अन्तर्क्रियाहरू विदेश विभागकै जिम्मेवारी भए पनि स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागसँग गर्न लागेको अन्तर्क्रियाबारे कुनै जानकारी नभएको बताए । 

‘चिनियाँहरूले अन्तर्राष्ट्रिय समन्वयहरू अन्तर्राष्ट्रिय विभागमार्फत नै गर्छन्, उनीहरूले आफ्नो स्ट्यान्डर्ड पनि मेन्टेन गर्छन्,’ रिजालले भने, ‘तर, हाम्रो पार्टीको विधानमा अन्तर्राष्ट्रिय समन्वय र अन्तर्क्रियाहरू विदेश विभागले नै गर्ने उल्लेख भए पनि आज स्कुल विभागले गर्दै छ भन्ने सुनिएको मात्र हो, कसरी हुँदै छ केही पनि जानकारी छैन ।’

गत वर्ष चिनियाँ कम्युनिस्ट पार्टीसँगको ६बुँदे सम्झौता र पछिल्लो वैशाखमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागसँगको अन्तर्क्रियाको नेतृत्व भने नेकपाका विदेश विभाग प्रमुख नेपालले नै गरेका थिए ।

नेकपाका स्थायी समिति सदस्य तथा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको ९९ वर्ष पूरा भएको सन्दर्भमा भर्चुअल अन्तर्क्रियामा शुभकामना आदान–प्रदान तथा दुई देशको पार्टी सञ्चालन अनुभव आदान–प्रदान हुने जानकारी दिए । 

त्यस्तै यस अन्तर्क्रियामा तिब्बतको विकासबारे एक झलक भिडियो प्रस्तुति देखाइनेछ । 
कार्यक्रम करिब डेढदेखि दुई घन्टासम्म चल्ने बताइएको छ । 

नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट भर्चुअल बैठकको उद्घाटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना मन्तव्य दिनेछन् । 

त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभागका प्रमुख सङ ताओ तथा तिब्बत स्वशासित क्षेत्र कम्युनिस्ट पार्टीका सचिव र नेकपा स्कुल विभागका प्रमुख ईश्वर पोखरेलले मन्तव्य राख्नेछन् ।