मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार ५ शुक्रबार ११:३०:००
Read Time : > 1 मिनेट
अर्थ

भीमदत्त नगरको बजेट एक अर्ब ४६ करोड

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार ५ शुक्रबार ११:३०:००

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ४६ करोडकाे बजेट ल्याएको  छ ।  बिहीबारदेखि सुरु भएको भीमदत्तको सातौैँ नगरसभामा उपप्रमुख सुशीला चन्द सिंहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष ०७७/७८ का लागि एक अर्ब ४६ करोड २३ लाख ७५ हजार  आठ सय ८६ रुपैयाँबराबरको बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेट सर्वसम्मतिले पारित गरेको छ । 

चालू आर्थिक वर्ष ०७६/७७ को तुलनामा आगामी वर्ष भीमदत्त नगरपालिकाले २३  करोड बढी बजेट ल्याएको छ । चालू वर्षमा  एक अर्ब २३ करोडबराबर बजेट ल्याएको थियो ।

कोरोना महामारीलाई मध्यनजर गरी स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट बनाइएको छ । पुराना कार्यक्रमलाई निरन्तरता दिँदै कोरोनातर्फ जोड दिएर नयाँ कार्यक्रम ल्याइएको छ । 

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरी आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गरिएको बताए । बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माणलगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् । भीमदत्त नगरका प्रवक्ता हिमाल चन्दले कोरोना महामारीसँग जुध्नेसहित अघिल्ला वर्षमा छनाेट भएका योजना पूरा गर्ने र केही नयाँ कार्यक्रमसमेत ल्याएको बताए । उनका अनुसार कोरोना कारण भारतबाट फर्किएका नेपाली नागरिकलाई रोजगारी एवं कोरोना रोकथामका लागि नयाँ कार्यक्रम ल्याइएको बताए । 

उनका अनुसार यातायात, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, वन वातावरण, संस्कृति पर्यटन विकास, खेलकुद, उद्योग, सूचना, वित्तीय, सुशासन, स्थानीय मेलमिलाप क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताए । 

चालू वर्षकै नगरपालिकाले अघि सारेको ‘कञ्चनपुर मल’ निर्माण, नगर बस सञ्चालनका लागि बाह्य चक्रपथ (रिङरोड), योग शिक्षालाई पाठ्यक्रममा समावेश गरिने, नगर क्षेत्रका उत्कृष्ट प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, एक वडा एक स्वास्थ्य इकाइ विकास गर्ने, ‘एक वडा एक उत्पादन, ‘एक घर दुई फलफूल बिरुवा’, पर्यटन प्रवर्द्धनका लागि पर्यटन महोत्सव मनाइने, एकीकृत व्यापारिक केन्द्र स्थापना, ‘एक सहकारी एक वस्तु उत्पादन’, सहिद भीमदत्त पन्त स्मृति उद्यान क्षेत्रमा फ्री वाइफाई, ई–लाइब्रेरी स्थापना, हाम्रो नगर हाम्रो पहिचान कार्यक्रम, हाम्रो नगर हाम्रै कर, मुस्कानसहितको जनमैत्री सेवा र स्थानीय मेलमिलापका कार्यक्रम सञ्चालन गरिनेछन् ।

यस्तै, भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पूर्वाधारको विकास नै नगरका लागि पहिलो विकासको खुड्किलो भएको निष्कर्ष निकाल्दै लक्षित कार्यक्रम, कृषि, शिक्षा, स्वास्थ्य, पशु विकास, खेलकुद, खानेपानी, सडक, वातावरण संरक्षण, सरसफाइ, विद्युत् विस्तार, घरेलु उद्यमसम्बन्धी तालिम तथा महिला विकास क्षेत्रलाई उच्च प्राथमिकतामा दिँदै निरन्तरतामा जोड दिएको छ । 

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना तय गरी कार्यान्वयन गर्ने मुख्य लक्ष्य लिएको छ । नगरका विकासका योजना निजी, साझेदारी सरकारी, गैरसरकारी र नागरिक समाजका माध्यमबाट सम्पन्न गर्ने नीति लिएको छ । ‘आफ्नो नगर आफैँ बनाऔँ’, क्लिन ग्रिन सिटी, ‘युवाहरूको हात भीमदत्तको साथ’, ‘भीमदत्त रोजगार कार्यक्रम’, ‘एक वडा एक खेल’, ‘एक वडा एक चिल्ड्रेन पार्क’ निर्माण र पूर्वाधारलाई दिगोपन र कम खर्चिलो बनाउने नीति लिएको छ ।

‘एक वडा एक उत्पादन पकेट क्षेत्र, हाट बजार निर्माण, भ्युटावर निर्माण, ‘भीमदत्त छात्रवृति कोष’, सुनौलो हजार दिन कार्यक्रम प्रभावकारी बनाइने, संस्कृत भाषा साहित्य परिषद् गठन, नगर यातायात गुरुयोजना निर्माण, जलाशय संरक्षण, ‘मेरो सहर म आफैँ सफा गर्छु’ संस्थागत सुशासन प्रभावकारी बनाइने नयाँ नीति तथा कार्यक्रम अघि सारिएका छन् ।