Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
टिफानी ड्रेटन
२०७७ असार ५ शुक्रबार ०८:०७:००
दृष्टिकोण

नश्लवादका कारण अमेरिका छाड्नेको कथा

टिफानी ड्रेटन
२०७७ असार ५ शुक्रबार ०८:०७:००

जर्ज फ्लोयडको हत्याको भिडियो पहिलोपटक मैले फेसबुकमा हेरेको थिएँ । त्यही समय चिया बोकेर आएकी मेरी आमाले उनको पूर्वकार्यस्थलको खबर सुनाउँदै भनिन्, ‘अस्पतालको मैले काम गर्ने एकाइलाई पनि कोभिड एकाइमा बदलेछन् ।’ तर, त्यहाँका कर्मचारीले भने सबैलाई पुग्ने पिपिई नभएको गुनासो गरिरहेको उनले बताइन् । उनी कोरोना महमारी सुरु हुनुभन्दा केहीअघि न्युजर्सीको अस्पतालको काम छाडेर मकहाँ बस्न आएकी हुन् । मकहाँ नसरेको भए अहिले उनी अश्वेत र उनीजस्तै स्वास्थ्यकर्मीको असमान रूपले ज्यान लिइरहेको रोगविरुद्धको युद्धको अग्रमोर्चामा हुन्थिन् । अमेरिका छाड्ने हाम्रो निर्णयले हामीलाई यस्ता धेरै दुःख र खतराबाट जोगाएको छ ।

सन् २०१३ मा सत्रवर्षे ट्रेभोन मार्टिनलाई उनकै घरछेउ चोर ठानेर हत्या गर्ने प्रहरी जर्ज जिमरम्यानलाई निर्दोष भएको निर्णय सुनाएपछि मैले अमेरिका छाड्ने सोच बनाएँ । हुन त त्यो घटनाले गर्दा मात्र होइन, अश्वेत महिलाको रूपमा मैले पाइला-पाइलामा सहनुपरेको नश्लवादी व्यवहारले अब सहन नसकिने सोचमा पुर्‍याएको थियो । त्यसपछि मैले आफ्ना सामान प्याक गरेँ र ट्रिनिडाड टापुमा बसोवास गर्ने दिदीकहाँ म सरेँ । दिदी केही महिनाअघि मात्र त्यहाँ सरेकी थिइन् । अमेरिकामा राम्रो जागिर र घर हासिल गर्न नसकेकी दिदीले त्यहाँ एक मन्त्रालयमा जागिर र दुई बेडरुमको अपार्टमेन्टको व्यवस्था गरिसकेकी थिइन् । मलाई पनि त्यहाँ बानी पार्न गाह्रो भएन ।

म ट्रिनिडाड सरेपछि अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन चल्यो । टाढा रहे पनि मैले अमेरिकामा अश्वेतहरूले सयौँ वर्षदेखिको मागअनुरूपको न्याय पाऊन् भन्ने कामना गरेँ । तर, श्वेत अमेरिकीहरूले ‘ब्ल्याक लाइभ्स म्याटर’को प्रतिरोधमा ‘अल लाइभ्स म्याटर’ र ‘ब्लु लाइभ्स म्याटर’जस्ता नारा अघि सारे । केहीले सामाजिक न्यायका पक्षधरलाई ‘नश्लीय युद्ध’ उचालेको भन्ने आरोप लगाए । त्यसपछि म अमेरिकामा अश्वेत नागरिकहरूले सधैँ समानताको लडाइँ लडिरहनुपर्नेछ भन्ने निष्कर्षमा पुगेँ । 

समाचारमा आउने अश्वेतको हत्याको तस्बिरले मलाई आफू पलायन भएको कारण बिर्सिन दिँदैनन् । तुलनात्मक रूपमा सुरक्षित ठाउँमा रहेर यी समाचार पढ्दा मलाई अपराधबोध हुन्छ ।

अमेरिकासँग जोडिएका मेरा अनुभव सबै नराम्रा छैनन् । बाल्यकालको अमेरिकी सम्झना रमाइलो छ । ‘९० को दशकमा म चार वर्षको हुँदा मेरी आमा ट्रिनिडाड एन्ड टोबागोबाट अमेरिका गएकी थिइन् । एकल महिला मेरी आमाले मसँगै अन्य दुई सन्तानलाई अमेरिकामा एक्लै हुर्काइन् । अमेरिकामा हाम्रो पहिलो बसोवास न्युयोर्क सहरबाहिरको विविधतापूर्ण बस्तीमा भयो । बस्तीमा मुख्यतः हिस्प्यानिक बस्थे । तर, त्यहाँ श्वेत र अश्वेतहरूको पनि उलेख्य बसोवास थियो । मेरो परिवारको बस्तीका मानिससँग सजिलै घुलमिल भयो । स्कुलमा मैले अमेरिकालाई आफ्नो देश मान्न सिकेँ । म जान्ने विद्यार्थीमा गनिने भएकाले मलाई शिक्षकहरू मन पराउँथे । 

म साथीहरूसँग सहरका गल्ली-गल्ली घुम्थेँ । बाल्यकालको यो सुन्दर अमेरिकी स्मरण ठूलो हँुदै गर्दाको अश्वेत–विरोधी वातावरणले बिगार्दै गयो । सुरक्षा, स्थायित्व र घरबारको पहुँचको खोजले सबैभन्दा ठूलो धब्बा पुर्‍यायो । न्युजर्सी सहर मन पर्दापर्दै पनि जीवनयापन महँगिँदै गएपछि मेरो परिवार ओरलान्डो सर्‍यो । दुई वर्ष मैले त्यहाँको विद्यालयमा पढेँ । राम्रो विद्यार्थी भएकाले म राम्रो विद्यालयमा पढ्थेँ, जहाँ विद्यालयदेखि खेलकुद क्लबसम्म अधिकांश गोरा विद्यार्थी हुन्थे । 

त्यसवेला १४ वर्षकी भए पनि मैले अमेरिकी विद्यालय प्रणालीसँग जोडिएका केही पहिचान थाहा पाएँ । धेरै अश्वेत रहेका विद्यालय ‘खराब’का रूपमा कहलिन्थे र मुख्यतः गोरा विद्यार्थी पढ्ने विद्यालय ‘राम्रा’ थिए । ‘राम्रो’ विद्यालयमा मेरो धेरै समय बितेन । हाम्रो बसोवासको भाडा बढेपछि हामी फेरि सर्नुपर्ने भयो । म कलेजमा पुग्ने वेलासम्म भाडाको घर सर्दासर्दा वाक्क भएर मेरी आमाले न्युजर्सीमा सस्तो घर किनिन् । खासमा उनले मेरो न्युयोर्क सहरमा पढ्ने सपना पूरा गराउन पनि त्यहाँ घर किनेकी थिइन् । 

नयाँ बसोवास क्षेत्रको मेरो स्मरण निकै भयानक छ, जुन संरचनागत नश्लवाद रहेछ भन्ने म अहिले बुझ्दै छु । प्रहरी अधिकारी रातारात कुनै घरभित्र पसी छापा मारेर मानिस पक्रिन्थे । गरिबी त्यस क्षेत्रको आम दृश्य थियो । व्यवसायी पनि त्यति राम्रो अवस्थामा थिएनन् । प्रत्येक गल्लीको अन्त्यमा प्रहरीको भ्यान हुन्थ्यो । 

त्यो समय मेरो दिमागमा एउटा प्रश्न बारम्बार आउँथ्यो– ‘अमेरिकामा अश्वेत मानिसले सुखद जीवन बाँच्न किन यति कठिन छ ?’ जवाफका लागि मैले इतिहासका पुस्तक पढेँ । तर, त्यहाँ अश्वेतहरूका पीडा, मृत्यु र दमन मात्र थियो ।

दासता, लिन्चिङ, जिम क्रो, अलग विद्यालयको व्यवस्था, व्यवसायमा अवरोध पु¥याउने रेडलाइनिङ, ड्रग्स युद्ध, आम काराबास आदि आदि । हरेकपटक अश्वेत समुदायको देखिन सफलताको घटनापछि प्रतिरोधी अभियान उठ्थ्यो, जुन बाराक ओबामाको चुनावपछि ह्वाइट सुप्रेमेसिस्टको उदयमा पुनः देखियो । अन्यायपूर्ण बैंकिङ अभ्यासले अश्वेतहरूलाई कैयौँ स्थानमा घर किन्नबाट रोकिराखेको छ । अमेरिकाले धेरै अश्वेत मानिसलाई सुरक्षा, स्वतन्त्रता र मानवीय सम्मानजस्ता आधारभूत कुराबाट पनि विमुख पा¥यो । त्यसैले मैले अमेरिका छाड्ने निर्णय गरेँ ।

दोहोरो नागरिकताको सुविधाका कारण मैले ट्रिनिडाड एन्ड टोबागोमा शरण लिने निर्णय गरेँ । यहाँ सरेपछि मेरो जीवन रंगीन तथा रमाइलो बनेको छ । म खुला सडकमा हुने कार्निभलमा ढुक्कसँग सहभागी हुन सक्छु । म आफ्ना दुई बालबालिका लिएर जता पनि हिँड्न सक्छु । तर, पटक–पटक समाचारमा आउने अश्वेतको हत्याको तस्बिरले मलाई आफू पलायन भएको कारण बिर्सिन दिँदैनन् ।

तुलनात्मक रूपमा सुरक्षित ठाउँमा रहेर यी समाचार पढ्दा मलाई अपराधबोध हुन्छ । जर्ज फ्लोयडको हत्यापछि प्रदर्शन सुरु हुनासाथ मैले सामाजिक सञ्जालमा अश्वेतहरूलाई बाहिर निस्किएर दुव्र्यवहार, पक्राउ वा संक्रमणको जोखिममा पर्नुभन्दा घरभित्रै बस्न आग्रह गरँे । तर पनि धेरै प्रदर्शनमा सहभागी भइरहेका छन् । प्रदर्शनमा सहभागी हुन गएका एकजना मित्रको खबर नआएपछि मैले प्रदर्शनकारीमाथि आक्रमण भएको भिडियो हेर्नुपरेको थियो । 

संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा अथवा राज्य–कारबाहीको जोखिमका कारण घर छाडेर भागेका व्यक्तिहरूलाई शरणार्थी भन्छ । मेरी आमा र म शरणार्थीको यो औपचारिक परिभाषाभित्र त पर्दैनौँ, तर रोग, हिंसा, आक्रोशबाट गुज्रिरहेको एउटा देशलाई हेर्दा त्यहाँ फर्किनेबारे सोच्न पनि सक्दिनँ । म अमेरिकामा बसोवास गर्ने र त्यहाँको सबै सहने अश्वेतहरूको क्षमताको प्रशंसा गर्छु, म आशा र प्रार्थना गर्छु, एक दिन ती सबैले स्वतन्त्रता पाऊन् ।

(टिफानी ड्रेटन लेखिका हुन् ।)

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य