मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मिलन पाण्डे काठमाडाैं
२०७७ असार ५ शुक्रबार १०:५२:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

‘इनफ इज इनफ’

नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउन ‘इनफ इज इनफ’जस्ता अभियानको ठूलो भूमिका हुन्छ 

Read Time : > 6 मिनेट
मिलन पाण्डे, काठमाडाैं
२०७७ असार ५ शुक्रबार १०:५२:००

उत्पीडनको ज्वालामुखी कुन बेला फुट्छ, थाहा हुँदैन । सन् २०१० को अन्त्यमा ट्युनिसियाका सडक व्यापारी मोहम्मद बोउआजिजीलाई प्रहरीले पक्राउ गर्‍यो । आठजनाको परिवारको जिम्मेवारी बोकेका बोउआजिजीले प्रशासनबाट न्याय पाएनन् । त्यसपछि उनले गभर्नरको कार्यालयअगाडि आत्मदाह गरे । यी २६ वर्षे युवाको विद्रोहसँगै ट्युनिसियामा आन्दोलन सुरु भयो, जसले २३ वर्षदेखि निरंकुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन विन अलीलाई सत्ताच्यूत मात्र गरेन, उनी ज्यान जोगाउन साउदी अरब भाग्नुपर्‍यो । यो अभियानले छिमेकी देशमा समेत ठूलो आन्दोलनको लहर ल्यायो, जसलाई अरब वसन्त भनिन्छ ।

अहिले कोभिड–१९ कै वेलामा पनि संसारका दर्जनौँ देशमा अभियान उठिरहेका छन् । रंगभेदविरुद्धको अभियानले अमेरिका तातेकै छ भने अन्य देशमा कोरोनाले पारेको प्रभावले गर्दा तथा सरकारको अक्षमताबारे आन्दोलन छेडिएका छन् । अहिले नेपालमा पनि स्वन्तन्त्र युवा सडकमा उत्रिएका छन् । सरकारको कामलाई प्रश्न गर्दै उठेका यी अभियान र अरब वसन्तमा दुइटा कुरा समान छन्– युवा र सामाजिक सञ्जाल ।

किन आए युवा सडकमा ? : विगत दुई महिनामा सरकारले ‘वेला–वेलामा साबुनपानीले हात धुनू’ भन्ने रिंगटोन तथा सन्देश बजाउनेबाहेक उल्लेख्य काम केही गरेन । सरकारले काम गरेन, यस मानेमा कि, भएका केही काम यदि सरकार वा यी मन्त्री नभएका भए पनि आफैँ हुन्थे । बरु, यहीबीच स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको कुरा आयो । अध्यादेश ल्याएर पार्टी फुटाउने खेल हुँदा आमनागरिकले मजाक गरेको महसुस गरे । १० अर्ब खर्चको हिसाब माग्दै गर्दा, १० रुपैयाँको मास्क ५२ रुपैयाँमा किनेको समाचार पढ्नुपर्‍यो । ८५ दिनसम्म लकडाउन हुँदा पनि सरकारसँग कुनै नीति तथा तयारी छैन । मरेको १० दिनपछि कोरोना पुष्टिको रिपोर्ट आउँछ । धादिङका सूर्यबहादुर तामाङ कीर्तिपुरको सडकपेटीमा नाम्लो सिरानी हालेको अवस्थामा मृत भेटिन्छन् । अनि प्रधानमन्त्री र उनका आसेपासे ‘अब कसैले आँसु झार्नु पर्दैन’ भन्ने कविता प्रचार गरेर बस्छन् । गोठमा बनाइएको क्वारेन्टाइनमा नागरिकलाई ‘कसम’ खुवाएर घर पठाइन्छ । त्यहीँ हाम्रा दिदीबहिनी बलात्कृत हुन्छन् । यसैबीचमा नेताहरू जब कार्पेट फेर्न र जिमखाना बनाउन तल्लीन देखिन्छन्, तब एउटा युवा सडकमा नआए कहाँ जाने ?

यी सब हुँदा पनि जब मन्त्रीहरू र प्रधानमन्त्रीले जमिनदार पारामा नागरिकलाई हेप्न खोजे, ‘अदुवा, बेसार तथा लसुन खाएका नेपालीको रोग–प्रतिरोधात्मक क्षमता धेरै हुन्छ’ वा ‘कोरोनाबाट मरेको होइन, अन्य कारणले हो’ भन्ने तर्क गर्न थाले तथा यस्तै कुतर्कमा सांसदले टेबल ठोक्न थाले, तब युवा चुप बस्न सकेनन् । त्यसपछि ‘इनफ इज इनफ’ भनेर सडकमा निस्किए । नागरिकलाई कोरोनाभन्दा आफ्नै नेतृत्वको अक्षमताबाट बढी डर लाग्न थालिसकेको छ । सरकार नागरिकलाई भन्दा ओम्नीजस्तालाई खुसी बनाउन तल्लीन देखिएको थियो । त्यसकै विरोधमा युवा सडकमा आए । सामाजिक दूरीसहित बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन हुँदै थियो । सरकारलाई आफ्नो दम्भ देखाउनु थियो र उसले ती युवामाथि लाठी बर्सायो, पानीको फोहोरा हान्यो । त्यहाँबाट सरकारले युवालाई भड्कायो । सामाजिक दूरी कायम राखिरहेका युवाको दूरी तोडियो र सामाजिक दूरीसँगै सरकारप्रतिको विश्वासको त्यान्द्रो पनि तोडियो ।

सरकारले सही कार्यसम्पादन गरोस् भन्ने मागलाई पहिलो चरणको मागका रूपमा बुझ्न जरुरी छ । भोलि यी मागमा सरकार गम्भीर नदेखिए यसले नीतिगत अनि संरचनागत माग राख्नेछ, जसले राज्यको नीतिसँगै नेतृत्व परिवर्तनसमेत गर्नेछ ।
 

यो अभियान कुनै दलको आह्वानमा भएको थिएन । स्वतन्त्र नागरिकमा विश्वास नराख्ने, झोले कार्यकर्तालाई नै जनता ठान्ने नेताले यो अभियानलाई बुझ्न सकेका छैनन् । यो आन्दोलन स्वतःस्फूर्त रूपमा उठेको आन्दोलन हो । यो अभियानको माग सरकार गिराउने होइन, सरकारको व्यवहारप्रतिको प्रश्न हो । आन्दोलनको माग सहज छ– पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने, कालकोठरी बनेका क्वारेन्टाइन सुधार गर्नुपर्ने, स्वास्थ्यकर्मीलाई पिपिई र बिरामीलाई भेन्टिलेटर उपलब्ध गराउनुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको १० अर्बको वस्तुगत र पारदर्शी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने । 

उठेका प्रश्न : अभियानबारे केही प्रश्न उठेका छन् । पहिलो प्रश्न, यो अभियान कसैबाट सञ्चालित छ कि भन्ने, जुन भ्रम हो । मासुभात खुवाएर, सवारीसाधनमा पेट्रोल हालिदिएर नागरिक भेला पार्ने संस्कारबाट हुर्केका नेताका लागि यसरी स्वतःस्फूर्त नागरिक सडकमा उत्रिँदा विश्वास नलाग्नु अनौठो होइन । हुन त हिजोका दिनमा पनि आफूले गरेको अभियान अरू कहीँबाट सञ्चालित हुने गरेको अनुभवले पनि युवाको आन्दोलनलाई परिचालित देख्नु स्वाभाविक नै हो । वास्तवमा यो सत्ताको दृष्टिदोष हो । आफ्नो देशका युवामा विश्वास गर्न नसक्नु हाम्रा नेताको निकै ठूलो कमजोरी हो ।

दोस्रो प्रश्न नारामा उठेका छन् । अभियानमा केही पृथक् नारा पनि देखिए । यी नारामा हास्यचेत प्रदर्शन भएको थियो । ‘म त हेर्न मात्र आएको’ प्लेकार्डले धेरैको ध्यान खिचेको थियो । यस्ता नारामा युवावर्गले बोल्ने भाषा झल्केको थियो, जुन पुरानो पुस्ताका नेताले नबुझ्दा अतिरञ्जना लाग्यो । एकजना अभियन्ताको स्ट्याटसमा कमेन्ट आयो, ‘के पाइस नेपाली ? केरा !’ यो कस्तो नारा हो ? ती अभियन्ताले उत्तर फर्काइन्, ‘कति नेपालीले त यो लकडाउनमा त्यही केरा पनि खान पाएका छैनन्’ यो उत्तरले प्रश्नभन्दा ठूलो प्रश्न खडा गरेको थियो । यो पुस्ताका नेता नवीन छन्, कलात्मक छन् । यसलाई हेर्ने दृष्टिकोण सेवानिवृत्त उमेर हुन लागेको पुस्ताले आफ्नो पुस्ताको चस्मा लगाएर होइन, छोराछोरीको पुस्ताको चस्मा लगाएर हेर्न जरुरी छ । हामी मुद्दामा बाहेक सबै विषयमा बहस गर्छौं । यो अभियानमा पनि यही दोहोरियो । गुठी आन्दोलन, निर्मला हत्या प्रकरण वा गोविन्द केसीको आन्दोलन, ‘यो कतैबाट परिचालित छ’ भन्दिए पुग्यो । नागरिकमा भ्रम छर्न हाम्रो नेतृत्व खप्पिस छ । आफ्नै छोराछोरी सडकमा ओर्लिँदा पनि परिचालित देख्नु निकै दुःखद छ ।

युवा, आन्दोलन तथा परिवर्तन : तीन दिनमै सामाजिक सञ्जालमा एक लाखभन्दा बढी युवा एउटा समूहमा जोडिनु र हजारौँ युवा सडकमा आउनुको कारण धेरैले बुझ्न सकेनन् । साथीसँग बढी सम्पर्कमा हुने र समूहमा काम गर्ने हुँदा यस्ता युवा–अभियान छिटो सल्कने गर्छ । साथै, युवा बढी सिर्जनशील हुन्छन् । यो अभियानमा पनि भएको यही हो । आज फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबजस्ता सामाजिक सञ्जालले अभियानको दुनियाँ बदलिदिएको छ, जुन केपी ओली पुस्ताले बुझ्न सकेको छैन । अमेरिकामा सुरु भएको ‘मी टु’ अभियान नेपाल आइपुग्छ । दक्षिण अफ्रिकामा सुरु भएको विद्यालयको शुल्क घटाउने अभियान भारत आइपुग्छ । सामाजिक सञ्जाल तथा युवा सञ्जालको समिश्रणले अभियानको दृश्य नै बदलिएको छ । युवाका मुद्दा पनि फरक छन् । समलैंगिकता, विवाह नगरीकन सँगसँगै बस्ने, गाँजाको वैधानिकताजस्ता विषयलाई युवापंक्तिले जसरी हेरिरहेको छ, पुरानो नेतृत्व पुस्तालाई बुझ्न सजिलो छैन । नेपालको हकमा युवा राजनीतिप्रति आक्रोशित रहनुमा महत्वपूर्ण कारण छ– आज उनीहरूबीचबाट उनीहरूका नेता छैनन् । यी युवालाई बुझ्ने तथा उनीहरूको माग सम्बोधन गर्ने नेता सरकार वा संसद्मा छैनन् । र, यी युवालाई केपी ओली, प्रचण्ड तथा शेरबहादुर देउवाले प्रतिनिधित्व गर्दैनन् ।

न व्यक्तिले प्रतिनिधित्व गरेको छ, न प्रणालीले नै अहिले युवालाई साथ दिन सकेको छ । ठूलो समस्या हाम्रो समाजको युवाप्रतिको बुझाइमा छ । त्यो बुझाइ, जसले युवालाई सपना देख्नबाट रोक्छ । ‘तँ सानो छस्, अझ ठूलो कुरा गर्ने ?’, ‘तेरो पालो आएको छैन’ भन्छ । आज हामी समाजका समस्या जसरी हेरिरहेका छौँ, त्यहीँ समस्या छ । भर्खरै मात्र युवाहरू यस्तो मुद्दा लिएर सडकमा आए, जुन धेरैका निम्ति मुद्दा नै थिएन । जनस्वास्थ्यको मुद्दा लिएर को उठ्यो ? यस्तो महत्वको मुद्दा पहिचान गर्ने ल्याकत राख्ने युवा कसरी अबुझ हुन सक्छन् ? तसर्थ, हामीले युवालाई हेर्ने नजर परिवर्तन गर्न ढिलो भइसकेको छ । केही नयाँ, केही सिर्जनशील तथा केही परिणाममुखी काम गर्न लालायित युवा आँटिलो, जिद्दी तथा विद्रोही हुनु स्वाभाविक हो ।

हालै युवाहरू जसरी सामाजिक दूरी कायम राखेर सडकमा उत्रिए, त्यसले सुसंस्कृत अभियानको झल्को दियो । म पनि विगत आठ वर्षदेखि यस्तै अभियानमा छु । मलाई सबैभन्दा खुसी त्यो वेला लाग्यो, जब यी युवा अभियानपछि सडकका फोहोर टिप्थे । यसले एउटा आशाको किरण छरेको छ । परिवर्तन गर्नका निम्ति सांसद हुनु, लोकले मन पराएको व्यक्ति हुनु, कुनै संस्थाको प्रमुख हुनैपर्छ, आवश्यक छैन । परिवर्तनका निम्ति युवामा ३ ‘स’ आवश्यक रहन्छ– सपना, साहस तथा संकल्प । परिवर्तनका निम्ति सपना देख्न जरुरी छ । त्यो सपनाका निम्ति बोल्ने साहस हुन जरुरी छ । अनि, त्यसका निम्ति सडकमा उत्रेर निरन्तर लड्न संकल्प गर्न सके मात्र परिवर्तन सम्भव छ । तर, युवाले पनि बुझ्न जरुरी छ– परिवर्तन आजको भोलि आउँदैन । 

आन्दोलनको मोड : महामारीका वेला पनि अभियानको सान्दर्भिकताबारे डा. स्टिभन म्याकडोनाल्डले केही दिनअघि न्युयोर्क टाइम्समा लेखे– प्रदर्शन सामाजिक रोगको उपचार विधि हो । यस्ता अभियानले स्वास्थ्य सेवा, न्यायिक प्रणाली तथा व्यवस्थापनमा रहेका अनियमिततालाई घटाउँछ । हामीले भुल्न नहुने कुरा, आजको दिनमा हाम्रो स्वास्थ्यसँगै समाजको स्वास्थ्य पनि महत्वपूर्ण छ । नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउन ‘इनफ इज इनफ’जस्ता अभियानको ठूलो भूमिका रहने गर्छ । यस्ता अभियान नेता मञ्चमा आएर भाषण गर्ने प्रकृतिका हुँदैनन् । यस्ता अभियानमा देखिने नेतृत्व पनि हुँदैन । यस्ता अभियान फरक प्रकृतिकै हुने गर्छन् । साथै, यस्ता अभियानमा संरचनागत तथा नीतिगत एजेन्डा नहुँदा, त्यसैले मूर्त रूपमा नतिजा दिने पनि गर्दैन । कुनै व्यक्तिविरुद्ध वा केही नीति परिवर्तन वा संरचनागत सुधारको मुद्दा भएको भए मूर्त नतिजा आउने थियो । तसर्थ, यस्ता अभियानको प्रकृति नै फरक हुने गर्छ । सरकारले सही कार्य सम्पादन गरोस् भन्ने मागलाई पहिलो चरणको मागका रूपमा बुझ्न जरुरी छ । भोलि यी मागमा सरकार गम्भीर नदेखिए यसले नीतिगत अनि संरचनागत माग राख्नेछ, जसले राज्यको नीतिसँगै नेतृत्व परिवर्तनसमेत गर्नेछ । यो झिल्काले जे संकेत गरेको छ, त्यो हाम्रो नेतृत्वका लागि राम्रो संकेत होइन । 

नागरिकको स्वास्थ्य प्राथमिकतामा राख्न नसक्ने सरकारले भोलि जमिन फिर्ता ल्याउँछ भनेर पत्याउन गाह्रो छ । सरकारलाई अब राष्ट्रवादको खोलले मात्र बचाउन सक्दैन । तसर्थ, सरकारले नागरिकलाई नक्सा देखाएर थुम्थुम्याउने अवस्था छैन । न्युजिल्यान्डकी प्रधानमन्त्री पत्रकार सम्मेलनपछि युवा जमातसँग जोडिन्छिन् । दिल्लीकै मुख्यमन्त्री केजरिवाल सञ्चारकर्मी तथा नागरिकलाई आफ्नो कमजोरी औँल्याउन आग्रह गर्छन् । यो सब देखेका युवापुस्ता अब उखान–टुक्कामा भुल्नेवाला छैनन् । नेतृत्वले यत्ति बुझ्न जरुरी छ । यो पुस्ताले नेतृत्वमा त्यो आगो र अपनत्व खोजेका छन्, जुन नपाउँदा आन्दोलन बारम्बार उठ्नेछ । फेरि, युवाका माग खासै ठूला छैनन् । नेताले नागरिकका लागि काम गरून्, रोजगारी पाइयोस्, बिहान उठ्दा भ्रष्टाचारको खबर सुन्न नपरोस् । 

निष्कर्ष : तपाईं एउटा कुनै दुर्गन्धित घरमा जानुभयो भने जानेबित्तिकै नाक थुन्नुहुन्छ, तर त्यहाँ पहिलेदेखि नै रहेकालाई गनाइरहेको हुँदैन । किनकि त्यहाँ रहेकालाई बानी परिसकेको हुन्छ । त्यस्तै, देशको बेथिति, भ्रष्टाचार, कुशासनले अघिल्लो पुस्तालाई भन्दा युवापुस्तालाई बढी उद्वेलित बनाउँछ, जसका कारण उसले विद्रोह गर्छ । अहिले युवामा जुन जागरण देखिएको छ, यदि दूरदर्शी नेता हुन्थे भने खुसी हुन्थे । यो जागरुकतालाई सम्बोधन गरेर राष्ट्रनिर्माणमा लगाउँथे । यो पिसिआरको मात्र कुरा होइन, यो राज्य, सरकार तथा नेतृत्वप्रतिको युवाको अविश्वास हो । ‘इनफ इज इनफ’ अभियान संकेत मात्र हो । आजको आन्दोलन व्यवस्था परिवर्तनका लागि होइन, अवस्थामा सुधारका निम्ति हो । तर, अवस्था सुधारमा व्यवस्था बाधक बन्छ भने युवाले ती अनुहार फालेर अवस्था सुधारको नेतृत्व लिनेछन् ।