Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार ४ बिहीबार १८:३७:००
Read Time : > 1 मिनेट
समाचार

अन्तर्जातीय विवाह गरेकी महिलालाई बाबुको मृत्यु संस्कारमा विभेद 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार ४ बिहीबार १८:३७:००

विश्वकर्मा थरका युवासँग विवाह गरेकी केराबारी गाउँपालिका–६ अमृतचोककी २९ वर्षीया अञ्जु पुरी दर्नाललाई माइती पक्षले बाबुको अन्तिम संस्कारमा सँगै सहभागी हुन रोक लगाएका छन् । ‘सानो जात’सँग विवाह गरेको भन्दै बाबुको मृत्यु संस्कारमा माइती पक्षले सँगै सहभागी हुन नदिएका हुन् । 

‘जात फालेको...’ भन्दै माइतीले सँगै मृत्यु संस्कार गर्न नदिएपछि सञ्जु माइतीघरको बरन्डामा अलग्गै ढिकुरो बनाएर बाबुको किरिया बसेकी छिन् । तर, घिमिरे थरका केटासँग विवाह गरेकी अञ्जुकी बहिनी गंगामायालाई भने माइती पक्षले सगोलमै मृत्यु संस्कारमा सहभागी गराएका छन् । विश्वकर्मासँग विवाह गरेर आफूले कुनै गल्ती नगरेको र कानुनले पनि जातीय छुवाछुतलाई अपराध मानिसकेकोले सगोलमै बुबाको किरिया बस्न पाउनुपर्ने अञ्जु र उनका श्रीमानको माग थियो । तर, माइती पक्षले सानो जातको भएर ठूला कुरा नगर्न र आफ्नै समुदायको पुरोहित बोलाएर किरिया गराउन भनेको अञ्जुको भनाइ छ । 

जातीय विभेद र छुवाछुत गर्नु कानुनतः अपराध भएको भनी सम्झाउँदा पनि माइती पक्षले कुल, वंश, परम्परा भन्दै सगोलमा सहभागी नगराएको उनले दुखेसो गरिन् । बरु घरकै बरन्डामा अलग्गै ढिकुरो र अर्कै पुरेत बोलाएर किरिया गर्न दबाब दिएको अञ्जुको भनाइ छ । 

०६९ सालमा पाँचथर फिदिम नगरपालिका– १४ का सुवास दर्नाल  विश्वकर्मासँग अञ्जु पुरीले अन्तर्जातीय प्रेमविवाह गरेकी थिइन् । विवाहपछि अञ्जु श्रीमान् र एक छोरीसँगै काठमाडौंमा बस्दै आएकी थिइन् ।

उनका बुबा शमशेर पुरीले अन्तिम अवस्थामा छोरी–ज्वाइँको मुख हेरेर मर्छु भनेर बोलाउन लगाएका थिए । त्यसैले अञ्जु लकडाउनको समयमा पनि जोखिम मोलेर बुबाको मुख हेर्न श्रीमान् र आठ वर्षीया छोरीसँगै माइती हिँडेकी थिइन् । तर, बाटोमा आउने क्रममै २९ जेठमा बाबुको मृत्यु भएको अञ्जुले बताइन् । बुबाको मृत्यु भएपछि माइती पक्षले ‘अब तिमीहरू आउनुपर्दैन, कोरोना सर्छ फर्क भनेर फोनबाटै माइत आउन रोकेको उनले बताइन् । उनी आरडिटी परीक्षण गरेर मात्रै माइती गएकी थिइन् । उनी १ असार साँझ केराबारीस्थित माइती घर पुगेकी थिइन् । तर, माइती पक्षले अञ्जु, श्रीमान् सुवास र छोरीलाई सानो जातको  भनेर  घरभित्र पस्न नदिई बाहिरै मृत्यु संस्कार गराइरहेका छन् । 

वडाध्यक्ष उपेन्द्र लुंगेलीले अञ्जु र उनका श्रीमानलाई बाबुको मृत्यु संस्कारका लागि माइत आउन सहयोग गरेको बताए । तर, उनीहरूमाथि जातीय विभेद भएकोबारे बिहीबार मात्रै जानकारी पाएको बताए । थप जनाकारी शुक्रबार दिने उनको भनाइ छ ।