१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १३:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

 ‘बडेभाइ’को दम्भ त्यागे मात्र दुई देशको सम्बन्ध सुमधुर हुन्छ : खिमलाल भट्टराई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १३:१४:००

राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडेभाइ’को दम्भ त्यागे मात्रै दुई देशबीचको सम्बन्ध सुमधुर हुने बताएका छन् । २१औँ शताब्दीमा पनि भारतले बल्लभभाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उनले बताए ।  

नेपाल–भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरू सुमधुर बनाउन नेपाल–भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उनले भने, ‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभभाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडेभाइको दम्भ त्याग्नैपर्छ नेपाल–भारतको सम्बन्ध सुमधुर बनाउन ।’

उनले  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१औँ शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत् सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गरे । 

राष्ट्रिय सभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उनले महाकाली सन्धिमा उल्लेख भएका कतिपय कुराको गलत अर्थ लगाइएको बताए । अधिकांश ठाउँमा महाकाली नदी सीमानदी हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उनले बताए । 

महाकालीपारि पनि नेपाली भूमि दोधारा र चाँदनी भएको उल्लेख गर्दै उनले भने, ‘महाकाली नदी सम्पूर्ण सीमानदी हो भन्न सक्ने अवस्था नेपालको छैन । महाकालीपारि पनि दोधारा र चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौँ भने महाकाली सन्धिमा अधिकांश भूभाग सीमानदी हो भनेको कुरा गलत ढंगले भनेको भनेर सोच्नुहुँदैन ।’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल–भारत सम्बन्धमा दरार आएको उनले बताए । वार्ताका लागि पटकपटक आग्रह गर्दा पनि विवादित क्षेत्रमा आफैँ सडक उद्घाटन गर्ने अनि सेनाप्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उनले बताए ।  ‘सीमा समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि भारतबाट बेवास्ता भयाे । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृत्ति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कूटनीतिक असफलता हो,’ उनले भने । उनले सबै असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताए ।