Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १०:४५:००
Read Time : > 1 मिनेट
अर्थ

हालको पुँजीगत लाभकर अन्तिम कर बनाउन बोर्डको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १०:४५:००

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन सम्बन्धित नियकालाई अनुरोध गरेको छ । लगानीकर्ताहरूले लामो समयदेखि पुँजीगत लाभकर नै अन्तिम कर बनाउन माग गर्दै आएका थिए । धितोपत्र बजारका व्यक्तिगत लगानीकर्ताहरूले पाँच प्रतिशत र संस्थागत लगानीकर्ताहरूले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने विद्यमान कानुनी व्यवस्था छ । उक्त मागलाई सम्बोधन गर्न सेबोनले सम्बन्धित निकायलाई अनुरोध गरेकोे हो । 

कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी करचुक्ता प्रमाणपत्र दिने गरेको र कतिपयले स्पष्ट व्यवस्थाको अभावमा अन्तिम कर निर्धारण नगरिदिएकाे लगानीकर्ताले गुनासो गर्दै आएको बोर्डले जनाएको छ । साथै, बोर्डले सेयर धितोमा प्रवाह गरिने कर्जा र विद्युत् रकमान्तर सीमा बढाउन नेपाल राष्ट्र बै‌‌कलाई सुझाब दिएको छ ।

कोरोना महामारीले धितोपत्र बजारमा परेको असर, लगानीकर्ताहरूको बजार सुधारसम्बन्धी माग तथा हालको विषम परिस्थितिमा बजारको मागपक्षलाई समेत सम्बोधन हुने गरी बजार सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकाले सम्बन्धित निकायलाई उक्त सुझाब दिएको बोर्डले जनाएको छ । 

त्यस्तै, बोर्डले सेयर बजारमा पूर्ण अनलाइन कारोबारको व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निर्देशन दिएको छ । नेप्सेले २०७७ साउन १ गतेदेखि अनिवार्य रूपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सोबमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने–गराउने व्यवस्था मिलाउन नेप्सेलाई निर्देशन दिएको हो । 

साथै, बोर्डले लगानीकर्ताहरूले गरेको कारोबार स्वचालित रूपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा गर्न भनेको छ । बोर्डले विभिन्न चारवटा सुझाब दिँदै बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ । लगानीकर्ताको निरन्तरको गुनासोलाई सम्बोधन गर्न सेबोनले हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन पनि सम्बन्धित निकायसमक्ष अनुरोध गरेको बताएको छ ।