Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
जीपी मैनाली
२०७७ असार ४ बिहीबार ०८:२४:००
दृष्टिकोण

मृत विद्यार्थी आन्दोलनले के दिनेछ ?

जीपी मैनाली
२०७७ असार ४ बिहीबार ०८:२४:००

४ मे १९७० मा भियतनाम र कम्बोडियामाथिको हस्तक्षेपको विरोधमा अमेरिकी विद्यार्थीद्वारा केन्ट स्टेट युनिभर्सिटीमा आयोजित युद्धविरोधी प्रदर्शनमा ओहायो नेसनल गार्डका सुरक्षाकर्मीले गोली हानी चार विद्यार्थीको हत्या गरिदिए, जसलाई आज पनि ‘केन्ट स्टेट सुटिङ’का नामले चिनिन्छ । प्रदर्शन गर्दै गरेका विद्यार्थीको माग थियो- अमेरिकी सैनिक भियतनामबाट फिर्ता हुनुपर्छ ।

तर, त्यसैबीच अमेरिकी सरकारले अर्को निर्णयमा लालमोहर लगायो, जसले विद्यार्थीलाई थप आन्दोलित बन्न प्रेरित गर्‍यो । भियतनामबाट सैन्य फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थीहरूको बेवास्ता गर्दैै सरकारले कम्बोडियामा पनि सैन्य हस्तक्षेप गर्ने नीति लियो । केन्ट स्टेट युनिभर्सिटीबाट उठेको युद्धविरोधी प्रदर्शन पछि समग्र अमेरिका हुँदै विश्वका धेरै सहरमा फैलियो । 

माथिको प्रसंग किन उल्लेख गरेको भने त्यसयताका ५० वर्षमा पहिलोपटक त्यस स्तरको प्रदर्शन आज फेरि अमेरिकी सडकमा देखापरेको छ । यसको पृष्ठभूमि अलिक भिन्न छ, तर यहाँ दोहोर्‍याइराख्नुपर्ने छैन । किनभने विगत २३ दिनदेखि हामीले अमेरिकाका सडकमा जे आवाज प्रतिध्वनित भएको सुनिरहेका छौँ, त्यो आफैँमा अद्भूत र अमेरिकी डेमोक्रेसीको गालामा बज्रेको चड्कनभन्दा कम छैन । आखिर त्यसबाट हामी कसरी बेखबर हुन सक्छौँ र ?

आज बोल्न चुकेको, घुँडा टेकिसकेको, आत्मसम्मान गुमाएको विद्यार्थी आन्दोलनले भोलि कसरी आफूलाई उभ्याउन सक्नेछ ?

यसले सन् ६० को दशकको सिभिल राइट मुभमेन्टबाट प्रेरणा लिएको छ र आफ्ना भावी पुस्ताको सम्मानपूर्ण जीवनका लागि नयाँ गोरेटो खन्ने प्रयत्न गरेको छ । भलै विगत र वर्तमानको परिदृश्य अलिक भिन्न छ । पहिलेका आन्दोलनको नेतृत्व राजनीतिक वृत्तबाट भएको थियो भने हालका प्रदर्शनमा स्पष्ट नेतृत्वकर्ता सतहमा देखापरिसकेका छैनन् । तर, एउटा कुरा के स्पष्ट छ भने त्यति वेला पनि युवा र विद्यार्थीहरू प्रदर्शनको अग्रमोर्चामा थिए र आज पनि उनीहरू अग्रमोर्चामा नै छन् । 

अमेरिकी सडकले नश्लवादविरुद्ध आज इतिहास कोरिरहँदा दक्षिण एसियाको विद्रोहको एउटा सानो दियो आज झन्डै निभेको अवस्थामा छ । दुःखका साथ भन्नुपर्छ, त्यो देश नेपाल हो । यो दियो त्यति वेला निभ्न लागेको छ, जति वेला छिमेकी भारतमा १९ वर्षीया अमुल्या लियोनी, २७ वर्षीया गर्भवती सफुरा जर्गरसहित देवांगना कलिता र नतासा नरवाललाई सरकारको विरोध गरेको आरोपमा युएपिए कानुनअन्तर्गत राज्यद्रोहको मुद्दा लगाइएको छ । र, त्यसको प्रतिरोधमा ठुल्ठूला अभियान चलिरहेका छन् । 

जातिवाद, श्रेणीवाद र सामन्तवादले गाँजेको हाम्रो मुलुकमा विद्रोहको दियो त्यति वेला निभ्न लागेको छ, जति वेला क्रान्तिबाट आएको कम्युनिस्ट पार्टी नै सरकारको नेतृत्व गरिरहेको छ । यहाँको विद्यार्थी आन्दोलन त्यति नै वेला मृत हुन पुगेको छ, जति वेला विद्यार्थी आन्दोलनकै जगमा स्थापित मूल पार्टी सत्ता सञ्चालन गर्दै छ ।

प्रतिरोधी स्वरको मियो ठानिएको विद्यार्थी आन्दोलन त्यति नै वेला मृत हुन पुगेको छ, जति वेला सार्वजनिक विद्यालयको जिम्मा निजी विद्यालयलाई दिने नीति सरकारले लियो र मौनताको सिरानी हालेर विद्यार्थी आन्दोलन कुनामा लड्न पुग्यो । कीर्तिपुरको सडकमा नाम्लोसहित भेटिएको सूर्यबहादुर तामाङको लासले आजको विद्यार्थी आन्दोलनलाई छुन सकेन । किनभने आजको विद्यार्थी आन्दोलनलाई न त सूर्यबहादुर तामाङको लासले छुन्छ, न त सोलुदेखि कैलालीसम्म पैदल हिँडेका मजदुरको पैतलाको फोकाले । 

आजको विद्यार्थी आन्दोलन देशका सबैभन्दा अहं मुद्दामा मौन छ, किनभने हाम्रो मूल पार्टी सरकारमा छ । वास्तवमा सत्ताधारी पार्टीनिकट विद्यार्थी संगठन मात्र मौन छैन, यहाँ त समग्र विद्यार्थी आन्दोलन नै मौन छ । मौन छ नवराज विकहरूको हत्यामा, मौन छ ऊ दरबार हाईस्कुल कुन निजी बोर्डिङलाई जिम्मा लगाउने भन्नेमा । मौन छ ऊ युवाको आत्महत्यामा, मौन छ ऊ राजनीतिक, सामाजिक मुद्दामा र मौन छ ऊ स्वयं आफँैसँग । किन ? किनभने पार्टी सत्तामा छ अथवा भोलि सत्ताको नेतृत्व गर्न पुग्नेछ । रगतबाट लेखिएको इतिहास अँध्यारो मसीले पोतिँदै गर्दा ऊ आज मौन छ । ऊ आज मृत जस्तो हुन पुगेको छ । 

इतिहासको खासखास मौकामा मौनता धारण गर्ने 

अहिलेको विद्यार्थी आन्दोलनले भोलि संघर्षको नेतृत्व गर्नेछ भनेर कसरी विश्वास गर्न सकिएला ? अहिलेको सवाल आफ्नो नेतृत्वसँग मात्र गरिएको होइन कि यो समयसँग गरिएको प्रश्न हो । आज बोल्न चुकेको, घुँडा टेकिसकेको, आत्मसम्मान गुमाएको विद्यार्थी आन्दोलनले भोलि कसरी आफूलाई उभ्याउन सक्नेछ ?

उसले कसरी आन्दोलनको नेतृत्व गर्ने साहस राख्नेछ ? कसरी उसले भोलि प्रतिरोधको नेतृत्व गर्न सक्नेछ ? मस्तिष्कको मृत्युपछि पनि अजंगको शरीर हुनुको कुनै अर्थ बाँकी रहन्छ र ? वास्तवमा मृत मस्तिष्कले हामीलाई निराशा, क्षोभ र दिशाहीनताबाहेक केही दिन सक्नेछैन ।