मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ

भाटभटेनीका अध्यक्षले ११ करोड लागतमा शिक्षण अस्पताललाई भवन बनाइदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:००:००

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् । नयाँ बन्ने भवन बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका हुन् । भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना रहेको जनाइएको छ ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेको जनाइएको छ । अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करिब ११ करोड रुपैयाँ लाग्ने अनुमान छ । बेसमेन्टसहित पाँच तलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।

गुरुङले यसअघि पनि करिब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए । अध्यक्ष गुरुङले भने, ‘हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौँ, अहिले बनाउन लागेको भवनमा भने फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने योजनामा छौँ ।’ 

नयाँ बन्ने भवनमा भेन्टिलेटरसहितको व्यवस्था हुने गुरुङले जानकारी दिए । भवन ६ महिनामा नै  तयार गरी हस्तान्तरण गर्ने योजना भए पनि कोभिड-१९ को महामारीका कारण निर्माणको काम लम्बिने अनुमान गरेको गुरुङले बताए । त्यसकारण १० महिनाभित्रै उक्त भवन हस्तान्तरण गर्ने योजना रहेको उनले बताए ।