१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०६:१७:००
Read Time : > 1 मिनेट
सप्तरंग

कृषले मणिकर्णिका छोड्नुमा कंगना दोषी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १५ मंगलबार ०६:१७:००

विवादकी रानीको उपनामले समेत कहलिने गरेकी अभिनेत्री कंगना रनौतको फिल्म मणिकर्णिका–झाँसीकी रानीले भारतीय बक्स अफिसमा सानदार व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनरत फिल्मलाई दर्शकले मन पराएका छन् । निर्माणको क्रमदेखि नै विवादमा परेको यो फिल्मको केही दृश्य कंगना आफँैले निर्देशन गरेकी हुन् । फिल्मको निर्देशकमा समेत कंगनाको नाम छ ।

झाँसीकी रानी लक्ष्मी बाईको जीवनीमा आधारित यो ऐतिहासिक फिल्म हो । यो फिल्मका खास निर्देशक कृष हुन् । कंगनासँग विवाद भएपछि उनले फिल्म छाडेका हुन् । निर्देशक कृषले कंगनाले इतिहास तोडमोड गर्न खोजेको आरोप लगाएका छन् । कृषले आफूले सुटिङ र डबिङसमेत पूरा गरेको फिल्म छाड्नुमा कंगना र निर्माता कमल जैन दोषी भएको बताएका छन् ।

कृषले कंगनाले इतिहास तोडमोड गरी फिल्ममा आफू मात्र हाबी हुन खोजेकाले चित्त नबुझेर आफूले फिल्म छाडेको खुलासा गरेका छन् । निर्देशक कृषले मात्र होइन, अभिनेता सोनु सुदले पनि धेरै सिन खिचाइसकेपछि मणिकर्णिका छोडेका हुन् । त्यसमा पनि कंगना नै जिम्मेवार थिइन् ।

कृषका अनुसार पहिला फिल्ममा सोनु सुदको भूमिका एक सय मिनेट लामो थियो । तर, जब कंगना हावी भइन्, उनले सोनुको भूमिका जम्मा ६० मिनेटमा खुम्च्याइन् । त्यसकारण सोनुले फिल्म छोडेका हुन् । सोनु फिल्ममा सदाशिवा रावको भूमिकामा थिए ।

फिल्मको सम्पादन कार्य गत जुनमै सकिएको र त्यतिवेला कंगनाले फिल्म हेरेर तारिफ गरेको पनि कृषले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कंगनाले पूरा फिल्म हेरेर निकै मन परेको बताइनन् मात्र, केही सिनमा हल्का चेन्ज गर्ने मन गरिन् । मैले पनि ठिकै छ भनेर मानेँ । झन्डै ६ दिन रिसुट गर्ने तयारी भयो ।

त्यसमा कंगनाको सिन थिएन । एकाएक उनले सोनु सुदले निर्वाह गरेको सदाशिव चरित्रलाई इन्टरभलमै मार्नुपर्ने ढिपी गरिन् । मैले मानिनँ । निर्माताले पनि कंगनाको पक्ष लिए, त्यसपछि मैले फिल्म छाडिदिएँ ।’

कृषले मणिकर्णिकाको पहिले सार्वजनिक गरिएको पोस्टरमा आफ्नो नाम कृष राखिएको, तर पछि टिजरमा राधाकृष्णा जगरलामुदी लेखिएकोमा पनि आपत्ति जनाएका छन् । उनले आफूले राधाकृष्णा जगरलमुदी कहिल्यै प्रयोग नगरेकाले कृष नै राख्न खोज्दा कंगना रिसाएको बताएका छन् । 

‘मलाई फिल्ममा कृष नामले चिन्छन्, तर उनले मैले कहिल्यै प्रयोग नगर्ने नाम राखेर निर्देशकका रूपमा आफू नै हावी भएकी छिन्,’ उनको गुनासो छ ।