Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एलिजावेथ मरुमा मेर्मा/मार्को लाम्बर्टिनी/मारिया नेइरा
२०७७ असार ४ बिहीबार ०७:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

कोरोना भाइरस अर्थात पर्यावरण संरक्षण गर्ने चेतावनी

Read Time : > 2 मिनेट
एलिजावेथ मरुमा मेर्मा/मार्को लाम्बर्टिनी/मारिया नेइरा
२०७७ असार ४ बिहीबार ०७:४५:००

जिका, एड्स, सार्स तथा इबोलाजस्ता संक्रमणकारी रोग उत्पत्तिको मुख्य कारण भनेको वासस्थान नष्ट भएर विस्थापित भएका वन्यजन्तु नै हुन् 

सन् १९९७ मा पाल्म खेतीका लागि अत्यधिक मात्रामा दक्षिण–पूर्वी एसियाको रेन फरेस्ट डढेलो लगाउँदै विनाश गरियो । परिणामस्वरूप वासस्थान विनाश हुँदा सयौँ संख्यामा जंगली चमेरा विस्थापित भए र बंगुर फार्मको नजिकैका मान्छेका निजी बगैँचामा बस्न थाले । यसकै कारण चमेराबाट निपाह भाइरस बंगुरमा सर्‍यो र बंगुरबाट कृषक संक्रमित हुन पुगे । दुई वर्षमा यस भाइरसले सयभन्दा बढी मानिस मार्‍यो । तर, यसबाट पाठ सिकिएन । अहिले २० वर्षपछि ठ्याक्कै यस्तै प्रवृत्तिको तर विश्वव्यापी संकट सिर्जना गरेको कोभिड–१९ संक्रमणको सामना गरिरहेका छौँ ।

वर्षौंयता हामी जिका, एड्स, सार्स तथा इबोलाजस्ता संक्रमणकारी रोगहरूको सामना गरिरहेका छौँ । हेर्दा यी रोग फरक–फरक प्रवृत्तिका देखिन्छन् । तर, यी सबैको उत्पत्तिको मुख्य कारण भनेको वासस्थान नष्ट भएर विस्थापित भएका वन्यजन्तु नै हुन् । यसले भन्छ, हाम्रो पर्यावरण विनाश गर्ने कदमले आफ्नै स्वास्थ्य तथा अस्तित्वलाई संकटतिर धकेलिरहेको छ । तर, यो वास्तविकतालाई हामीले दशकौँदेखि बेवास्ता गर्दै आइरहेका छौँ । अनुसन्धानले पनि यो भन्छ कि धेरैजसो संक्रमणयुक्त रोग मानिसको आफ्नै नाजायज क्रियाकलापले निम्त्याउने गर्छ ।

असुरक्षित ढंगले वन्यजन्तु राख्नु, अस्तित्व संकटोन्मुख भएका वन्यजन्तुको उपभोग तथा तस्करीजस्ता क्रियाकलापले नै प्रकृति विनाश र मानव स्वास्थ्यमाथिको संक्रमण निम्त्याइरहेको छ । धेरै मुलुकमा जंगली जन्तु समाउने र जिउँदै बजारमा लगेर बेच्न राख्ने प्रचलन छ । यस्ता बजारले रोग संक्रमणको वातावरण सिर्जिंदै मानव, घरपालुवा तथा वन्यजन्तु सबैलाई उत्तिकै जोखिममा पार्ने गर्छ ।

अहिले कोभिड–१९ संक्रमणकै दौरान ग्रेटर मेकोङदेखि अमेजन र माडागास्करसम्म ठूलो परिमाणमा वनविनाश, चोरी सिकारी र प्राकृतिक स्रोत दोहनका तथ्यांक बाहिरिरहेका छन् । अर्कोतिर आर्थिक संकटका कारण धेरै मुलुकले वातावरण संरक्षण खर्च कटौती गरिरहेका छन् ।

त्यसैले पनि भविष्यमा फैलन सक्ने प्राणीजन्य संक्रमणको नियन्त्रणका लागि पनि अवैधानिक वन्यजन्तु ओसार–पसार तथा खाद्य सुरक्षाको सम्बन्धमा दह्रो अनुगमन गर्नुपर्ने हुन्छ । यस्ता संक्रमणको रोकथामका लागि वन्यजन्तुको उपभोगलाई निस्तेज पार्न सम्बन्धित सर्वसाधारणमा वैकल्पिक जीविकोपार्जनको व्यवस्था गर्न सक्नुपर्छ, जुन निकै चुनौतीपूर्ण छ । केही महिनायता यस विषयमा उल्लेखनीय उपलब्धि भएका छन् । फेब्रुअरीमा चीनले वन्यजन्तुको ओसार–पसार तथा बेचबिखनमा अल्पकालीन रूपमा रोक लगाएको छ र यसलाई सधैँका लागि बन्द गर्नेबारे सोचिरहेको छ । भियतनामले पनि सधैँका लागि प्राणीजन्य संक्रमणबाट जोगिन यस्तै नियम ल्याउन खोजिरहेको छ । तर, यो मात्र पर्याप्त छैन, हामीले प्रकृति विनाशका सबै स्वरूपलाई निरुत्साहित पार्नुपर्छ । हामीले अहिले उत्पादन र उपभोग गरिरहेको खाद्य पद्धतिबारे पुनर्विचार गर्नुपर्छ । 

प्रकृतिको पनि एउटा सीमा हुन्छ । अहिले मानव इतिहासमै अकल्पनीय ढंगबाट प्रकृतिको विनाश भइरहेको छ, यसले अझ डरलाग्दा संक्रमण निम्त्यउने खतरा त्यत्तिकै छ । यस्ता संक्रमण मानव र प्रकृतिबीचको असन्तुलित सम्बन्धकै परिणाम हुन् । अहिले कोभिड–१९ संक्रमणकै दौरान ग्रेटर मेकोङदेखि अमेजन र माडागास्करसम्म ठूलो परिमाणमा वनविनाश, चोरी सिकारी र प्राकृतिक सेत दोहनका तथ्यांक बाहिरिरहेका छन् । अर्कोतिर आर्थिक संकटका कारण धेरै मुलुकले वातावरण संरक्षण खर्च कटौती गरिरहेका छन् । हामीले झन् नियन्त्रण गर्नुपर्ने समय यस्ता क्रियाकलाप बढेका छन् । यो संकट सकिएपछि सरकारहरूले पर्यावरण जोगाउँदै दिगो आर्थिक विकास गरेर स्वास्थ्य जोखिमलाई पनि कम गर्नुपर्नेछ । हामीले हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्दै स्वस्थ समाज बनाउनुपर्छ ।

सेप्टेम्बरमा हुने भनिएको राष्ट्रसंघको जैविक–विविधता सम्मेलन हाम्रो प्रकृतिसँगको सम्बन्ध सौहार्दपूर्ण बनाउने एउटा अवसर हुन सक्छ । यस विषयलाई मध्यनजर गर्दै सरोकारवालाले वातावरण, जलवायु र दिगो विकासका क्षेत्रमा महत्वपूर्ण निर्णय लिनेछन् भन्नेमा हामी आशावादी छौँ, ताकि आगामी दशकमा प्रकृतिले आफ्नै लयमा फर्किने मौका पाओस्, सधैँका लागि सुरक्षित मानव स्वास्थ्य र दिगो विकास सम्भव होस् । प्रकृतिसँगको हाम्रो सम्बन्ध सुधार्न ठूलो प्रयास र लगावको खाँचो छ । यसले मानव तथा यो ग्रहलाई नै स्वस्थ राख्दै आगामी महामारीबाट पनि हामीलाई बचाउनेछ । हाम्रो प्रयास पनि यसैका लागि हो ।

(लाम्बर्टिनी डब्लुडब्लुएफका डाइरेक्टर जनरल हुन्, मेर्मा संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्मेलनकी कार्यकारी सचिव हुन् भने नेइरा डब्लुएचओको वातावरण, जलवायु परिवर्तन तथा स्वास्थ्य विभागकी निर्देशक हुन्)

द गार्जियनबाट