मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
श्रवण उप्रेती
२०७७ असार ३ बुधबार ०९:००:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

भारत र चीन : के साँच्चै युद्ध चाहन्छन् ? 

जम्मु-कस्मिर क्षेत्रको विवाद भारत र पाकिस्तानबीच मात्र रहेको बुझाइ छ, तर त्यस क्षेत्रको एक भागमा चीनको पनि दाबी रहँदै आएको छ

Read Time : > 3 मिनेट
श्रवण उप्रेती
२०७७ असार ३ बुधबार ०९:००:००

भारतीय सेनाले मंगलबार चीनसँगको पश्चिमी सीमाक्षेत्रमा दुई देशका सेनाबीच झडप भएको र त्यसमा २० भारतीय सैनिकको मृत्यु भएको सार्वजनिक गर्यो । घटना सोमबार रातिको भए पनि भारतीय सेनाले मंगलबार वक्तव्यमार्फत यसको जानकारी बाहिर ल्याएको थियो । विगत केही सातादेखि भारत–चीनका विभिन्न स्थानमा तनाव बढिरहेको अवस्थामा पछिल्लो घटना घटेको हो । तनावबीच दुवै पक्षले हजारौँ अतिरिक्त सैनिक सीमाक्षेत्रमा परिचालन गरिरहेका थिए । सैन्य उपस्थिति बढाएर दबाब सिर्जना गर्ने रणनीतिसँगसँगै विवाद सल्ट्याउने प्रयास चलिरहेको समयमा दुई सेनाबीच मुठभेड भयो।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया चलिरहेको समयमा हिजो राति हिंसात्मक झडपपछि दुवै पक्षमा हताहती भएको छ ,’ मंगलबार जारी भारतीय सेनाको वक्तव्यमा भनिएको छ। 

३ हजार ४८८ किमि लामो सिमाना रहेको चीन र भारतबीच विभिन्न समयमा विवाद उत्पन्न हुने गरे पनि केही दशकदेखि कुनै पक्षको ज्यान गएको थिएन । दुई देशका सैनिकबीच भएको झडपमा ५३ वर्षपछि पहिलोपटक यति ठूलो स्तरमा हिंसात्मक घटना भएको बताइएको छ । यसअघि सन् १९६७ मा पूर्वी भागको नाथु–ला पास र चोला पासमा दुई पक्षको भिडन्त हुँदा सयौँको ज्यान गएको थियो।

विभिन्न चरणमा भएको १९६७ को भिडन्तमा ८८ भारतीय सेना मारिएका थिए भने ३४० चिनियाँ सैनिकको ज्यान गएको थियो । त्यो समय चुम्बी उपत्यकाको नियन्त्रणका लागि उक्त लडाइँ भएको बताइन्छ । त्यसपछि अन्तिमपटक दुई देशका सैनिकबीच सन् १९७५ मा गोलीबारी भएको थियो । त्यसपछि पनि भारत र चीनबीच कैयौँपटक सीमाक्षेत्रमा तैनाथ फौजबीच सामान्य विवाद र हात हालाहालको अवस्था सिर्जना भयो । तर, दुई पक्षले वार्ता तथा कूटनीतिक माध्यमबाट तनावलाई हिंसात्मक हुन दिएका थिएनन्। 

सोमबार रातिको झडपले धेरैमा दुई देशबीच युद्ध उत्पन्न हुने आशंका बढाए पनि भारत–चीन सम्बन्धका विज्ञहरू भने अहिले दुवै पक्षले युद्ध नचाहेको बताउँछन् ।

भारतीय सरकारभित्रको स्रोतले सोमबारको घटनामा कुनै गोलीबारी नभएको, बरु दुई पक्षका सेनाबीच लाठी र ढुंगाको प्रयोग भएको बताएका छन् । भारतीय र चिनियाँ सेनाले सीमाक्षेत्रको विवाद हिंसात्मक हुन नदिन सीमाबललाई हतियार बोक्न निरुत्साहित गर्ने सहमति गरेकाले त्यस क्षेत्रका सैनिक हातहतियार बोक्दैनन् । यसैकारण त्यस क्षेत्रमा सैनिकबीच विवाद बढ्दा मुक्कामुक्की, ढुंगा, लाठी आदिको प्रयोग हुन्छ । तनावपूर्ण अवस्थामा एकअर्काको सैनिकलाई कब्जामा लिने कामसमेत भएको देखिए पनि दशकौँयता कसैको ज्यान गएको थिएन। 

भारतीय सैनिकले जारी गरेको वक्तव्यमा सोमबारको घटनापछि दुवै पक्षका वरिष्ठ सैनिक अधिकारीबीच परिस्थितिलाई थप तनावग्रस्त बन्न नदिन सोही स्थानमा बैठक भइरहेको उल्लेख छ । यसबाहेक भारतीय पक्षले थप विवरण दिएको छैन । तर, चीनले भने सोमबारको झडपका लागि भारत दोषी भएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिनले नियमित पत्रकार सम्मेलनमा सोमबार चिनियाँ सैनिकको भारतीय सैनिकसँग मुठभेड भएको पुष्टि गरे । लिजिनले मुठभेडका लागि भारतीय पक्ष जिम्मेवार भएको बताए । ‘सोमबार राति भारतीय सैनिकहरू दुईपटक हाम्रो भागमा आएर चिनियाँ सैनिकमाथि आक्रमण गरेपछि दुई पक्षका सीमाबलबीच गम्भीर खालको भौतिक झडपको अवस्था उत्पन्न भयो,’ लिजिनले नियमित पत्रकार सम्मेलनमा बताए।

पछिल्लो गतिरोध मे ९ मा सिक्किमको नकुला पास क्षेत्रबाट सुरु हुँदै पश्चिमको गलवान क्षेत्रमा पुगेको हो । मे ९ का दिन भारत–चीन सिमानाको पूर्वी क्षेत्र नकु–ला पासमा सिमानामा तैनाथ सैनिकबीच मुक्कामुक्की भएको थियो । जसमा दुवै पक्षका दर्जनौँ सैनिक घाइते भएका थिए । त्यसपछि विवाद सीमाको अन्य क्षेत्रमा पनि देखिन थाल्यो । दुई देशको सीमाक्षेत्रमा बढेको तनाव विभन्नि वार्तामार्फत पनि साम्य हुन नसकिरहेको अवस्थामा सोमबार राति हिंसात्मक घटना घट्यो।

पछिल्लो समय यो गतिरोधलाई समाधान गर्न कूटनीतिक तथा सैन्यवार्ता चलिरहेको थियो । दुई देशबीच विवाद बढिरहँदा मे २७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक ट्विट गर्दै दुई देशबीचको सीमाविवादमा मध्यस्थकर्ता बन्न तयार रहेको बताएका थिए । ट्रम्पको प्रस्तावलाई चीन र भारत दुवैले अस्वीकार गरिदिए ।

अहिलेको विवाद नकुला पासमा सुरु भए पनि यो जम्मु–कस्मिर र लद्दाख क्षेत्रमा केन्द्रित बनेको छ । धेरै मानिसमा जम्मु–कस्मिर क्षेत्रको विवाद भारत र पाकिस्तानबीच मात्र रहेको बुझाइ छ । तर, त्यस क्षेत्रको एक भागमा चीनको पनि दाबी रहँदै आएको छ। 

चीनले इतिहासमा आफू कमजोर भएको समयमा तिब्बत र सिन्जियान क्षेत्रका भूभाग तत्कालीन जम्मु–कस्मिर अधिराज्यमा समेटिएको बताउने गरेको छ । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेको जम्मु–कस्मिरका जुन–जुन भागमा चीनको दाबी थियो, त्यो भाग औपचारिक रूपमा चीनलाई दियो । यसका लागि दुई देशबीच सन् १९६३ मा सम्झौता भएको थियो । भारतले आफ्नो दाबी गर्ने भूभागको अक्साईजस्ता क्षेत्रमा पनि चीनको नियन्त्रण छ । दुई देशले जुन भागमा जसको नियन्त्रण छ, त्यसमा कायम रहने सहमति गरेअनुरूप ती क्षेत्रमा वास्तविक नियन्त्रण चीनको रहन्छ । यस नियन्त्रणलाई जनाउन ‘लाइन अफ एक्चुअल कन्ट्रोल’को सीमा अवधारणालाई दुई देशले स्विकार्छन् । 

पछिल्ला केही साता ‘लाइन अफ एक्चुअल कन्ट्रोल’का केही रणनीतिक रूपमा महत्वपूर्ण गलवान उपत्यका, पाङगोङ सो, डेमचोक, दौलत बेग ओल्डीमा तनाव देखिएको छ । यीमध्ये अधिकांश भूभागमा मानव बसोवास छैन । एएफपीले भारतीय स्रोत तथा समाचार रिपोर्टलाई उल्लेख गर्दै पछिल्लो विवादबीच चिनियाँ फौजले गलवान उपत्यका र पाङगोङ सो तालको उत्तरी किनारामा कब्जा बढाएकाले विवाद साम्य हुन नसकेको बताएको छ । चिनियाँ पक्ष भने भारतीय सैनिकले सिमानानजिकको भारतीय भूभागमा निर्माण गरिरहेको भौतिक पूर्वाधारको काम नरोकिएसम्म विवाद साम्य नहुने बताइरहेको छ । 

चीन र भारतबीच पश्चिमी क्षेत्रका अतिरिक्त पूर्वी क्षेत्रको ठूलो भूभागमा पनि विवाद कायमै छ । ब्रिटिस औपनिवेशकालका तत्कालीन ब्रिटिस प्रशासक हेन्री म्याकमोहनले प्रस्ताव गरेको तिब्बत र उत्तर–पूर्वी भारतको सिमाना त्यस क्षेत्रको मूल विवादको कारण रहेको छ । म्याकमोहनले सन् १९१४ मा प्रस्ताव गरेको सिमानालाई भारतले मान्यता दिएको भए पनि चीनले त्यसलाई मान्दैन । म्याकमोहनले प्रस्ताव गरेको सीमारेखाले ६५ हजार वर्गकिमि चिनियाँ भूभाग भारतमा पारेको चीनको दाबी छ । हाल अरुणाचल राज्यको अधिकांश भाग पर्ने चिनियाँ दाबीको उक्त क्षेत्रका लागि सन् १९६२ मा चीन र भारतबीच युद्धसमेत भएको थियो। 

पूर्वी क्षेत्रमा भारत–चीनबीचको ठूलो स्तरको पछिल्लो विवाद सन् २०१७ मा देखिएको थियो । त्यो समय चिनियाँ सेना चीन–भारत–भुटानको त्रिदेशीय सीमामा पर्ने दोक्लम उपत्यकामा अघि बढेपछि उत्पन्न भएको गतिरोध ७२ दिनसम्म लम्बिएको थियो । त्यो समय दुई देशबीच युद्धको समेत आशंका गरिएको थियो । पछि लामोकूटनीतिक प्रयासपछि चिनियाँ सेना पछि हट्यो र उक्त गतिरोध अन्त्य भएको थियो । अहिले पनि चीन–भारत सम्बन्धका जानकारहरू यो विवादमा दुवै पक्षले युद्ध नचाहेकाले वार्तामार्फत नै यो तनाव अन्त्य हुने अनुमान गरिरहेका छन् । हालको तनावले उग्र रूप नलिए पनि सीमाविवाद भारत र चीनको सम्बन्धमा दशकौँदेखि काँडाका रूपमा रहँदै आएको छ । 

(एजेन्सीको सहयोगमा)