मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडाैं
२०७७ असार ३ बुधबार ०८:४२:००
Read Time : > 1 मिनेट
अर्थ

६ प्रतिशतले घट्यो रेमिट्यान्स

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७७ असार ३ बुधबार ०८:४२:००

-सरकारले १० महिनामा ७ खर्ब २५ अर्ब खर्च गरेकामा आम्दानी भने ६ खर्ब ६ अर्ब रुपैयाँ मात्र भएको छ  

- बन्दाबन्दीमा मूल्यवृद्धि दर सुस्तियो


विश्वभर कोरोना संक्रमणका कारण कतिपय अर्थतन्त्र ठप्प रहेपछि बिदेसिएका नेपालीहरूले पठाउने रेमिट्यान्स भित्रिने दरमा वार्षिक रूपमा ६ प्रतिशतले मात्र कटौती भएको छ । 

गत वर्ष वैशाखसम्ममा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा चालू आवमा भने ६ खर्ब ८० अर्ब भित्रिएको छ । तर, वैशाखबाट भने मासिक रूपमा भित्रिने रेमिट्यान्सको दरमा सुधार देखिएको छ । चैतमा ३४ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा ५३ अर्ब र जेठमा ६२ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

सरकारको आम्दानीभन्दा खर्च सवा खर्ब बढी
सरकार सञ्चालनमै समस्या परिरहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताइरहेका वेला राष्ट्र बैंकले समेत यसैलाई पुष्टि गर्ने तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले सरकारको खर्च र राजस्व आम्दानीबीच वैशाखमै १ खर्ब १९ अर्ब रुपैयाँको खाडल देखाएको छ । केन्द्र सरकारको बैंकिङमा आधारित खर्च ७ खर्ब २५ अर्ब र राजस्व असुली ६ खर्ब ६ अर्ब मात्र छ । सरकारले स्रोतका लागि वैशाखसम्ममा आन्तरिक बजारबाट १ खर्ब ३५ अर्ब र ७४ अर्ब ६१ करोड उठाइसकेको छ ।   
 
मूल्यवृद्धिमा सुधार  
बन्दाबन्दीमा मूल्य शृंखलामा अवरोध भए पनि महँगीदर सुस्तिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वैशाखमा ५ दशमलव ८३ प्रतिशतले मूल्यवृद्धि भएको छ । यो आर्थिक वर्षमा दुईपटक मात्रै मूल्यवृद्धि दर ६ प्रतिशतमुनि आएको हो । वर्षमा अन्य सबै महिना महँगी ६ प्रतिशतमाथि थियो । ‘गत वर्ष वैशाखबाटै महँगीदर ६ प्रतिशतमाथि थियो,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘सुरुमा ठूलो आधारमा मूल्यवृद्धि भयो । अहिले कम भएको छ ।’ बन्दाबन्दीका कारण उत्पादित तरकारीहरूले उचित बजार नपाउँदा मूल्यवृद्धि कम भएको भट्टले बताए । 

मूल्यवृद्धि वार्षिक औसत ६ दशमलव ४६ प्रतिशत छ । यो दर सरकारको लक्ष्यभन्दा माथि नै हो । सरकारले चालू आवमा वार्षिक औसत मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने बताएको थियो । काठमाडौंमा मूल्यवृद्धि ५ दशमलव ७१ प्रतिशत, तराईमा ६ दशमलव ३५ प्रतिशत, पहाडमा ५ दशमलव ११ प्रतिशत र हिमालमा ५ दशमलव १९ प्रतिशत छ । 

शोधनान्तर बचत सवा खर्ब 
सरकारको चालू खाता घाटामा रहे पनि १ खर्ब २० अर्बले शोधनान्तर (मुलुक भित्रिने र बाहिरिने रकमबीचको अन्तर) बचत रहेको छ । चालू खाता १ खर्ब ५ अर्बले घाटामा छ । आयात १० प्रतिशतले घटे पनि अझै १० खर्ब र निर्यात भने ९२ अर्ब हाराहारीमा छ । बन्दाबन्दीको समयमा पनि वृद्धि भएका आयात सामग्रीमा औषधि, विषादी र औद्योगिक सामग्री, रड, छड, पाता, सवारीसाधनलगायत छन् । 

डिजिटल कारोबार बढेन
बन्दाबन्दीका कारण अपेक्षा गरेअनुसार डिजिटल कारोबारमा वृद्धि हुन सकेको देखिँदैन । चैतमा ९४ लाखपटक डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी भएकोमा जेठमा भने ८६ लाखपटक मात्रै डिजिटल प्लाटफर्मको प्रयोग भएको देखिन्छ । 

त्यस्तै, एटिएमको प्रयोगमा भने उच्च दरमा वृद्धि भएको छ । बन्दाबन्दीमा पनि ग्राहकहरूमा एटिएमबाटै रकम झिक्ने र नगदबाट कारोबार गर्ने प्रवृत्ति रहेको देखिन्छ । चैतमा १० लाखपटक एटिएमको प्रयोग गरेर रकम झिकिएकामा जेठमा भने २५ लाखपटक ग्राहकहरूले एटिएम प्रयोग गरेर रकम झिकेका छन् । रकमका आधारमा भने ठूलो कारोबार डिजिटल प्रणालीबाटै भएको छ । डिजिटल प्लाटफर्मबाट चैतमा १० खर्ब रकमको कारोबार भएकोमा जेठमा १४ खर्ब ७१ अर्बको कारोबार भएको छ । त्यस्तै, एटिएमबाट भने चैतमा ९ अर्ब रकम झिकिएकोमा जेठमा २२ अर्ब रकम झिकिएको थियो ।