मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २ मंगलबार १५:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

अपडेट : ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक झडप, २० भारतीय सैनिकको मृत्यु

Read Time : > 1 मिनेट
२०७७ असार २ मंगलबार १५:१९:००

भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा सोमबार राति भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले मंगलबार सॉझ विज्ञप्ति निकालेर घटनाबारे जानकारी दिएको हो । 

सो क्षेत्रमा करिब एक महिनायता भारत र चीनका सुरक्षा फौज आमनेसामने थिए । दुई देशबीच कूटनीतिक र सैन्य अधिकारीहरूको स्तरमा वार्ता भइरहेका वेला झडप भएको हो । भारत र चीन दुवैले एक–अर्काको सीमामा एक–अर्काका सैनिक प्रवेश गरेका कारण झडपको परिस्थिति निम्तिएको आरोप लगाएका छन् । दुई देशका सैनिकबीच ४५ वर्षपछि योस्तरको झडप भएको हो ।

भारतीय सेनाका एक अधिकृत र दुईजना जवानको मृत्यु भएको भारतीय सैनिक मुख्यालयले जनाएको छ । झडपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेलको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  तर, सेनाले औपचारिक पुष्टि गरिसकेको छैन । सम्भावित झडप रोक्न र परिस्थिति सामान्य बनाउन भारतीय र चिनियाँ सैनिक अधिकारीहरूको बैठक लद्दाखमा जारी रहेको नवभारत टाइम्सकी पत्रकार पुनम पाण्डेले जानकारी दिएकी छिन् । वार्तामा दुवै सेनाका मेजर जनरलस्तरको नेतृत्वमा सैन्य अधिकारीहरू छन् । 

अरुणाचलस्थित सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच सन् १९७५ मा झडप भएको थियो । झडपमा ४ जना भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ सैनिकहरू पनि घाइते भएका थिए । त्यसयता सीमा क्षेत्रमा सामान्य झडप भए पनि मृत्यु भएको थिएन ।
 
चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भारतीय सैनिक चिनियाँ इलाकामा जबर्जस्ती प्रवेश गरेका कारण घटना भएको आरोप लगाएको छ । भारतीय सेनालाई संयमित राख्न र एकतर्फी रूपमा जबर्जस्ती चिनियाँ भूभागमा प्रवेश गर्न नदिन चिनियाँ विदेश मन्त्रालयले भारत सरकारलाई आग्रह पनि गरेको छ । घटनामा चिनियाँ सैनिक घाइते वा मृत्यु भएका विषयमा चिनियाँ विदेश मन्त्रालयले केही भनेको छैन ।

एक महिनादेखि दुई  सेनाबीच गतिरोध बढिरहेको थियो । भारतीय विदेश मन्त्रालयको चीन डिभिजन हेर्ने सहसचिव नवीन श्रीवास्तव र चिनियाँ विदेश मन्त्रालयका महानिर्देशक वु जियाङहउबीच २३ जेठमा भिडियो बैठक भएको थियो । यसैगरी, २४ जेठमा दुई देशका लेफ्टिनेन्ट जनरलस्तरमा प्रत्यक्ष वार्ता भएको थियो । तिब्बततर्फ भएको वार्तामा भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंह र चीनका तर्फबाट मेजर जनरल लियु लिन सहभागी थिए ।  त्यसयता दुई चरणमा मेजर जनरलस्तरमा वार्ता भएको थियो । सोमबार मात्रै भारत र चीनका ब्रिगेड कमान्डरस्तरमा वार्ता भएको थियो ।
 
गलवान उपत्यकामा भारत र चिनियाँ फौज क्रमशः पछि हट्दै गएको र परिस्थिति सामान्य हुँदै जाने अपेक्षा गरिका वेला झडप भएको हो । सीमा क्षेत्रमध्ये चीनले तिब्बततिर सडकलगायतको पूर्वाधार निर्माण गरिसकेको छ भने भारतले आफ्नो क्षेत्रमा सडक तथा पूर्वाधार बनाइरहेको छ । भारततर्फ निर्माण भइरहेको पूर्वाधारप्रति चीनले असन्तुष्टि जनाउँदै आएको थियो । त्यहीबीचमा दुई आर्मी आमनेसामने भएका थिए । भारत र चीन दुवैले करिब एक ब्रिगेडस्तरका सैनिक सीमा क्षेत्रमा खटाएका थिए । पूर्वी लद्दाखका गलवानबाहेक पाङगोङ सो, डेमचोक, दौलत बेग ओल्डीलगायतमा एक महिनायता दुवै देशका सैनिक आमनेसामने छन् । 

यसैबीच, भारतका रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो परिस्थितिबारे छलफल गर्न विदेशमन्त्री डा. एस जयशंकर, चिफ अप डिफेन्स स्टाफ बिपिन रावत, सेनाप्रमुख मणिमुकुन्द नरभणे, सुरक्षा सल्लाहकार अजित डोभाल, हवाई तथा जलसेनाका प्रमुखहरूको बैठक बोलाएका छन् । सेनाध्यक्ष नरभणेको सोमबार पठानकोट जाने कार्यक्रम पनि स्थगित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।