मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
२०७७ असार २ मंगलबार १०:३२:००
Read Time : > 2 मिनेट
नयाँCity

आगन्तुक पर्खिंदै संग्रहालय

Read Time : > 2 मिनेट
२०७७ असार २ मंगलबार १०:३२:००

नारायणहिटी दरबार संग्रहालयस्थित त्रिभुवन सदनको पुनर्निर्माण धमाधम छ, अहिले । यही सदनमा १९ जेठ ०५८ मा दरबार हत्याकाण्ड भएको थियो । यस्तै, गणतन्त्र स्मारकमा रहेको संग्रहालय पनि ‘रिसेट’ गरी खोल्ने तयारी छ । ‘लकडाउन खुलेको महिनादिनमै संग्रहालय खुला गर्नेछौँ,’ कार्यकारी निर्देशक भेषनारायण दाहाल भन्छन्, ‘हाम्रो आम्दानीको मुख्य स्रोत नै आगन्तुकबाट उठाइने शुल्क हो । र, त्यसको ६० प्रतिशत आन्तरिक निर्माण र रेखदेखमा खर्च हुन्छ ।’ यस संग्रहालयका ३१ वटा कक्ष सर्वसाधारणका लागि खुला छन् । कास्की, पर्वत, लमजुङ र गोर्खा हल यस संग्रहालयका मुख्य प्रदर्शनी कक्ष हुन् ।

जेष्ठ शुक्ल पूर्णिमाको अवसरमा २३ जेठमा पाटन दरबारस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सुनको सिंहासन प्रदर्शन गरियो । तर, विगतजस्तो दर्शक उपस्थित थिएनन्, यसपटक । ‘लकडाउनका वेला दरबार संग्रहालयको मुख्य काम नै यही भयो,’ संग्रहालयका अधिकृत सुरेश लाखे भन्छन्, ‘३५ जना कर्मचारी सातामा एकपटक आइरहेका छौँ । सबै ग्यालरीका डिस्प्ले खोल्छौँ र सरसफाइ गर्छौं ।’ ११ चैतमा लकडाउन घोषणा भएयता संग्रहालयमा आगन्तुकको प्रवेश निषेध छ ।

०१९ सालमा राष्ट्रिय धातुकला नाममा स्थापना भएको यो संग्रहालय ०५४ देखि सर्वसाधारणका लागि खुला भएको हो । यहाँ लिच्छवीदेखि शाह वंशसम्मका करिब एक हजार पाँच सय थान कलात्मक वस्तु छन् । तीमध्ये करिब दुई सय थान पुरातात्विक वस्तु राखिएका छन् । यो संग्रहालयमा अंग्रेजी अल्फाबेटअनुसार आठवटा ग्यालरी छन् । यहाँ राखिएको लाइटिङ प्रणालीजडित डिस्प्ले बोर्ड दक्षिण एसियाकै उत्कृष्ट रहेको संग्रहालय व्यवस्थापनको दाबी छ ।

नारायणहिटी दरबार संग्रहालयमा त्रिभुवन सदनको पुनर्निर्माण र गणतन्त्र स्मारकस्थित संग्रहालयको ‘रिसेट’ भइरहेको छ, अहिले । लकडाउन खुलेको महिनादिनमै खुला गर्ने तयारीमा छ, संग्रहालय व्यवस्थापन ।

शाह र राणा परिवारसम्बन्धी ऐतिहासिक सामग्री संगृहीत हनुमानढोका संग्रहालयमा पनि दैनिक सरसफाइ भइरहेको छ । नजिकै बस्ने कर्मचारी मात्र पुग्छन् । ‘७० कर्मचारी छन्, अहिले भने सातजना मात्र नियमित आइरहेका छन्,’ संग्रहालयकी कार्यकारी निर्देशक अरुणा नकर्मी भन्छिन् । लकडाउनयताका दुई साता भने उनीहरू पनि आएनन् । त्यसपछि मात्र उनीहरू नियमित आइरहेका छन् । ‘कतिपय ऐतिहासिक सामग्रीलाई हावा चाहिन्छ, त्यस्ता सामग्रीको संरक्षण हेतु हावा पास गराइरहेका छौँ,’ उनी भन्छिन् ।

कोरोना भाइरसको उद्गम थलो चीनमा १ मेदेखि नै बेइजिङस्थित राष्ट्रिय संग्रहालय खुला भएको छ । युरोपेली मुलुक डेनमार्कले पनि मे तेस्रो सातादेखि संग्रहालय खुला गरेको छ । कोरोना प्रसार कम हुँदै गएपछि दुवै मुलुकले लकडाउनबाट दिक्क भएका नागरिकका लागि मात्र संग्रहालय खुला गरेका हुन् । नेपालमा भने संक्रमण बढ्दो क्रममा रहेकाले तत्काल संग्रहालय खुल्ने सम्भावना छैन । सबै संग्रहालय बन्द छन् ।

तिनैमध्येका हुन्, भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय आर्ट ग्यालरी र दत्तात्रेयको धातु तथा काष्ठकला संग्रहालय । दुवैमा संगृहीत सामग्री आइतबार र बुधबार सरसफाइ गरिन्छ । दत्तात्रयमा मल्लकालीन धातु र काष्ठकलाका सामग्री छन् । दरबार संग्रहालयमा लिच्छवीकालीन प्रस्तर, मल्लकालीन पौभा, चित्रकला र सुनको जलपमा लेखिएका हस्तलिखित ग्रन्थ छन् । ३२ मध्ये २० कर्मचारीले नियमित रेखदेख गरिरहेको दरबार संग्रहालयकी प्रमुख सरस्वती सिंह बताउँछिन् । दुवै संग्रहालयले फेसबुक पेजमा आफूसँग रहेका सामग्रीका तस्बिर पोस्ट गर्र्दै आएका छन् ।

देशभरका सबै संग्रहालय सुनसान छन् । ती सबैका कर्मचारी लकडाउनमा लामो समय घरमै बसेर निसास्सिएका आगन्तुकको स्वागत गर्न आतुर देखिन्छन् ।

छाउनीस्थित राष्ट्रिय संग्रहालय

छाउनीस्थित राष्ट्रिय संग्रहालयमा पनि कर्मचारी नियमित पुग्छन् । र, फिनेल छर्किंदै किरामुक्त बनाउने प्रयास गर्छन् । पुरातŒवका पारखीलाई जोडिराख्ने उद्देश्यले आफ्नो फेसबुक पेजमा संग्रहालयमा रहेका सामग्रीको तस्बिर खिचेर दैनिक पोस्ट गर्छन् । ‘लकडाउनपछि पनि सरकारको निर्देशिकाअनुसार संग्रहालय खुला गरिनेछ,’ संग्रहालय प्रमुख जयराम श्रेष्ठ भन्छन् । यस संग्रहालयमा नेपाल एकीकरणमा प्रयोग भएका हतियार, राणा परिवारका भेषभुषा, लिच्छवीकालदेखिका मुद्रा, वन्यजन्तु र जनजातिसँग सम्बन्धित सामग्री छन् । कर्मचारीले दैनिक ती सामग्रीको सरसफाइ गर्ने गरेका छन् ।

यस्तै, राजा पृथ्वीनारायण शाह र उनको परिवारसँग सम्बन्धित ऐतिहासिक सामग्री संकलित गोरखा दरबारस्थित तल्लो र माथिल्लो दुवै संग्रहालय पुनर्निर्माण भइरहेका छन् । दरबार संग्रहालय प्रमुख नवराज अधिकारीका अनुसार राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्रका लागि बनाएकोलाई तल्लो दरबार भनिन्छ । माथिल्लो भने पृथ्वीनारायण शाहको दरबार हो । ५ चैतयता दुवै संग्रहालय आगन्तुकका लागि बन्द छन् । लकडाउनले प्रविधिको प्रयोगलाई व्यापक बनाइदिएको छ । त्यही सिको गर्दै यतिवेला गोरखा संग्रहालयले पनि सामाजिक सञ्जाल र वेबसाइटमा आफूलाई लैजाने प्रयास थालेको छ ।

पोखरा र सुर्खेतस्थित प्रादेशिक संग्रहालयहरूमा पनि नियमित रेखदेखका काम मात्र भइरहेका छन् । पोखरा संग्रहालयमा गण्डकी प्रदेशमा बसोवास गर्ने जनजातिका भेषभुषा र संस्कृतिसम्बन्धी सामग्री राखिएको छ । सुर्खेत संग्रहालयमा काँक्रेविहारमा काँचबाट बनेका इँटाका टुक्रादेखि मगर, थारू, राउटे, कुमाललगायत जातिका संस्कृति झल्किने सामग्री राखिएको छ । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयमा कुनै चहलपहल छैन, अहिले । राष्ट्रिय कला, राष्ट्रिय प्राकृतिक, राष्ट्रिय जनजाति, थारू, लोकबाजा, राष्ट्रिय मुद्रा, लेप्चालगायत सबै संग्रहालय सुनसान छन् । ती सबैका कर्मचारी लकडाउन खुलेपछि लामो समय घरमै बसेर निसास्सिएका आगन्तुकको स्वागत गर्न आतुर छन् ।