मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २ मंगलबार ०४:५६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेपाल मामिलामा भारतमै मोदी सरकारको विरोध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २ मंगलबार ०४:५६:००

नेपालसँगको विवादलाई लिएर भारतमै प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध हुन थालेको छ । भारतीय राष्ट्रिय कंग्रेस (कंग्रेस आई)का वरिष्ठ नेता डा. करण सिंहले भारत सरकारले नेपालसँग सम्बन्ध सञ्चालनमा गम्भीर कूटनीतिक भूल गरेको आरोप लगाएका छन् । 

कंग्रेसको विदेश विभाग प्रमुख रहिसकेका तथा ०६२/६३ को आन्दोलनताका तत्कालीन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको विशेष दूतका रूपमा नेपाल आएका डा. सिंहले भारत सरकारले गरेको कूटनीतिक गल्तीको नतिजा अहिले देखिएकोसमेत बताएका छन् । उनले नेपाललाई भारतसँग मुठभेडको दृश्यमा पुर्‍याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि आलोचना गरेका छन् । 

सोमबार साँझ विज्ञप्ति जारी गरी डा. सिंहले दुई देशबीच लामो समयदेखिको सीमा विवादलाई गत कात्तिकदेखि नेपालले गम्भीरतापूर्वक उठाएको, तर भारतले बेवास्ता गर्दाको परिणाम अहिले देखिएको पनि आरोप लगाएका छन् । ‘आश्चर्य यो छ कि हामीले तुरुन्तै यो विषयलाई गम्भीर रूपमा लिन खोजेनौँ । हामीले तुरुन्तै विदेशसचिवस्तरमा, विदेशमन्त्रीस्तरमा वा प्रधानमन्त्रीस्तरबाटै वार्ताको प्रयास गर्नुपथ्र्यो,’ सिंहले भनेका छन्, ‘परिस्थिति यसरी बिग्रिन हामीले दिनुहुँदैनथ्यो । तर, हामीले गरेको गम्भीर कूटनीतिक भूलको नतिजा हाम्रोअगाडि छ ।’ 

प्रधानमन्त्री ओलीले नेपाललाई भारतसँग मुठभेडको अवस्थामा मुलुकलाई पु¥याएकोमा पनि नेता सिंहले दु:ख प्रकट गरेका छन् । ‘शताब्दीयौँदेखि दुई देशबीच रहेको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक र आर्थिक सम्बन्धका बाजबुद देशलाई अपरिवर्तनीय मुठभेडको दृश्यमा प्रधानमन्त्री ओलीले पुर्‍याएका छन्,’ डा. सिंहले भनेका छन्, ‘यसबाट भारतलाई केही असर पर्छ कि पर्दैन भन्दा पनि सुन्दर देश नेपालका जनताका लागि यो परिस्थिति भविष्यमा अनुकूल हुनेछैन भन्नेमा म चिन्तित छु ।’ आफू दशकौँदेखि नेपालसँग व्यक्तिगत र राजनीतिक रूपमा जोडिएका कारण परिस्थितिप्रति चिन्ता व्यक्त गरेको उनको भनाइ छ । यसअघि कंग्रेस विदेश विभाग प्रमुख आनन्द शर्मा र प्रवक्ता रणदीपसिंह सुर्जेवालाले पनि विज्ञप्ति निकालेर नेपालसँग सम्बन्ध बिग्रेको भन्दै प्रधानमन्त्री मोदीको आलोचना गरेका थिए । 

सम्बन्ध बिग्रिँदैन : रक्षामन्त्री सिंह
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न नसक्ने भन्दै लिपुलेकको विषयमा नेपालसँग संवादमार्फत समाधान खोज्ने बताएका छन् । तर, लिपुलेक नेपाली भूमि भएको तथा नेपाली भूमि भएर लिपुलेक जोड्ने सडक निर्माण गरेको स्वीकार गरेका छैनन् । बरु, आफूले उद्घाटन गरेको सडकबाट भारतीयलाई कैलाश मानसरोवर पुग्न ६ दिन छोट्टिएको जिकिर गरेका छन् । 

सोमबार उत्तराखण्डका भाजपा कार्यकर्तालाई दिल्लीबाट सम्बोधन गर्दै रक्षामन्त्री सिंहले दुई देशबीच रोटीबेटीको सम्बन्ध रहेको चर्चा गर्दै धार्चुलादेखि लिपुलेकसम्म भारतले बनाएको सडकबारे नेपालमा भ्रम उत्पन्न भएको टिप्पणी गरेका छन् । उनले नेपाल र भारतको सम्बन्ध सामान्य नरहेको बरु अत्यन्त गहिरो र घनिष्ठ रहेकोसमेत बताएका छन् । ‘हामी बातचितका माध्यमबाट यो मामिलाको समाधान गर्नेछौँ । म यति भन्छु कि भारतमा रहने हामी कोही कसैमा पनि नेपालका जनताप्रति कुनै पनि प्रकारको कटुता हुन सक्दैन । हामी आपसमा मिलेर यी सबै समस्याको समाधान गर्नेछौँ,’ सिंहले भने । 

उनले नेपाल–भारत सीमाबारे भ्रम सिर्जना भएको पनि टिप्पणी गरेका छन् । ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र सामाजिक सम्बन्धलाई ध्यानमा राख्दै संवादमार्फत समाधान गरिने उनको भनाइ छ ।