मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ असार १ सोमबार २०:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

गण्डकी प्रदेशको बजेट पौने ३५ अर्ब : ४१ प्रतिशत बजेट भौतिक पूर्वाधार विकासमा

Read Time : > 1 मिनेट
२०७७ असार १ सोमबार २०:४१:००

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सभामार्फत सोमबार बजेट सार्वजनिक गरेका हुन् ।

चालू वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट दुई अर्ब ७१ करोड ७४ लाखले बढी छ । प्रदेशको चालू आर्थिक वर्षको बजेट ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार थियो ।

बजेटले स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, कृषि, उद्योग, पूर्वाधार, सिर्जनशील मानव पुँजी निर्माण तथा विकास र सुशासनलाई समृद्ध प्रदेश निर्माणको आधार मान्दै सोहीअनुसार लगानीलाई उच्च प्राथमिकता दिएर रकम विनियोजन गरिएको छ । सार्वजनिक गरिएको बजेटमा चालूतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार, पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको छ ।

कुल बजेटलाई प्रतिशतमा हेर्दा चालूतर्फ ४१.२, पुँजीगततर्फ ५७.४ र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत छ । बजेटले भाैतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएको छ । जसअनुसार कुल बजेटको ४१ दशमलव ५२९ प्रतिशत बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजन गरिएको छ ।

बजेटमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान सात अर्ब ११ करोड २६ लाख, ससर्त अनुदान चार अर्ब २० करोड ८४ लाख, समपूरक अनुदान एक अर्ब ४९ करोड ८९ लाख, विशेष अनुदान ५४ करोड, राजस्व बाँडफाँडबाट सात अर्ब ५७ करोड ३७ लाख, रोयल्टी ३० करोड, आन्तरिक राजस्वमार्फत चार अर्ब ६० करोड ८५ लाख ६० हजार प्राप्त हुने मन्त्री गुरुङले जानकारी दिए ।

न्यून पूर्ति गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने नगद मौज्दात सात अर्ब, आन्तरिक ऋणबाट एक अर्ब र आन्तरिक ऋणबाट पनि अपुग हुने एक अर्ब नेपाल सरकारबाट ऋण लिइने मन्त्री गुरुङले सभामा जानकारी गराए ।