मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार १ सोमबार १७:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रदेश १ सरकारद्वारा ४० अर्ब ८९ करोड ९९ लाखको बजेट सार्वजनिक

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार १ सोमबार १७:३८:००

प्रदेश १ सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बाेले सोमबार प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारबराबरको बजेट प्रस्ताव गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये  १८ अर्ब  ९३ करोड ४९ लाख ९३ हजार चालूतर्फ र पुँजीगततर्फ २१ अर्ब  ९२ करोड  ५० लाख चार हजार प्रस्ताव गरिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेश १ सरकारले ६ अर्ब नगद मौज्दात रहने अनुमान गरेको छ । प्रस्तावित बजेटअनुसार कृषिमा तीन अर्ब ८३ करोड १६  लाख, आठ अर्ब ७३ करोड भौतिक निर्माण र यातायात, एक अर्ब ३७ करोड सहरी विकास, चार अर्ब नौ करोड सिँचाइ र नदी व्यवस्थापन, दुई अर्ब ५० करोड  खानेपानी र सरसफाइमा एक अर्ब १९ करोड १० लाख पर्यटन र एक अर्ब ४५ करोड वन व्यवास्थापन बजेट विनियोजन प्रस्ताव गरेको छ । 

प्रदेशमा दलित महिला सशक्तिकरण विधेयक निर्माण, दलित विद्यार्थीलाई छात्रवृत्ति, दलित र सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउनेदेखि विदेशबाट फर्केका युवाहरूलाई रोजगारी दिने, साना कृषकलाई विनाब्याज ऋणका लागि पनि सरकारले बजेट छुट्याएको छ । 

प्रदेश सरकारले आगामी आर्थिक वर्ष तीन दशमलव चार प्रतिशत आर्थिक वृद्धि हुने अनुमानित लक्ष्य राखेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा प्रदेश १ सरकारले आर्थिक वर्षका कुल ४२ अर्ब २० करोड चार लाख १२  हजार रुपैयाँबराबरको अनुमानित बजेट प्रस्तुत गरेको थियो । गत आर्थिक वर्ष कुल विनियोजित बजेटमध्ये १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार चालूतर्फ र २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार रुपैयाँ पुँजीगत खर्चमा प्रस्ताव गरिएको थियो ।