१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १ सोमबार १२:४८:००
Read Time : > 1 मिनेट
समाचार

श्रीमानको हत्या आरोपमा  श्रीमती, प्रेमी र सहयोगी  जेल चलान 

Read Time : > 1 मिनेट
२०७७ असार १ सोमबार १२:४८:००

आफ्नै योजनामा श्रीमानको हत्या गराउने श्रीमतीसहित  जिल्ला अदालत मोरङले प्रेमी र उनका सहयोगीलाई पनि  कारागार पठाएको छ ।  विराटनगर महानगरपालिका– १० मधुमारामा थोक  औषधि व्यवसाय गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आरोपमा श्रीमती २९ वर्षीया मीना श्रेष्ठसहित  प्रेमी  सिराहा लहान नगरपालिका– १० घर भई  विराटनगर बस्ने २१ वर्षीय ब्रह्मदेव साह र सहयोगी इटहरी १२ का २० वर्षीय सोनु साहलाई पुर्पक्षका लागि अदालतले थुनामा राख्न कारागार पठाएको हो ।  

जिल्ला अदालत मोरङका श्रेस्तेदार ईश्वरमणि ओझाका अनुसार  न्यायाधीश राजकुमार कोइरालाको इजालासले आइतबार अभियुक्त श्रीमतीसहित तीनैजनालाई  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।  जिल्ला प्रहरी मोरङको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा श्रीमतीसहित तीनजनाविरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो । 

 सिकिस्त बिरामी  भन्दै श्रीमानलाई अस्पताल लगेकी थिइन् 
३ जेठ ०७७ राति श्रीमती मीनाले आफ्ना प्रेमी ब्रह्मदेव र उनका सहयोगी सोनुसँग मिलेर सुतिरहेको वेला ओछ्यानमा  आफ्ना श्रीमानको हत्या गराएकी थिइन् । आफ्नै योजनामा आफ्नैअगाडि श्रीमानको हत्या गराएपछि उनले सिकिस्त बिरामी भएको भन्दै मृत श्रीमानलाई उपचारका लागि बिहान २ बजे अस्पताल पुऱ्याएकी थिइन् । तर, अस्पतालमा चिकित्सकले पहिले नै मृत्यु  भइसकेको पृष्टि गरिदिए । 

ओछ्यानमा  रगत फेला परेको र व्यवसायी दुलालको शरीरमा नीलडाम र चोट  देखिएकोले मोरङ प्रहरीको टोलीले अनुसन्धान गर्दा श्रीमती मीनाकै योजनामा श्रीमान दुलालको हत्या भएको खुलेको थियो । 

श्रीमानको हत्यापछि सेतो कपडा लगाएर किरिया बसेकी थिइन् श्रीमती 
त्यसपछि प्रहरीले ४ जेठमा दाहसंस्कार गरेर सेतो कपडा लगाएर श्रीमानको किरिया बसेकी श्रीमती मीनासहित उनका प्रेमी ब्रह्मदेव र सहयोगी सोनुलाई पक्राउ गरेर अनुसन्धान थालेको  थियो । प्रहरीले गरेको अनुसन्धानअनुसार सुनसरीको इटहरी उपमहानगरपालिका खनार घर भएका औषधि व्यवसायी दुलालले पाँचथर माइत भएकी मीना श्रेष्ठसँग अन्तर्जातिय प्रेमविवाह गरेका थिए । उनी एक छोरासहित विराटनगर १० मधुमारामा देवी माँ पाथीभरा फर्मा  खोलेर औषधिको थोक व्यवसाय गर्दै आएका थिए । उनीहरूले आफ्ना एक  मात्र आठवर्षे छोरालाई होस्टेलमा राखेका थिए । 

श्रीमानको हत्या गरेर सबै कारोबार प्रेमीसँग मिलेर चलाउने योजना विफल 
कारोबारको सिलसिलामा श्रीमान दुलाल प्रायः घरबाहिर रहने भएकाले श्रीमती मीनाको आफ्नै कम्पनीमा काम गर्ने ब्रह्मदेवसँग अवैध सम्बन्ध बढेको थियो । उक्त कुरा थाहा पाएपछि दुलाल र उनकी श्रीमतीबीच सम्बन्ध चिसिएको थियो । यसैले श्रीमान् दुलाललाई मारेर सबै कारोबार आफूहरूले  हत्याउने योजना बनाएर श्रीमती मीनाले श्रीमानको आफ्नै आँखाअगाडि प्रेमीसँग मिलेर हत्या गराएकी थिइन् ।

घटनाको दिन साथीहरूसँग पार्टी खाएर सुतेका श्रीमानको हत्या गराउन श्रीमती मीना आफैँले घरको मुलढोका खोलिदिएकी थिइन् । त्यसपछि प्रेमी ब्रह्मदेव र उनका सहयोगी सोनुले रक्सीले मातेर सुतिरहेको अवस्थामा डोरीले घाँटी बेरेर हत्या गरेका थिए । हत्याआरोपी प्रेमी ब्रह्मदेवले चार महिनाअघि मात्र मागीविवाह गरेका थिए ।