मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १ सोमबार ०६:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

यस वर्ष निजी विद्यालयका कक्षा १ को पाठ्यपुस्तकमा मात्र नयाँ नक्सा

छपाइ भइसकेका पुस्तकमा सच्याएर पढाउन पाठ्यक्रम विकास केन्द्रको निर्देशन

Read Time : > 1 मिनेट
२०७७ असार १ सोमबार ०६:४१:००

यस वर्ष निजी विद्यालयमा पढाइ हुने कक्षा १ का पाठ्यसामग्रीमा मात्र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा छापिने भएको छ । अन्य कक्षाका पाठ्यपुस्तक छपाइ भएर बजारमा गइसकेका छन् । 

यस वर्षदेखि पाठ्यक्रम परिवर्तन भएको र कक्षा १ को पुस्तक छपाइका लागि अझै स्वीकृति दिइएको छैन । पाठ्यक्रम विकास केन्द्रले चाँडै कक्षा १ को पुस्तक छपाइका लागि स्वीकृति दिने तयारी गरेकाले नयाँ नक्सा समेटिने भएको हो । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले निजी विद्यालयमा पढाइ हुने कक्षा १ को पाठ्यसामग्री स्वीकृत नभएको र अब नयाँ नक्सासहितको सामग्री छपाउन लगाउने जानकारी दिए । मन्त्रिपरिषद्ले नयाँ राजनीतिक र प्रशासनिक नक्सा पारित गरेपछि केन्द्रले नयाँ नक्सा पढाउने विषयमा पहल सुरु गरेको थियो ।

 कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटिएको नक्सा निसान छापमा अंकित गर्ने प्रस्ताव शनिबार संसद्ले सर्वसम्मतिले पारित गरेको छ । कक्षा १ मा नेपाली, अंग्रेजी, सामाजिक र गणित गरी चार विषय राखिएका छन् । 

छपाइ भइसकेका पाठ्यपुस्तकमा भने सच्याएर पढाउन पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । नेपाली माध्यममा पढाइ हुने पाठ्यपुस्तक भने प्रकाशन भइसकेर बजारमा पुगेका छन् । 

माथिल्लो कक्षाका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ भएर बजार पुगेका हुन् । सरकारले छपाइ गरी निःशुल्क वितरण गर्ने नेपाली माध्यमका पाठ्यपुस्तक छपाइ भइसकेका छन् । छपाइ भइसकेका पाठ्यपुस्तक पढाउँदा नयाँ नक्साअनुसार पढाउन सबैलाई निर्देशन भएको केन्द्रका महानिर्देशक दाहालले बताए । 

कोभिड–१९को संक्रमण र शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक नियुक्त गर्न ढिलाइ हुँदा कक्षा १ को पुस्तक छपाइ हुन नसकेको हो । केन्द्रका अधिकारीका अनुसार कक्षा १ को पुस्तकका लागि ५० जति निजी प्रकाशन गृहले अनुमति मागेका छन् । 

केही पब्लिकेसनले केन्द्रको स्वीकृतिविना पुस्तक छपाइ गरेरसमेत बजारमा पठाएका छन् । केहीले पुस्तक नमुना छपाइ गरी निःशुल्क वितरण गरेका छन् । केही प्रकाशनगृहले गत वर्ष स्टक रहेका पाठ्यपुस्तक भन्दै बिक्रीवितरण गरेका छन् ।

यो वर्षदेखि कक्षा १ को पाठ्यक्रम परिवर्तन भएको जानकारी नभएका ठाउँमा पुराना पुस्तक बिक्री भइरहेका छन् । पाठ्यक्रम विकास केन्द्रले केही दिनअघि स्वीकृत नभएका पुस्तक नछाप्न र अघिल्लो वर्षका पुस्तक बिक्री नगर्न निर्देशन दिएको थियो ।

जनक शिक्षाले पनि अंग्रेजीमाध्यममा पुस्तक प्रकाशन गर्ने

जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ को अंग्रेजी भाषाको पुस्तक छपाइ गर्ने भएको छ । कक्षा १ मा गणित विषय अंग्रेजी भाषामा छपाइ गरेपछि जुनसुकै माध्यममा पढ्ने विद्यार्थीका लागि उपयुक्त हुने भएकाले तयारी गरेको जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक महेश तिमल्सिनाले बताए ।

उनले पाठ्यक्रम विकास केन्द्रले प्रिन्ट रेडी कपी (पिआरसी) तयारी गरिरहेको र आउनेबित्तिकै सुरु गर्ने बताए । सामुदायिक विद्यालयले समेत अंग्रेजी माध्यममा पठनपाठन गरिरहेकाले सहयोग पु-याउन यो निर्णय गरेको बताए । अरू तीन विषय अंग्रेजी वा नेपाली जुनसुकै माध्यमकाले पनि एउटै पढ्नुपर्छ । नेपाली र अंग्रेजी विषय भाषागत छन् भने सामाजिक विषयसमेत नेपाली माध्यममा पढ्नुपर्ने व्यवस्था छ ।

सन्दर्भसामग्रीमा छानबिन गर्दै अख्तियार

निजी विद्यालयमा अध्यापनका लागि तयार गरिएका सन्दर्भ सामग्रीमा केन्द्रबाट स्वीकृति दिनेक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारले आइतबार केन्द्रबाट थप अनुसन्धानका लागि भन्दै थप सामग्री लगेको छ । केन्द्रका महानिर्देशक दाहालले सन्दर्भ सामग्रीको विषयमा छानबिन गर्न आवश्यक सामग्री अख्तियारले लगेको बताए ।