मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ जेठ ३२ आइतबार १४:४१:००
Read Time : > 1 मिनेट
समाचार

४५ सयभन्दा बढीलाई नि:शुल्क एम्बुलेन्स सेवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ जेठ ३२ आइतबार १४:४१:००

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरिमा करिब चार हजार पाँच सयलाई निःशुल्क सेवा प्रदान गरेको छ । 

हृदयाघात, मिर्गाैला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निःशुल्क एम्बुलेन्सले लकडाउन अवधिभरमा एकतर्फी करिब तीन हजार र दुईतर्फी करिब चार हजार पाँच सयलाई सेवा दिएको काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।  

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लकडाउनका वेला हृदयाघात, मिर्गाैला रोगीलगायतका महानगरवासीहरूलाई २४सै घन्टा आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सो सेवा सुरु गरेको जानकारी दिए । ‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौँ,’ प्रमुख शाक्यले भने । 

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता बिरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा  लकडाउन अवधिभर ६ हजारभन्दा बढीले सम्पर्क गरेका थिए ।  

एम्बुलेन्स चालक संघ, नेपाल  (काठमाडौं जिल्ला कार्यसमिति) आर्थिक सहयोग गरी काठमाडौं महानगरपालिकाले लकडाउन अवधिभर निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो ।  काठमाडौं महानगरपालिकाले मुख्य गरेर डायलाइसिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी बेथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर पाँचवटा एम्बुलेन्सबाट लकडाउन अवधिभर सेवा दिएको हो ।  

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँचवटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्रभित्रका बिरामीलाई बढी प्राथमिकतासहित सेवा प्रदान गरेको बताए ।   चक्रपथबाहिर दुई किलोमिटरसम्मका बिरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलाइसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उनको भनाइ छ । सुरुमा वैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप भएको हो । 

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्य दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिए । ‘हामीले लकडाउन अवधिभरिका लागि मात्रै सम्झौता गरेका हौँ,’ उनले भने, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत मध्यनजर गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निःशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि स्थगन गरेका हौँ ।’ 

काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरूलाई सेवा दिन भन्दै काठमाडौं महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई तयारी अवस्थामा राखेको छ ।