मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेमसागर कर्माचार्य
२०७७ जेठ ३२ आइतबार ०८:४९:००
Read Time : > 5 मिनेट
दृष्टिकोण

ठूला तथा निजी अस्पताल रगत सञ्चय गर्छन् र महँगोमा बेच्छन्

Read Time : > 5 मिनेट
प्रेमसागर कर्माचार्य
२०७७ जेठ ३२ आइतबार ०८:४९:००

विश्व रक्तदाता दिवस जुन १४ मनाइरहँदा आफ्नो शरीरको रगत निःस्वार्थ भावका साथ दान गर्नुहुने सम्पूर्ण स्वयंसेवी रक्तदातालाई सलाम । हरेक साल यो दिन मलाई केही घटनाको सम्झना हुने गर्छ । यहाँ म त्यस्तै एउटा घटनाको संस्मरण व्यक्त गर्दै छु, यो हाम्रो समाजको एक प्रतिनिधि घटना हुन सक्छ । 

कुरा आजभन्दा झन्डै ६-७ वर्षअघिको हो । भृकुटीमण्डप प्रदर्शनीमार्गमा अवस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवामा सधैँझैँ भिड थियो । मानिस आफ्ना बिरामीका लागि रगत र रगतबाट तयार पारिएको रक्ततत्व लिन उभिएका थिए । मानिस धेरै भएकाले घुइँचो थियो । रगत र रगतबाट तयार पारिएका रक्ततत्व पीडित पक्षले कसैले पाउन सफल भए त कोहीले हात पार्न सकेनन् ।

कोही रगत र रक्ततत्व हासिल गर्न सक्ने ठुलै लडाइँ जितेको अनुभूतिका साथ प्रसन्न मुद्रामा फर्किरहेका थिए भने कति निरास भएर फर्किरहेका थिए । त्यसपछि ९८५१०६९३३८ मा फोन आउने क्रम बढ्न थाल्यो । सायद फोन गर्नेहरूमा भर्खरै निराश भएर फर्किनेहरू पनि थिए जो रगत पाइहालिएला भन्ने आशाका साथ फोन गरिरहेका थिए । ती पीडित पक्षलाई आवश्यकतानुरूप रगत र रगतबाट तयार पारिएका रक्ततत्व उपलब्ध गराउने काम अबेर रातसम्ममा भयो, हामी स्वयंसेवी रक्तदाताको तर्फबाट ।

त्यसको भोलिपल्ट बिहानै पुनः एक फोन आयो । फोन गर्नेको आफन्त पाटन अस्पतालमा थिइन् र उनलाई रगत चाहिएको थियो । फोन गर्नेको स्वर मलिनो थियो । उनीसँगको संवाद यस्तो थियो :

अस्पतालका कर्मचारीले दिन मिल्दैमिल्दैन भन्न थाल्यो । ‘किन नमिल्ने ? फ्रिजमा, रगत कैद गरेर राख्न हुने पीडितको शरीरमा रगत चढाउन नहुने ? तपाईं दान गरेको रगतको मर्म र आवश्यकता बुझेर दिनुहुन्छ कि म आफैँ निकालेर लिएर जाउँ ? हेरौँ को आएर रोक्दो रहेछ ।’ मैले कड्केर टेबुलमा आफ्नो परिचय कार्ड पनि तेस्र्याउँदै भनेँ ।

-हेलो हजुर !
सेवाग्राही - नमस्कार ! नमस्कार ! तपाईंको नम्बर पाटन अस्पतालका एकजना दिदीले दिनुभएको ।
- को हुनुहुन्छ ? केको लागि होला ?
सेवाग्राही – म धादिङबाट आएको, मेरी श्रीमती प्रसूति व्यथाले पाटन अस्पतालमा छटपटीमा छिन् ।
- के गर्नुपर्ने हो भन्नु ?
सेवाग्राही - ए नेगेटिभको रगत दुईवटा पोका चाहिने भयो ।
रक्त सञ्चार सेवा - ‘ब्लड बैंक’ जानुभएन ?
सेवाग्राही - सबैतिर खोजेँ, छैन भन्यो ।
- मलाई चिन्नुहुन्छ ?
सेवाग्राही- छैन ।
-कहिलेका लागि चाहिने ?
सेवाग्राही - अहिले, आज ल्याउनु भनेको छ ।
- कहाँ हुनुहुन्छ, अहिले ?
सेवाग्राही – पाटन अस्पतालमा छु ।
-ल, यता रक्तसञ्चार सेवामा आउनू ।
सेवाग्राही - कहाँ हो, सर ?
- भृकुटीमण्डप, प्रदर्शनीमार्ग ।
सेवाग्राही -हस्, सर म आइहालेँ ।
झन्डै आधा घन्टा, ४५ मिनेटको फरकमा मेरो मोबाइलमा पुनः त्यही नम्बरबाट फोन आयो ।
- हेलो हजुर !
सेवाग्राही- सर, कहाँ हुनुहुन्छ ? म आइपुगेँ ।
त्यो आवाज मेरै पछाडिबाट आएकोझैँ लाग्यो र फर्केर हेरेँ । 
तपाईंले फोन गर्नुभएको हो ?
सेवाग्राही - हजुर सर !
- के भयो, खोइ कागज ?
खल्तीबाट अस्पतालको कागज निकाल्दै देखाए ।
सेवाग्राही - हिजो हजुरलाई त यहीँ देखेको थिएँ ।
ए ! हो र ?
सेवाग्राही - हजुर ।
- कहिलेको समय दिएको छ ?
सेवाग्राही- अहिले नै ल्याउनु, आजै अप्रेसन गर्नुपर्छ भन्नुभएको छ ।
- तपाईं को नि व्यथा लागेको मानिसको ?
सेवाग्राही - श्रीमान् ।
- ए, पहिलो गर्भ कि दोस्रो ?
सेवाग्राही - पहिलो ।
- हेमोग्लोबिन कति छ, थाहा छ तपाईंलाई ?
सेवाग्राही - थाहा छैन, सर ।
- अस्पतालमा को हुनुहुन्छ ? एकपटक फोन लगाउनु र डाक्टर नर्स को हुनुहुन्छ, मलाई कुरा गर्न लगाउनु । त्यसपछि उनले मलाई फोन लगाएर दिए ।
-हजुर ! नमस्कार ! को बोल्नुभएको ?
उताबाट महिलाको आवाज सुनेँ – म सिस्टर बोलेको ।
- सिस्टर ! बिरामीको हेमोग्लोबिन कति छ ?
सिस्टर- एकछिन पर्खनुस्, म हेरेर भन्छु ।
- हस्, हुन्छ ।
सिस्टर - ८.७ छ ।
- ए ! हस्, धन्यवाद !

त्यसपछि मैले ती सेवाग्राहीलाई पर्खन आग्रह गरेँ र म रगत जोहोका लागि यताउता फोन लगाउन थालेँ । कहीँ पनि खोजेको रगत भेट्टिएन । अन्त्यमा स्वयंसेवी रक्तदाता साथीहरूलाई बोलाउन थालेँ । रगत दिन स्वयंसेवी रक्तदाता साथीहरू आइपुग्नुभयो ।

उहाँहरूको रक्तदान गर्ने विस्तृत व्यक्तिगत फारम भर्न थालेँ । तत्पश्चात् स्वास्थ्य जाँचका लागि प्राविधिकसमक्ष पु-याएँ । सबै कुरा ठीक भएपछि रक्तदानका लागि रक्त संकलन थैलीका साथ रक्तदान गर्ने कक्षमा लगियो र रक्तदान भयो । स्वयंसेवी रक्तदाता र पीडितका श्रीमान्बीच परिचय गराइदिएँ । एक-आपसमा नमस्कार र धन्यवाद आदानप्रदान गर्ने काम भयो ।

छुट्नेवेला ती सेवाग्राहीलाई परीक्षण सकिएपछि रगत लिएर जान भनेर छुट्टियौँ । भोलिपल्ट बिहान २ बजे मेरो मोबाइलमा घन्टी बज्यो । उताबाट रुन्चे स्वरमा आवाज आएको सुनेँ । फोन गर्ने अघिल्लो दिनको सेवाग्राही नै रहेछन्। 

सेवाग्राही -दाइ म अघि दिउँसो ए नेगेटिभ रगत लाने भाइ बोलेको ।
- के भयो ? किन रोएको ?
सेवाग्राही- अप्रेसन सकियो । ४ पोका रगत ल्याउनु भनेर डाक्टर साहेबले कागज दिनुभएको छ ।
- अघि दिउँसो लगेको रगत चढायो त ?
सेवाग्राही - खोइ थाहा भएन ।
- हेमोग्लोबिनको मात्रा कति छ ? बुझेर तुरुन्तै आउनु ।
यति संवादपछि म रक्तसञ्चार सेवाकेन्द्र प्रदर्शनीमार्गतर्फ हिडेँ । म पुगेको १० मिनेटपछि बिरामीको श्रीमान् आइपुगे ।
- खोइ कागज दिनु त, अनि हेमोग्लोबिन कति छ नि ?
सेवाग्राही - ३ मात्र छ रे ।
त्यति न्यून संख्या पढेर स्तब्ध हुँदै म रक्तसञ्चार सेवाकेन्द्र भवनभित्र दौडिँदै पुगेँ । प्राविधिक कर्मचारी मित्रलाई कागज देखाउँदै रगत दिनुप-यो भनेँ । प्राविधिक कर्मचारीले रगत नरहेको बताए । 

दिउँसो मात्र दुईवटा ए नेगेटिभ रक्तदाताबाट म आफैँले तान्न लगाएर ल्याएको थिएँ । कुन अस्पतालमा कसका लागि पठायो त ? सोधीखोजी गर्न थालेँ । बल्लतल्ल एउटा आइएसओप्राप्त अस्पतालमा लगेको भेटियो । रातको समय थियो । त्यो अस्पतालको नम्बर पत्ता लगाएर फोन लगाउन सुरु गरेँ ।
अस्पतालले फोन उठायो । 

- नमस्कार ! ए नेगेटिभका दुईवटा रगत त्यस अस्पतालमा लगिएको रहेछ । के छ, प्रयोग भयो कि छैन ?
अस्पतालबाट - आज बिहानको अप्रेसनका लागि हो ।
- ए, बिहानका लागि हो भने, अहिलेलाई त्यो रगत पाटन अस्पतालमा प्रसूतिका कारण बच्चा र आमाको ज्यान नै खतरामा परेको हुनाले, हाललाई त्यो रगत उता पठाई सहयोग गर्नुप-यो । 

यसो भन्दा ममा अनुरोधको आवाज आएको थियो ।
उताबाट रुखो भाकामा जवाफ आयो -बिहान ८:०० बजे अप्रेसन छ । दिन मिल्दैन ।
तपाईंको बिरामीको अप्रेसन भोलि बिहान ८:०० बजे हो भने हामी रगतको पोका अथवा स्वयंसेवी रक्तदाता उपलब्ध गराइदिन्छौँ । हाललाई त्यो रगत दिनुप¥यो भनेर पुनः अनुरोध गरेँ।

अस्पतालबाट : अहँ, हुँदैन । दिन मिल्दैन ।

मैले आफ्नो परिचय दिँदै भनेँ- हेर्नुस् कसैले दानमा दिएको रगत कसैको पेवा होइन । अहिले मध्यरातमा सुतिरहेका स्वयंसेवी रक्तदातालाई किन उठाउनु ? त्यहाँ फ्रिजमा राखुन्जेल पीडितको शरीरमा रक्त सञ्चार हुन गई स्वास्थ्यलाभ त गरिन्छ । त्यसकारणले त्यो रगत दिएर पठाइदिनू अस्पतालबाट सर्त आयो- एक पोका दिन्छु । बिहान ल्याइदिनुपर्छ ।

- हुन्छ, रगतको पोका वा स्वयंसेवी रक्तदाता जुनै भए नि उपलब्ध गराइदिउँला । तत्पश्चात् एक पोका रगत दिन इच्छुक भएर पठाउनु भन्यो । अब म दुविधामा परेँ । एक्लै पठाउँ धादिङको ड्राइभर पेसा गर्नेलाई त्यत्तिकै रित्तोहात पठाउलान् । म आफैँ ट्याक्सी लिएर आइएसओ प्राप्त भनिएका अस्पतालतर्फ हुइँकिएँ । त्यस अस्पतालमा मैले पहिलोपटक पदार्पण गरेको थिए । तीन तलामाथि पुगेर, ढोका ढकढक्याएँ । बल्लबल्ल कर्मचारी उठेर आउनुभयो ।

मैले रगत लिन आएको बताएपछि अस्पतालका कर्मचारीले एक पोकाको बिल तिर्नु भन्न थाल्यो । त्यो सुनेपछि मैले दुई पोका नै दिनुस् भनेँ । अस्पतालका कर्मचारीले दिन मिल्दैमिल्दैन भन्न थाल्यो । 

‘किन नमिल्ने ? फ्रिजमा, रगत कैद गरेर राख्न हुने पीडितको शरीरमा रगत चढाउन नहुने ? तपाईं दान गरेको रगतको मर्म र आवश्यकता बुझेर दिनुहुन्छ कि म आफैँ निकालेर लिएर जाउँ ? हेरौँ को आएर रोक्दो रहेछ ।’ मैले कड्केर टेबुलमा आफ्नो परिचय कार्ड पनि तेस्र्याउँदै भनेँ ।

यति भनेपछि उनले २९५० रुपैयाँको बिल तिर्नु भनेर लेखेर दियो । त्यो देखेर म छक्क परेँ । रकमको बारेमा बहस गर्नुको सट्टा जतिसक्दो छिटो पीडितको शरीरमा रक्त सञ्चार गर्नुछ मलाई ।

म आफैँ जान खोजेको थिएँ । त्यो पीडितको श्रीमान् आफैँ कागज लिएर कुद्नुभयो ।

दाताले दानमा दिएको रगत नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाबाट जम्मा ९९० रुपैयाँ तिरी लगिएको दुई पोका रगत कथित आइएसओ प्राप्त भनिएको अस्पतालबाट चर्को मूल्यमा किनेर ल्याउनुपर्‍यो । रातारात दौडधुप गरेर पीडितको शरीरमा आवश्यक रक्तसञ्चार गर्न सफल भयौँ । भोलिपल्ट फेरि पनि त्यही सुत्केरी महिलाको श्रीमान्ले फोन सम्पर्क गर्नुभयो र रगत चहिएको जानकारी दिए । मैले नआत्तिई आउन भनेँ । 

दिउँसोतिर आएर कागज देखाए । यसरी तीन–चार दिनको बीचमा केवल रगत मात्र नभई रगतबाट तयार पारिएका रक्ततत्वहरूः ताजा रगत, प्याक्ड सेल, एफएफपी, पिआरपी र होल ब्लडको आवश्यकता पर्‍यो । यसरी भनेको वेलामा भनेको किसिमका रगत र रगतबाट तयार पारिएका रक्ततत्व उपलब्ध गराई एक गम्भीर अवस्थामा रहेकी महिलाको जीवनरक्षा गर्न सफल भयौँ । एक आमा र छोरीको जीवन रक्षाले कतै आफैँले पुनर्जीवन वा पुनर्जन्म त प्राप्त गरेको होइन भन्ने आभास भयो । तर, विडम्बना भोलि बिहान अप्रेसन छ भनी फ्रिजमा सजाएर राखेको रगत चाहियो भन्ने माग पछि भएन ।

ठूला निजी अस्पतालहरू रगतको आयु छउन्जेल कोही बिरामी आइहालेमा धेरै रकम असुली गर्ने अनि ३५ दिनभित्र कोही नआए नालीमा फाल्ने । यस्तो प्रवृत्तिले धेरै नै प्रश्रय पाइरहेको छ । यो हदैसम्मको बदमासी हो । रात-बिहान, झरी-बादल, हुरी-बतास, घाम-पानी, भोक-प्यासको कुनै परवाह नगरी स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत पीडित पक्षले कहिलेसम्म किन्नुपर्ने हो ?

१४ औँ राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा तय गरिएको नारा हो –प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व र कर्तव्य हो भने निःशुल्क रगत पाउनु पीडित पक्षको नैसर्गिक अधिकार हो । यो नाराले सार्थकता कहिले पाउने हो ? नेपाल सरकार यतातिर कहिले सोच पु-याउने हो ?

(प्रेमसागर कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।)