मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३२ आइतबार ०५:३०:००
Read Time : < 1 मिनेट
समाचार

रौतहटका क्वारेन्टाइनमा बसेका युवा र प्रहरीबीच झडप, दुई राउन्ड हवाई फायर

Read Time : < 1 मिनेट
२०७७ जेठ ३२ आइतबार ०५:३०:००

पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै रौतहटको राजपुरस्थित क्वारेन्टाइनमा बसेका युवाले शनिबार सडक अवरुद्ध गरेका छन् । राजपुर–१ स्थित तीनवटा क्वारेन्टाइनमा रहेका तीन सय पाँचजनाले सडक अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । 

उनीहरू क्वारेन्टाइनमा बसेको १८ देखि २० दिन पुगेको छ । स्वाबको नमुना संकलन गरिएको पनि एक साता भएको छ । तर, अझै रिपोर्ट आउने ठेगान नभएपछि उनीहरू आन्दोलित भएका हुन् । छिटो पिसिआर रिपोर्ट दिनुपर्ने माग गर्दै गौर–चपुर सडकखण्डको बहुअर्बामा सडक अवरुद्ध गरेका हुन् । रिपोर्ट आउन ढिलो भएपछि उनीहरूले प्रदर्शन गरेको वडाध्यक्ष शेख अरिरुल्लाहले बताए । 

क्वारेन्टाइनमा बसेका युवाले सडक अवरुद्ध गरेपछि प्रहरीले हटाउने प्रयास गरेको थियो । प्रहरीले हटाउन खोज्दा ढुंगामुढा प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले बताए । ‘क्वारेन्टाइनमा बसेका युवाले प्रहरीमाथि ढुंगामुढा गर्दै क्वारेन्टाइन छोडेर भाग्न खाजेपछि बल प्रयोग गर्नुपरेको हो,’ डिएसपी महतोले भने, ‘दुई राउन्ड हवाई फायर र १४ सेल अश्रुग्यास प्रहार गरिएको छ ।’ उनीहरूको ढुंगा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । झडप हुँदा क्वारेन्टाइनबाट भागेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमै राखेको छ । अहिले सबै क्वारेन्टाइनमा रहेको र स्थिति सामान्य बनेको डिएसपी महतोले बताए ।