Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
किरण दहाल काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०४:०१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

१२ सांसद जसले यो ऐतिहासिक प्रस्तावमा हस्ताक्षर गरेनन् 

कोही बाथरुममा लडेकोले संसद्मा आउन पाएनन्, आएका पनि पखाला लागेर हिँडे

Read Time : > 3 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ जेठ ३२ आइतबार ०४:०१:००

संविधानको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पास भएको छ । प्रतिनिधिसभामा उपस्थित सबै दुई सय ५८ सांसदले प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । 

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि दफावार छलफल भइसकेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । त्यसपछि सभामुखले संविधान संशोधनमा हस्ताक्षर गर्ने प्रक्रियाबारे सदनलाई जानकारी गराएका थिए ।

हस्ताक्षर प्रक्रिया सुरु गर्नुअघि सांसदलाई हलभित्र बोलाउन पाँच मिनेटसम्म विभाजन घन्टी बजाइएको थियो । विभाजन घन्टी बन्द भएपछि हलका ढोकाहरू बन्द गरिएको थियो ।

प्रस्तावका पक्षमा रहने सांसदका लागि सभामुख आसनको दायाँतिर रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो । प्रस्तावको विपक्षमा रहने सांसदले सभामुखको आसनको बायाँतर्फ रहेको उपकक्ष लबीमा प्रवेश गरी त्यहाँ राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने थियो । प्रस्तावमा मत दिन्नँ भन्ने पक्षमा रहेका सांसदका लागि सभामुखको पछाडिपट्टि रहेको उपकक्ष लबीमा राखिएको नामावलीमा दस्तखत गर्नुपर्ने व्यवस्था थियो । 

सबै सांसद सभामुख आसनको दायाँतर्फको लबीमा गएर हस्ताक्षर गरे । विपक्षमा वा मतदान गर्दिनँ भन्ने लबीतर्फ कोही पनि गएनन् । कुनै सांसदले आफ्नो मत सच्याउन चाहेमा मतदान सकिएको तीन मिनेटभित्र माग गरेमा सच्याउन दिने सुविधा पनि थियो । तर, कोही पनि सांसदले आफ्नो मत सच्याउन चाहेनन् । 

यसरी सांसदहरूले हस्ताक्षर गरेर संविधान संशोधन प्रस्तावलाई पारित गरे । प्रतिनिधिसभाका कुल दुई सय ७५ सांसदमध्ये दुई सय ५८ जनाले दस्तखत गरेको संसद् सचिवालयले बताएको छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा चारजना सांसद निलम्बनमा छन् । बालुवाटार जग्गा प्रकरणमा विजयकुमार गच्छदार, बम विस्फोट काण्डमा मोहम्मद अफताब आलम, ठेक्का प्रकरणमा हरिनारायण रौनियार र कैलाली घटनामा रेशम चौधरी निलम्बनमा छन् । मत बराबरी नभएसम्म सभामुखले मतदानमा भाग नलिने परम्परा छ ।

प्रतिनिधिसभाका दुई सय ७१ सदस्यमध्ये संसद्मा १२ जना सांसद अनुपस्थित रहेको संसद् सचिवालयको बताएको छ । संसद्मा अनुपस्थित रहेका सांसदमध्ये धेरैले बिरामी भएर आफू आउन नसकेको बताएका छन् । 

नेकपाका हरिबोल गजुरेल, शिवकुमार मण्डल, गोपालबहादुर बम, धनबहादुर बुढा, कांग्रेसका सूर्यबहादुर केसी, नागेन्द्रकुमार, ज्ञानकुमारी छन्त्याल, राजपाका अमृतादेवी अग्रहरि, दुलारीदेवी खत्वेनी, प्रमोद साह, समाजवादीका सरिता गिरी, सूर्यनारायण यादवले हस्ताक्षर गरेनन् । 

नेकपा सांसद हरिबोल गजुरेलले बाथरुममा लडेर यताउता हिँडडुल गर्न नसक्ने अवस्थामा रहेको बताए । ‘म बाथरुममा लडेर घाइते छु त्यसकारण जान पाइनँ । हिँडेर चलमल गर्न सक्ने अवस्था पनि छैन । आजको ऐतिहासिक अवसरमा सहभागी हुन नपाएकोमा दुःखी छु,’ उनले भने । 

समाजवादीका सांसद सूर्यनारायण यादवले परिवारको सदस्य बिरामी भएर आफू अचानक गृहजिल्ला सप्तरी आउनुपरेको बताएका छन् । ‘अपर्झट परेपछि शुक्रबार राति काठमाडौंबाट गृहजिल्ला आइपुगेँ । कुनै राजनीतिक कारणले होइन, पारिवारिक समस्याले संसद्मा उपस्थित हुन पाइनँ । अपर्झट भएकाले पार्टीलाई पनि जानकारी गराउन सकिनँ,’ उनले भने । 

राजपा सांसद प्रमोद साह पनि आफू बिरामी परेकाले जिल्लातिर आराम गरिरहेको बताउँछन् । सर्लाहीका सांसद साहले भने, ‘शरीर अस्वस्थ भएकाले जिल्लातिर आएको ५–६ दिन भइसक्यो । अहिले तत्काल फर्किने अवस्था छैन । सुगरलगायत अरू रोग पनि छ । त्यसकारण अलि समय आराम गर्नुपर्र्यो भनेर काठमाडौं छाडेको हुँ,’ उनले भने, ‘पार्टीबाट शुक्रबार फोन आएको थियो । सन्चो नभएका कारण आउन सक्छु कि सक्दिनँ भनेँ । तर, आउन सकिनँ ।’

नेकपा सांसद गोपालबहादुर बम पनि यहीवेला बिरामी परे । ‘घाँटीको इन्फेक्सन भएको छ । संसद्मा धेरै चर्काे बोलेर यस्तो भएको हो कि ! अन्तर्वार्ता पनि दिएँ । धेरै बोलेका कारणले हुन सक्छ,’ उनले भने, ‘म संसद् आउन सक्दिनँ भनेर सचेतकलाई जानकारी दिएको थिएँ । एक भोटका कारण नतिजा तलमाथि पर्ने भएको भए म जसरी पनि उपस्थिति हुन्थेँ । तर, त्यस्तो थिएन । त्यसैले गइनँ ।’

कांग्रेस सांसद सूर्यबहादुर केसी पोखरामै बसेको थुप्रै भइसक्यो । कोरोना महामारी बढेपछि उनी पोखरातिरै छन् । ‘म त पोखरा आएको धेरै समय भयो । कोरोनाका कारण स्वास्थ्य जोखिममा हुन्छ भनेर म यताउता पनि निस्किएको छैन । यो महामारीमा काठमाडौं आउन सम्भव पनि भएन,’ उनले भने ।

संविधान संशोधनमा आफ्नो पूर्ण सहमति रहेको केसीले बताए । सरकारले गरेको काममा आफ्नो सहमति रहेको उनको भनाइ छ । ‘आफू उपस्थित हुन नसक्ने मैले सभामुखलाई पनि भनेँ, सचेतकलाई भनेँ,’ उनले भने, ‘हाम्रो भूमि छाड्न चाहँदैनौँ । लिपुलेक मात्रै होइन, सुस्तादेखि अतिक्रमित भूमि सबै फिर्ता ल्याउनुपर्छ ।’

राजपा सांसद अमृतादेवी अग्रहरि संसद् गएकी थिइन्, तर पखाला लागेकाले छिटै फर्किन् । ‘शुक्रबार बेलुकीदेखि पखाला लाग्यो । तैपनि संसद् गएकी थिएँ । तर, बैठक पनि लम्बिएलाजस्तो लागेपछि घरतिर हिँडँे । मेरो सिंगो पार्टीले समर्थन गरेको छ । म उपस्थित नहुने भन्ने कुरै थिएन,’ उनले भनिन् । 

कांग्रेस सांसद नागेन्द्र कुमार पनि बिरामी भएर सदन जान सकेनन् । ढाडको नसा च्यापिएर घरमै आराम गरिरहेको उनले बताए । ‘शनिबार त संसद् जानुपर्ने नै थियो । तर, बिरामी भएकाले जान सकिनँ । ढाडको नसा च्यापिएर गाह्रो भइरहेको छ । अलि बढी नै दुखिरहेको छ । सर्लाहीमै बसेर फिजियोथेरापी गरिरहेको छु,’ उनले भने ।

समाजवादीकी सांसद सरिता गिरी संसद्मा उपस्थित थिइन्, तर प्रक्रियाप्रति असन्तुष्टि जनाएर बाहिर निस्किन् । उनले आफ्नो विमतिको प्रस्ताव राख्न खोजेकी थिइन् । तर, सभामुखले खारेज भएको घोषणा गरेपछि उनी बैठकबाट बाहिरिइन् । ‘मेरो प्रस्ताव नै अस्वीकृत भएको सभामुखले जानकारी गराउनुभयो । मैले कुन तर्कका आधारमा त्यो संशोधन दर्ता गराएको छु, त्यो पनि मैले संसद्मा जानकारी गराउने अवसर पाइनँ,’ बाहिर पत्रकारहरूसँग उनले भनिन्, ‘मेरो मत देश र जनताले थाहा पाउन सकेन । हाम्रो लोगोमा के परिवर्तन भइरहेको छ, त्यसको आधार र कारणचाहिँ खुलाउनुपर्छ भन्ने मेरो मत हो ।’