मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ ३१ शनिबार १७:२१:००
Read Time : > 2 मिनेट
फिचर

विद्यालय सञ्चालन अनिश्चित भएपछि वैकल्पिक सिकाइका लागि घरदैलोे गर्दै सिद्धबाबा 

Read Time : > 2 मिनेट
२०७७ जेठ ३१ शनिबार १७:२१:००

शनिबार बिहानै रेसुंगा नगरपालिका– ८ को माइकास्थान मन्दिरमा १५–२० जना विद्यार्थी र शिक्षक निकै व्यस्त थिए । झट्ट देख्दा गुरुकुल शिक्षा फर्किएकोजस्तै । मन्दिरको डिल र आँगनीमा सामाजिक दूरी कायम गरी बसेका शिक्षक तथा विद्यार्थी संकटका अप्ठ्यारा  विषयवस्तुका कुरा गरिरहेका थिए । केही विद्यार्थीले गृहकार्य देखाए । कसैले विद्यालय सञ्चालनको अन्याेलबारेेे सोधे । अधिकांश गृहकार्य गर्नमै लागि व्यस्त भए । बीचबीचमा कापी, किताब बोकेर मन्दिरमा थपिँदै गरेका विद्यार्थीलाई शिक्षकले सहजीकरण गरिरहे ।

सन्दीप विक सिद्धबाबा मावि कक्षा ११ को विज्ञान संकायमा अध्ययन गर्छन् । बिहानै मन्दिर आएर विक विद्यालयमा पढेजस्तै नभए पनि शिक्षककाे सहजीकरणले अत्यन्तै खुसी भएको बताए ।

रेसुंगा नगरपालिका– ८ की अनिशा विक शुक्रबार बिहानै शिक्षकहरू घरमा आएको देखेर छक्क परिन् । उनी सदरमुकाम तम्घासको सिद्धबाबा माविमा अध्ययन गर्छिन् । विक अहिले कक्षा ६ मा प्रथम भएर ७ मा पुगिन् । तर, भर्ना भएकी छैनन् । साढे दुई महिनादेखि विद्यालय बन्द छ । लामो समयमा शिक्षकहरू आँगनमा देखेर विद्यालय पुगेजस्तो महसुस भएको अनिशा बताउँछिन् । ‘सरहरू देखेर अत्यन्तै खुसी भएँ, अरू थुप्रै साथीहरू पनि मेरै घरमा आए,’ उनले भनिन्, ‘नयाँ किताब, कापी र थोरै विषयवस्तुमा कुरा गऱ्यौँ, विद्यालयप्रति नयाँ आशा जाग्यो ।’ 

सिद्धबाबा माविले विद्यार्थीलाई वैकल्पिक सिकाइ सहजीकरण थालेको छ । कोरोना संक्रमणको कारण लामो समय विद्यालय बन्द भएका छन् । जसका कारण थुप्रै विद्यार्थीको पढाइ प्रभावित बनेको छ । लकडाउन बढ्दै जाँदा विद्यालय सञ्चालन अनिश्चित भएकाले विद्यार्थीलाई नयाँ वैकल्पिक सिकाइ सहजीकरण थालिएको विद्यालयमा प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए । उनले यो अभियानले सबैभन्दा पहिले शिक्षक, अभिभावक र विद्यार्थीबीचमा सम्बन्ध निकट बनेको बताए । त्योसँगै विद्यार्थीलाई कोरोना संक्रमण र विद्यालय सञ्चालनको अन्याेलबारे सहजीकरण गरिएको श्रीसले जानकारी दिए ।

नयाँ पाठ्यपुस्तकको अवस्था र यो संक्रमणमा अभिभावकले अपनाएको सिकाइका अभ्यासबारे पनि छलफल भएको थियो । ‘सामुदायिक सचेतनासहित फुर्सदको समय सदुपयोग गर्न खोजेका छौँ,’ उनले भने, ‘भेटले विद्यार्थी र अभिभावकप्रतिको नैराश्यता दूर गरेको छ ।’ विद्यालयले कक्षा १० का विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन पनि गरेको छ । तर, त्यो आंशिक मात्रै सफल देखिएकाले यो विकल्प थालिएको प्रध्यानाध्यापक श्रीसको भनाइ छ । उनले भूगोल र प्रविधिले साथ नदिएका कारण अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको बताए ।

विद्यालयले अधिकांश विद्यार्थी रेसुंगा नगरपालिकाभित्रका भएकाले टोलटोलमा पुगेर विद्यार्थी र अभिभावकबीच सहजीकरण गर्ने योजना बनाएको छ । प्रत्येक टोलमा समूह बनाएर पालैपालो विषयशिक्षक दुई–तीनपटक पुग्ने तालिका बनाइएको शिक्षक टीका खड्काले जानकारी दिए । अभिभावकहरूलाई खबर गरेर कुनै घरमा सम्भव भएसम्मका विद्यार्थी बोलाएर सामाजिक दूरीसमेत कायम गरेर सहजीकरण गर्ने गरिएको खड्काले बताए । 

एसइईबाहेक नर्सरीदेखि कक्षा नाैसम्मका विद्यार्थी परीक्षा दिएपछि विद्यालय पुगेका छैनन् । जसका कारण अधिकांश विद्यार्थी पठनपाठनको मोहबाट टाढिँदै छन् । लामो समय विद्यालय बन्द भएका कारण केही विद्यार्थी अभिभावकको नियन्त्रणबाहिर जाने पनि अवस्था आएको छ । सिद्धबाबा माविमा तीन छोराछोरी पढाउँदै आएकी पवित्रा मुखियाले आफूहरू अनपढ र छोराछोरीले पनि भनेको नमान्ने कारण समाल्न निकै मुस्किल परेको गुनासो गरिन् । लामो समय विद्यालय बन्द भएका कारण विद्यालय सञ्चालन अनिश्चित बनिरहेको अवस्थामा सिद्धबाबा माविले सञ्चालन गरेको नयाँ अभियानले आफूहरूलाई अत्यन्तै खुसी लागेको रेसुंगा नगरपालिका– ८ का यमबहादुर विकले बताए । 

उनका दुई छोरी सिद्धबाबा माविमा अध्ययन गर्दै आएका छन् । ‘लामो समय विद्यालय बन्द हुँदा छोराछोरीको भविष्यबारे कैयाै‌ँ अभिभावक चिन्तामा छन्,’ उनले भने, ‘केही नहुनुभन्दा सिद्धबाबाको अभियान उदाहरणीय छ ।’ रेसुंगा नगरपालिका– २ का वडासदस्य शेरबहादुर विश्वकर्माले आफूहरूलाई टोलटोलमा अभिभावक र विद्यार्थीले विद्यालय सञ्चालनसम्बन्धी अन्याेलका विषयमा पटक–पटक ध्यानाकर्षण गराइरहेको अवस्थामा सब विद्यालयले सिद्धबाबाले जस्तै टोलटोलमा शिक्षक, अभिभावक र विद्यार्थीबीच सामुदायिक शिक्षा र सहजीकरण थाल्नुपर्नेमा जोड दिए ।