Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ ३१ शनिबार १४:३९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

राष्ट्रियताका विषयमा श्वेतपत्र जारी गरौँ, नक्सा भयो अब भूमि ल्याउनूस् : महतो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ जेठ ३१ शनिबार १४:३९:००

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले  लिपुलेक र लिम्पियाधुराको नक्सा मात्र होइन, जग्गा पनि ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोेल्दै महतोले भने, ‘कालापानी र लुम्पियाधुरासहितको नक्सासम्बन्धी संविधान संशोधन आएको छ । संविधान संशोधनको कुरा आउँदा हाम्रो कुरा पनि छ । यो संविधान आउँदा मधेसी, जनजाति, दलित र सीमान्तकृत समुदायको कुरा पनि छ । जबजब संविधान संशोधनको कुरा आउँछ हामी आफ्नो कुरा राख्छौँ । आज फेरि भन्छौँ– संविधान अपूर्ण नराखौँ । यहाँ प्रधानमन्त्रीसहित अन्य शीर्ष  नेताहरु हुनुहुन्छ । विगतमा सबै दलहरूले सहमती गरेकौ हौ । तर कहिले गर्ने ?’

सभामुखले तोकेको समयप्रति रोष प्रकट गर्दै महतोले भने, ‘सयौँ र हजारौँपटक बैठक बसेको छ । तर, आजको बैठकप्रति सारा जनताले हेरिरहेका छन् ।आजको यो प्रस्ताव सामान्य हाेइन । आजको प्रस्ताव, हाम्रो भूमिको सवाल हो । यसमा सम्पूर्ण जनताको ढुकढुकी छ । आज बाेल्न प्रतिबन्ध नलाइयोस् ।’

उनले राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठीकसँग व्याख्या गरिनुपर्ने बताए ।  

उनले मधेसीको राष्ट्रियतामा शंका गरिएको भन्दै असन्तुष्टि पोखे । उनले भने, ‘हिमाल, पहाड, तराई सबैतिरका नेपाली जनता आफ्नो भूमिप्रति सजग, समर्पित र संवेदनशील छ । यो कुरा आजको बैठकले देखाउन सक्नुपर्छ । यो कुरा हामीले आफ्नो कामबाट देखाउन सक्नुपर्छ ।’

‘राष्ट्रिय एकता पनि एकलौटी रे’ भन्दै उनले आपत्ति जनाए । राष्ट्रियताको सवाल आउँदा मधेसीले पनि राष्ट्रियताको कुरा गर्छ र ? भन्ने गरिएकाेमा भन्दै उनले राष्ट्रियता कसैको एकलौटी नभएकाे स्पष्ट पारे । 

‘राष्ट्रियता भनेको सम्पूर्ण नेपाली जनताको राष्ट्रियता हो । एउटा वर्ग, जात, समुदाय, क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पंगु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन । त्यो राष्ट्रिय एकता सबल हुन सक्दैन । बलियो हुन सक्दैन । आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठीकसँग व्याख्या गरिनुपर्छ र बुझिनुपर्छ ।’

‘अहिलेको संविधानबारे हाम्रो असहमति कायमै छ । यो संविधान सबै वर्ग र समुदायको हुन सकेको छैन, तर भूगोलको रक्षाका सन्दर्भमा हामी एक ठाउँमा छौँ । अबका दिनमा विगतमा हामीसँग भएका सम्झौताअनुसार संविधान संशोधनका प्रस्ताव आएको भएको राम्रो हुन्थ्यो,’ उनले भने, ‘यो नक्सा जारी गरेर मात्रै हुँदैन । कूटनीतिक वार्ता गरेर हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ । राष्ट्रियता कुनै जात र वर्गको हुन सक्दैन । एकलौटी राष्ट्रियता पंगु राष्ट्रियता हो । अब हामी भूमि र जनताको पहिचानसहितको राष्ट्रियताको नयाँ परिभाषामा जाऔँ ।’

उनले जनताले गरेको आन्दोलनको सम्मान गर्दै संविधानको रक्षाका लागि यसमा समयानुकूल संशोधन आवश्यक हुने बताए ।  नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै देशमा राष्ट्रघातीहरूको पनि खोजी हुनुपर्ने तर्क गर्दै प्रश्न गरे, ‘५८ वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्सामा कायम रहेको थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नुपर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कतिपटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?’

नयाँ नक्सा जारी हुन लागेकाे अवसरलाई उनले राष्ट्रियतासँग जोडिएको बताए । ‘यो आमनागरिकको मनसँग जोडिएको सवाल हो । लिम्पियाधारा, लिपुलेक र महाकालीकाे जग्गा ल्याउने प्रस्ताव  महत्वपूर्ण प्रस्ताव हो,’ उनले भने ।  

सम्पूर्ण नेपाली जनता आफ्नो भूमि र सीमाप्रति सजग र दृढ रहेको बताउँदै उनले संवेदनशील घडीमा सबैबीच एकता हुनुपर्नेमा जोड दिए ।