१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
किरण दहाल काठमाडौं
२०७७ जेठ ३० शुक्रबार २२:१५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पास गर्ने तयारी

Read Time : > 1 मिनेट
किरण दहाल, काठमाडौं
२०७७ जेठ ३० शुक्रबार २२:१५:००

शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पास गर्ने तयारी छ । शुक्रबार संसद् सचिवालयले सम्भावित कार्यसूची निकालेर विधेयक पास गर्ने तयारी रहेको जानकारी गराएको हो ।

बैठकको सुरुमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान(दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् भने त्यसपछि उनले नै पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् । यस कार्यका लागि शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ ।

संविधान संशोधनका लागि दिइएको ७२ घन्टाको म्याद शुक्रबारबाटै सकिएको छ । सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयकमाथि एउटा मात्रै संशोधन परेको छ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्रै संशोधन दर्ता गराएको संसद् सचिवालयले बताएको छ ।

गिरीले गत २८ गते संसद् सचिवालय, सिंहदरबार पुगेर संशोधन राखेकी थिइन् । उनले प्रस्ताव गरेको संशोधनमा सरकारले संशोधन प्रस्ताव ल्याए पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउन सक्ने गरी तथ्य र प्रमाणको अभाव रहेको उल्लेख छ । त्यसैले नयाँ नक्साअनुसार संविधान संशोधन गर्न नहुने मान्यतामा छिन् उनी । तथ्य र प्रमाण नभएकाले विधेयकको दफा २ हटाउनुपर्ने उनको भनाइ छ ।

गिरीले संशोधन प्रस्ताव राखे पनि उनको पार्टीले भने उक्त प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । उनले फिर्ता नलिए कारबाही नै गर्ने चेतावनी पनि दिएको छ । २८ गते समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको दस्तखतमा सरिता गिरीलाई दिएको निर्देशनपत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा संघीय संसदमा दर्ता भएको नेपालको संविधानको दोस्रो संशोधनमा संसदीय दलको निर्देशनविना मिति ०७७÷२÷२८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनुहुन निर्देशन गरिन्छ । साथै निर्देशन पालना नगरेमा तपाईंलाई पार्टीले कारबाही गर्न बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।’

पार्टीले निर्देशन दिए पनि गिरीले फिर्ता लिएकी छैनन् । संसद् सचिवालयका अनुसार शुक्रबार साँझसम्म संशोधन फिर्ता भएको छैन । तर, गिरीले संसदमै फिर्ता लिन पनि पाउनेछिन् । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डे भन्छन्, ‘बैठकमा पनि आफ्नो संशोधन फिर्ता लिन सकिन्छ ।’

शनिबार यो विधेयक प्रतिनिधिसभाबाट पास भएसँगै राष्ट्रिय सभामा जाने प्रवक्ता पाण्डे बताउँछन् । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा झैँ छलफल हुने र त्यहाँबाट पनि पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्नेछ । 

विधेयकमाथि सैद्धान्तिक पक्षमाथि गत २७ गते नै छलफल भइसकेको छ । ८४ जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिएर कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानमा राख्नुपर्नेमा एकमत देखिएका थिए । संसद् सचिवालयका अनुसार नेपालको इतिहासमा एउटै विधेयकमाथि सैद्धान्तिक छलफलमा यति धेरै जनाले भाग लिएको यो पहिलोपटक होे । प्रतिनिधिसभा बैठकमा उपस्थित सबै सांसदले विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै सर्वसम्मतिले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेका थिए । 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले गत जेठ १८ गते आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, ०७७’ पेस गरेकी थिइन् । 

प्रस्ताव पेस गर्दै कानुनमन्त्री तुम्बाहाङ्फेले भनेकी थिइन्, ‘नेपालको संविधान धारा ९ को उपधारा २ मा नेपालको निसान छाप अनुसूची–३ मा उल्लेख भएबमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमाअनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची–३ को निसान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरूप मिलाउन आवश्यक भएकाले नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्ने प्रयोजनका लागि यो संशोधन विधेयक सदनसमक्ष पेस गर्दछु ।’