मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल आयल निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगञ्ज परिसरमा रहेका ट्यांकर इन्धन बोकेर पेट्रोलपम्प जाने तयारीमा । फाइल तस्विर
अजित अधिकारी काठमाडौं
२०७७ जेठ ३० शुक्रबार २०:५३:००
Read Time : > 3 मिनेट
अर्थ

लकडाउन खुकुलो भएपछि देशभर इन्धनको माग बढ्यो

Read Time : > 3 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ ३० शुक्रबार २०:५३:००

सरकारले लकडाउन खुकुलो पारेपछि देशभर सवारीसाधनको चाप बढेर इन्धन खपत वृद्धि भएको छ । लकडाउनका कारण न्यूनतम बिन्दु (२० प्रतिशत) मा झरेको इन्धन खपत शुक्रबारसम्म करिब ७० प्रतिशतसम्म खपत हुने स्थितिमा आइपुगेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले खपत दरमा धेरै सुधार आएको बताए । ‘पछिल्लो २–३ दिनमा इन्धन खपत धेरै राम्रो अवस्थामा पुगिसकेको छ, सायद लकडाउन खुकुलो भएर सवारीसाधनको चाप बढेकाले हुन सक्छ,’ उनले भने । देशभरको डिपोबाट माग बढेको जानकारी आएकाले सोहीअनुसार आयात परिमाण बढाएर बजारमा उपलब्ध गराइरहेको उनले बताए । खपत बढेकै कारण आयल निगमका डिपोहरू नियमित सञ्चालनको तयारी गर्न थालेका छन् । लकडाउनका कारण सातामा ३–४ दिन मात्र खुलेका कार्यालय पनि आइतबारदेखि नियमित सञ्चालनको तयारीमा छन् । 

प्रदेश १ मा जेठयता लकडाउन खासै प्रभावकारी नभएकाले इन्धनको माग करिब सामान्य अवस्थामा पुगिसकेको छ । सो क्षेत्रमा दैनिक १० लाखदेखि १२ लाख लिटरसम्म डिजेल र दुई लाखदेखि साढे तीन लाख लिटरसम्म पेट्रोल खपत हुने गरेको थियो । अहिले सातामा दुई दिन पेट्रोल र तीन दिन डिजेल बिक्री हुने गरेको छ । एक दिन ट्यांकरबाट डिपोमा लोड–अनलोड हुने गरेको छ । निगमको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख अशोक साहका अनुसार अहिले डिपो खुलेको दिन पेट्रोल ६ लाख लिटर र डिजेल १५ लाख लिटर वितरण भइरहेको छ । ‘यो भनेको करिब सामान्य अवस्थाको जस्तै माग हो । यहाँ गाडीहरूको प्रयोग बढेको छ भने विकास निर्माण र खेतीको सिजन बढेकाले डिजेलको माग पनि धेरै छ,’ साहले भने । विराटनगर डिपोले दिन बिराएर इन्धन वितरण गरिरहेको छ ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका अनुसार बिहीबारदेखि माग धेरै बढेको छ । बिहीबार पेट्रोल तीन लाख लिटर र डिजेल पाँच लाख लिटर तथा शुक्रबार पेट्रोल चार लाख लिटर र डिजेल सात लाख लिटर वितरण भएको थानकोट डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । यसअघि लकडाउन सुरु हुँदा थानकोट डिपाले मुस्किलले एक लाख लिटर पेट्रोल र दुई लाख लिटर डिजेल बिक्री गर्ने गरेको थियो । जेठ लागेपछि लकडाउन खुकुलो हुने हल्ला हुँदा कहिलेकाहीँ माग बढ्ने गरेको थियो ।  पछिल्लो एक सातादेखि माग बिस्तारै बढ्न थालेको र बिहीबारदेखि भने ह्वात्तै वृद्धि भएको यादवले जानकारी दिए ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख पुष्कर कार्कीका अनुसार लकडाउन खुकुलो हुना साथ माग बढेको छ । लकडाउनका वेला दैनिक बिक्री २० हजार लिटर पेट्रोल र ६० हजार लिटर डिजेलसम्म झरेको थियो । तर, लकडाउन खुकुलो भएर सवारीसाधनको चहलपहल बढेपछि पछिल्लो एक साता दैनिक ५० हजार लिटर पेट्रोल र एक लाख २० हजार लिटर डिजेल खपत भएको थियो । ‘यो साता त माग झन् बढेर दैनिक ६० हजार लिटर पेट्रोल र एक लाख ७० हजार लिटर डिजेल खपत हुने स्थितिमा पुगेको छ,’ कार्कीले भने ।

उनका अनुसार गण्डकी प्रदेशमा सामान्य अवस्थामा पेट्रोल एक लाख २० हजार लिटर र डिजेल दुई लाख ८० हजार लिटर खपत हुने गरेको छ । अहिले गण्डकी प्रदेशमा सवारीसाधनको चाप बढेकाले सामान्य अवस्थाको बिक्री हुन धेरै समय नलाग्ने उनले बताए ।

५ नम्बर प्रादेशिक कार्यालय, भैरहवाले बिहीबार ६० हजार लिटर पेट्रोल र सात लाख लिटर डिजेल बिक्री गरेकोमा शुक्रबार एक लाख ६० हजार लिटर पेट्रोल र आठ लाख लिटर डिजेल बिक्री गरेको छ । कार्यालय प्रमुख सुरज साहका अनुसार लकाउन खुकुलो हुने स्थिति बनेपछि माग बढ्न थालेको हो । ‘जेठ महिना सुरु भएपछि यस क्षेत्रमा पेट्रोलियम पदार्थको माग बढ्दै गएको थियो । बिहीबारबाट भने ह्वात्तै वृद्धि भएको छ,’ उनले भने ।  लकडाउनका समयमा भैरहवा डिपोले न्यूनतम ४० हजार लिटर पेट्रोल र तीन लाख लिटर डिजेल बिक्री गरेको थियो । सो डिपोले सामान्य अवस्थामा दुई लाख लिटर पेट्रोल र नौ लाख ५० हजार लिटर डिजेल बिक्री गर्ने गरेको छ ।

कर्णाली प्रदेशका अधिकांश जिल्लामा इन्धन आपूर्ति गर्ने नेपालगन्ज कार्यालयका प्रमुख नवविनोद पोख्रेलका अनुसार सो क्षेत्रमा पेट्रोल र डिजेल दुवैको माग बढेको छ । ‘लकडाउन सुरु भएपछि सातामा तीन दिन कार्यालय खुल्ने गरेको थियो, माग बढेकै कारण अहिले सातामा चार दिन खोल्ने गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा इन्धनको माग सामान्य अवस्थामा पुग्न लागेकाले अर्को साताबाट नियमित कार्यालय खोल्ने योजनामा छौँ,’ उनले भने । ‘तीन दिन कार्यालय खोल्दा जति इन्धन वितरण हुन्थ्यो, चार दिन कार्यालय खोल्दा पनि त्यति नै इन्धन वितरण गर्नुपरेको छ । यो भनेको माग बढेको हो,’ पोख्रेलले भने । उनका अनुसार अहिले कार्यालय खुलेको दिन पेट्रोल एक लाख लिटर र डिजेल सात लाख लिटर वितरण भइरहेको छ । अबका दिनमा पहाडी जिल्लाले मौज्दात राख्न इन्धन लैजाने भएकाले थप चाप बढ्ने उनले बताए ।

‘नेपालगन्ज कार्यालयले हुम्ला, जुम्ला, रोल्पा, रुकुम, दैलेखसम्म इन्धन वितरण गर्नुपर्छ । त्यहाँ असारसम्म ड्रममा राखेर इन्धन ओसार्ने गरिन्छ,’ उनले भने, ‘साउनपछि नदी बढ्ने भएका कारण बाटो अवरुद्ध हुने भएकाले इन्धन ढुवानी बन्द हुन्छ । त्यसैले पछिलाई चाहिने इन्धन पनि सञ्चय गर्नका लागि अहिले नै खरिद गर्न थालेको देखिन्छ ।’ स्थानीय उद्योग समेत सञ्चालनमा आएपछि डिजेल लैजाने क्रम बढेको उनले बताए । ‘घोराही सिमेन्टले पछिल्लो साता १० गाडी डिजेल लगेको छ । अब उद्योगहरू पनि खुल्न थालेकाले माग बढेको छ,’ उनले भने ।

सुदूरपश्चिम क्षेत्रमा पनि माग बिस्तारै बढ्न थालेको छ । निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सर्पराज शर्माले लकडाउनयता दिन बिराएर कार्यालय खोल्दै आएकाेमा माग बढेका कारण आइतबारदेखि दैनिक रूपमा कार्यालय सञ्चालन गर्ने बताए । उनका अनुसार शुक्रबार पेट्रोल ८० हजार लिटर र डिजेल ६ लाख लिटर वितरण भएको छ । त्यसअघि कार्यालय खुलेको दिन पेट्रोल एक लाख २० हजार र डिजेल ६ लाख लिटर बिक्री भएको थियो । ‘यो करिब सामान्य अवस्थाको माग परिमाण हो । यस क्षेत्रमा माग लकडाउनअघिकै अवस्थामा पुग्न लागेको छ,’ शर्माले भने । सुदूरपश्चिममा ८८ पेट्रोल पम्पले उपभोक्तालाई इन्धन वितरण गर्दै आएका छन् ।